'सबैका लागि स्वास्थ्य सेवा' सुनिश्चित हुनुपर्छ : विज्ञहरु

अतुल मिश्र

साभार (ढाका) — विशेषज्ञहरूले विश्वका घेरैजसो मुलुक 'सबैका लागि स्वास्थ्य सेवा' सुनिश्चित गर्ने प्रक्रियाबाट टाढा गइरहेको औल्याउँदै यसमा तत्काल सुधारको आवश्यकता देखाएका छन्।

'सबैका लागि स्वास्थ्य सेवा' सुनिश्चित हुनुपर्छ : विज्ञहरु

अमेरिका, अफ्रिका, यूरोप, ओसियानिया र एशियालगायतका ७८ देशबाट १ हजार २ सय जनाको सहभागितामा बंगलादेशमा शुरू भएको 'पिपुल्स हेल्थ एसेम्बली' मा विज्ञहरूले उक्त कुरा औल्याएका हुन ।

'वर्तमानमा हामी यस्तो विश्वमा बाँचिरहेका छौ‌ं जहाँ वर्षेनी १० करोड व्यक्ति स्वास्थ्य सेवामा उधारो, ऋण आदिले गर्दा अत्यधिक गरिबी तिर धकेलिन्छन्,' पिपुल्स हेल्थ मुभमेन्ट, बंगलादेशका अध्यक्ष जाकिर हुसेनले भने।

विश्वव्यापी रूपमा करिब ८० करोड व्यक्ति आफ्नो आम्दानीको १० प्रतिशत रकम स्वास्थ्यमा खर्च गर्ने गरेको जनाउँदै एसेम्बली आयोजक समितिका अध्यक्ष एंव विआरएसीका अध्यक्ष फजल हसन अवेडले भने, 'यस बाहेक स्वास्थ्य सम्बन्धी आकस्मिक खर्चले उल्लेख्य संख्यामा गरिब परिवारलाई विनाशतिर लिएर जान्छ ।'

स्वास्थ्यमा समान पहुँच स्थापित गर्न राष्ट्रिय र विश्वव्यापी स्तरमा बलियो आन्दोलनको आवश्यकता पहिले पनि थियो भने आज समेत रहेको पिपुल्स हेल्थ मुभमेन्ट, ग्लोबलका सहअध्यक्ष डेभिड स्यान्डर्सले बताए।

थुप्रै विश्वव्यापी घोषणा र नीति, मृत्युदर र औषत आयुमा सुधारका बावजुद उत्तर र दक्षिणका करोडौ व्यक्ति अनावश्यक रूपले कम र अस्वस्थ्यकर जीवन बाच्ने गरेको उनले जनाए।

थुप्रै संख्यामा रहेका व्यक्तिहरूको आघारभूत स्वास्थ्य स्याहारमा पहुँच नरहेको औल्याउँदै स्यान्डर्सले भने 'उनीहरू पर्याप्त स्वस्थकर खाना, स्वच्छ पानी, सरसफाई, सुरक्षित र भरपर्दो जागिर, द्वन्द्व र हिंसाबाट मुक्त वातावरणमा छैनन्।'

मूल्य तिर्न सक्नेले आफैं उपचार गराउने र तिर्न नसक्नेकाे जिम्मा सरकारले लिनुपर्ने बंगलादेशका राष्ट्रिय प्राध्यापक अब्दुल मल्लिकले बताए ।

पिपुल्स हेल्थ मुभमेन्ट नेपालका संयोजक डा. शरद वन्तले सबैका लागि स्वास्थ्य सेवा सुनिश्चितताको लागि सामाजिक न्याय तथा समानताको सिद्धान्तमा आघारित स्वास्थ्य प्रणाली नेपाललगायतका सबै देशले अवलम्वन गर्नुपर्ने बताए ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सन्देश पठाएर एसेम्वलीको सफलताको कामना गरेकी छन्। उनले यो सभालाई नागरिक समाज, संघ–संस्था, सञ्जाल, सामाजिक आन्दोलन र विश्वभरीका सरोकारवालालाई सार्वभौम स्वास्थ्य स्याहार सुरक्षा प्राप्तिको लागि एक ठाउँमा ल्याएर संयुक्त रणनीति विकास गर्न सहायक हुने विश्वास व्यक्त गरिन्।

प्रकाशित : मंसिर १, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?