३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रमुख दलमा किचलो

संसदीय व्यवस्थामा मुलुक हांँक्नका लागि सत्तारुढ र प्रतिपक्षी दुवै दलको भूमिका महत्वपूर्ण हुन्छ । सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस दुवै दल अहिले आफ्नो भूमिका निर्वाहमा कमजोर छन् । दुवैका संगठन राम्ररी चलेका छैनन् । आन्तरिक किचलोमा फसेका छन् । सरकारबाहिर रहेको अर्को दल राजपा पनि ६ जना अध्यक्षकै कारण चटपटाउन सकिरहेको छैन । 
दुर्गा खनाल

काठमाडौँ — नेकपा र कांग्रेस दुई ठूला पार्टी । नेकपा सत्ताधारी, कांग्रेस प्रतिपक्षी । संसदीय व्यवस्थामा मुलुक हांँक्नका लागि सत्तारूढ र प्रतिपक्षी दुवै दलको भूमिका हुन्छ । यी दुवै दल भने अहिले आफ्नो भूमिका निर्वाहमा कमजोर छन् । दुवै दलका संगठन राम्ररी चलेका छैनन् ।

प्रमुख दलमा किचलो

आन्तरिक किचलोमा फसेका छन् । जसका कारण पार्टीको भूमिका कमजोर बन्न थालेको ती दलका नेताहरू बताउँछन् ।

नेकपा ‘प्यारालाइज्ड’

एकताको पाँच महिना बितिसक्दा पनि तल्लो तहसम्म नेकपा एकजुट बन्न सकेको छैन । जसका कारण संगठन ‘प्यारालाइज्ड’ भएको छ । केन्द्रीय सचिवालयबाहेक कुनै सांगठनिक संरचना सक्रिय छैनन् । केन्द्रमा स्थायी कमिटी र केन्द्रीय कमिटी बनेका छन् तर तिनको बैठक बस्न छाडेको छ । बैठकसमेत बस्न नसकेको विषय अहिले चर्को रूपमा उठेको छ ।


‘स्थायी समिति र केन्द्रीय समितिकै नेताहरू कामविहीन छन्, कुनै भूमिका निर्धारण गरिएको छैन,’ स्थायी समिति सदस्य वेदुराम भुसालले भने, ‘चारैतिरबाट सरकारको आलोचना भइरहँदा पनि पार्टीमा यसरी अघि बढौं भन्ने खालको छलफल छैन ।’


पार्टीभित्र बैठक नबोलाएको विषयलाई लिएर शीर्ष नेताहरूले मुख्य नेतृत्वसमक्ष आपत्ति जनाइरहेका छन् । तर आन्तरिक तयारी भन्दै अध्यक्षहरूले बैठक बोलाइरहेका छैनन् ।


नेकपामा दुई जना अध्यक्ष छन् । दुई अध्यक्षले मात्र निर्णय गर्ने र पछि पार्टीलाई जानकारी दिने प्रवृत्ति हावी भएको नेताहरू बताउँछन् । मुख्य राजनीतिक निर्णय र छलफल गर्ने थलो स्थायी र केन्द्रीय कमिटी हुन् । तर एकताको पाँच महिना बितिसक्दा स्थायी कमिटीको दुई र केन्द्रीय कमिटीको एउटा मात्रै बैठक बसेको छ ।


कमिटी बैठक नबोलाउने तर महत्त्वपूर्ण निर्णय सचिवालयबाटै गर्ने गरिएको भन्दै पार्टीभित्र तीव्र आलोचना छ । सचिवालयले यसअघि प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिवलगायत पदाधिकारी तोकेपछि वरिष्ठ नेता माधव नेपालले असहमति जनाएका थिए । एकतापछि प्रदेशको नेतृत्व तोक्ने काम मात्र भएको छ ।


प्रदेश, जिल्ला कमिटी बनाउने, सबै तहको एकीकरणको अन्तिम स्वरूप तयार गर्ने काम अल्झेको अझियै छ । ‘अध्यक्षहरूको कार्यशैलीमै समस्या देखियो, जसका कारण पार्टी राम्ररी चल्ने अवस्था बनेन, संस्थागत छलफल गर्ने र त्यसलाई सरकारले लागू गर्दै जाने विधि बन्नुपर्ने थियो,’ स्थायी समिति सदस्य भुसालले भने ।


सुस्त कांग्रेस

एकता प्रक्रियाबाट जोडिएका विजयकुमार गच्छदारलाई उपसभापति बनाइएको विषयले अहिले कांग्रेसमा कलह थपिएको छ । सभापति शेरबहादुर देउवाले गत कात्तिक २१ गते गच्छदारलाई उपसभापति मनोनीत गरे ।


विधानमा एक उपसभापति हुने व्यवस्था छ । यो व्यवस्थाअनुसार विमलेन्द्र निधि यसअघि मनोनीत भइसकेका थिए तर देउवाले गच्छदारलाई उपसभापति बनाएपछि रामचन्द्र पौडेल पक्ष चिढिएको छ ।

गच्छदारलाई उपसभापति बनाउनुलाई चौधौं महाधिवेशनमा नेतृत्व हत्याउने रिहर्सलका रूपमा चर्चा हुन थालेको छ । गच्छदार आफ्नो समर्थनबाट बाहिर नजाऊन् भन्ने उद्देश्यले देउवाले विधानविपरीत उपसभापति बनाएको आरोप पौडेल पक्षको छ । देउवाले गलत काम गरिरहेको र यसकै कारण पार्टी कमजोर बनेको उनीहरूको बुझाइ छ ।


वरिष्ठ नेता पौडेलले गत मंगलबार चितवनमा सार्वजनिक रूपमै पार्टीले काम गर्न नसक्ने अवस्थामा पुगेको बताए । ‘सरकार मात्र होइन, हाम्रो पार्टी पनि हल न चलको अवस्थामा छ,’ नेता पौडेलले भने, ‘सभापतिले विचार दिन नसक्दा पार्टी र कार्यकर्ता परिचालित हुन सकेका छैनन् ।’


नेतृत्वले गाइड गर्न नसक्दा पार्टीको भूमिका प्रभावकारी हुन नसकेको केन्द्रीय सदस्य चन्द्र भण्डारीको निष्कर्ष छ । ‘कुनै पनि नेता पार्टीको नेता बन्न सकेनन्,’ केन्द्रीय सदस्य भण्डारीले भने, ‘कांग्रेसमा पार्टीगत नेतृत्व बन्न सकेन । क्षमता पनि भएन । गुट, उपगुट र परिवारमा सीमित भयो ।’


कांग्रेसभित्र भावी महाधिवेशनको रिहर्सल सुरु भइसकेको छ । त्यसैले संसद्मा उसले निर्वाह गर्नुपर्ने भूमिका, सत्तापक्षलाई गर्नुपर्ने निगरानीमा कमजोर बनेको नेताहरूको भनाइ छ । अहिले पार्टीको विधान कस्तो बनाउने भन्ने बहसले कांग्रेसभित्रको विवाद उचाइमा पुगेको छ ।


सभापति देउवा पक्ष केन्द्रीय समितिको आकार १ सय २५ बनाउने तर पदाधिकारीको संख्या नबढाउने पक्षमा छ । तर पौडेल पक्षीय नेताहरू केन्द्रीय समितिको आकारसँग पदाधिकारी संख्या बढाउनुपर्ने पक्षमा छन् । भावी महाधिवेशनलाई लक्षित गरेर विधान परिमार्जन गर्ने कोसिस भइरहेको छ । यस्तै किचलोमा कांग्रेसको दैनिकी बितिरहेको छ ।


‘दुई तिहाइको सरकार भएर पनि काम गर्न सकेको छैन, भ्रष्टाचारका कुरा थिए तर हामीले ती विषयलाई उठाउनै सकेनौं,’ केन्द्रीय सदस्य भण्डारीले भने । नेतृत्वको अकर्मण्यता तोड्नका लागि भन्दै कांग्रेसका दोस्रो पुस्ताका नेताहरूले दबाब दिन थालेका छन् । गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी, गुरुराज घिमिरेलगायत नेताले पार्टी सुधारका लागि भन्दै अभियान सुरु गरेका छन् ।


घिस्रिंँदै राजपा

प्रमुख दुई दल मात्र होइन, संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनता पार्टी पनि घिसिपिटी शैलीमा चलिरहेको छ । चुनावअघि ६ वटा पार्टी मिलेर बनेको यो दललाई अहिले ६ जना अध्यक्षकै कारण चल्न–चटपटाउन गाह्रो भइरहेको छ ।


यो दलले सरकारलाई समर्थन गरेको छ तर न सरकारमा सहभागी हुन सकेको छ न सरकारलाई समर्थन फिर्ता लिएर बाहिरिनै सकेको छ । यो पार्टीभित्र भावी महाधिवेशनको रन्को लागिसकेको छ । त्यसैले नेताहरू पार्टीलाई गति दिनेभन्दा आफ्नो सुुरक्षा गर्ने रणनीतिमा लागेका छन् ।


‘हामीले सामूहिक नेतृत्व प्रणालीमा जाने भनेर ६ जना अध्यक्ष बनायौं तर यो प्रणालीका कारण पार्टीलाई गति दिन सकेका छैनौं,’ राजपा नेता केशव झाले भने, ‘त्यसैले अब यो व्यवस्था फर्नुपर्ने निष्कर्षमा पुगेका छौं ।’


उनका अनुसार सामूहिक नेतृत्व भनिए पनि निर्णयमा संयोजक हावी हुने र पछि उसले गर्ने निर्णयमा प्रश्न गर्ने शैली पार्टीभित्र देखियो । त्यसैले समयक्रमअनुसार पार्टीलाई कसरी अघि बढाउने भन्ने निष्कर्ष निकाल्नै समस्या पर्न थाल्यो ।


आउँदो वैशाखमा महाधिवेशन गर्ने भनिएको छ । त्यसका लागि अहिले जिल्लाजिल्लामा सदस्यता वितरण भइरहेको छ । भावी महाधिवेशनमा नेतृत्वका लागि अहिले जिल्लामा वितरण हुने सदस्यता मुख्य हुन्छ । त्यसैले नेताहरूको ध्यान अहिले जिल्लामा आफूलाई मजबुत बनाउनेतर्फ केन्द्रित छ ।

प्रकाशित : मंसिर १, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?