कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरानो छाड्दै नयाँ किन्दै

प्रदेश ब्युरो

विराटनगर — स्थानीय तह चुनावका बेला मत माग्दा नेताहरुले आफू निर्वाचित भएपछि निजी स्वार्थमा नलागेर विकास, सुशासन र जनताको सेवामा केन्द्रित हुने वाचा गरेका थिए तर उनीहरुको त्यो वाचा व्यवहारमा देखिन सकेको छैन ।

पुरानो छाड्दै नयाँ किन्दै

जनप्रतिनिधि सुविधा उपभोग गर्न प्रतिस्पर्धाजस्तो गरी खर्च गरिरहेका छन् । अधिकांश स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले आफू चढ्न महँगा गाडी र मोटरसाइकल खरिद गरेका छन् ।


केहीले महँगो गाडी र मोटरसाइकल खरिद गर्दा विकास खर्च कटौती गरेका हुन् । गाडी र मोटरसाइकल खरिद गर्ने जनप्रतिनिधिको निर्णयलाई कर्मचारीले पनि सहजै स्विकार्ने गरेका छन् ।


स्थानीय सरकारका प्रमुख, उपप्रमुख र वडाध्यक्षले आन्तरिक राजस्व बढाउनेभन्दा बढी केन्द्रबाट प्राप्त हुने विकास निर्माणको बजेट रकमबाटै सवारीसाधन खरिद गरेको पाइएको छ । ताप्लेजुङबाट आनन्द गौतम, तेह्रथुमबाट चन्द्र कार्की र मोरङबाट विनोद भण्डारीको रिपोर्ट :


मिक्वाखोला गाउँपालिकाबाहेक ताप्लेजुङका सबै स्थानीय तहले गाडी खरिदको प्रक्रिया थालेका छन् । अधिकांशले ल्याएर कुदाउनै थालेका छन् । यहाँ एक नगरपालिका र ८ गाउँपालिका छन् ।


मिक्वाखोलाले भने गाउँपालिका केन्द्रसम्म मोटरबाटो नपुगेका कारण गाडी खरिद प्रक्रिया नबढाएको हो ।


फुङलिङ नगरपालिकाले एउटा हुँदाहुँदै अर्को गाडी भित्र्याएको छ । मेयर छत्रपति प्याकुरेल पहिला चढेको गाडी छाडेर नयाँ गाडी चढ्न थालेका छन् । यो करिब ७४ लाखमा खरिद गरिएको हो । ७० लाख ९५ हजार गाडी मूल्य र २ लाख ५० हजार त्यसमा लेगार्डलगायत उपकरण थपमा लागेको नगरपालिकाले जनाएको छ ।


पहिलाको गाडी प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्न थालेका छन् । उपप्रमुख बमबहादुर भट्टराई मोटरसाइकल चढ्छन् । गाउँपालिकामा सबैभन्दा पहिला गाडी खरिद गर्ने मेरिङदेन गाउँपालिका हो । उसले गाउँपालिका केन्द्र सडकले नजोडिँदै गाडी खरिद गरेको थियो । दोभानमा पुल बनेपछि गाउँपालिकासम्म गाडी पुग्न थालेको छ । मेरिङदेनले ४९ लाख ६५ हजारको गाडी खरिद गरेको हो ।


गाडीमा थप सामान जडान गर्न २ लाख ३८ लागेको गाउँपालिकाले जनाएको छ । फक्तालुङ, आठराई त्रिवेणी, सिरिजंगा गाउँपालिकाले खरिद गरी प्रयोग गर्न थालिसकेका छन् भने पाथीभरा याङवरक, सिदिङवा खरिद प्रक्रियामा छन् ।


सिदिङवाले प्रक्रिया पूरा नभएका कारण गत आवको प्रक्रिया रद्द गर्नुपरेको थियो । अधिकांशले सदरमुकाम आउजाउ गर्नुपर्ने, योजना अनुगमनका लागि हिँडिरहनुपर्ने र गाडी रिजर्भ गरेर वा भाडाका गाडीमा झनै महँगो पर्ने भएकाले गाडी अनिवार्य भएको बताएका छन् ।


फक्तालुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले भने, ‘बैंक सदरमुकाममा छ, कामहरू सदरमुकाम क्षेत्रमा भइरहँदा ओहोरदोहोर गरिरहनुपर्ने कहिले आकस्मिक रूपमा हिँड्नुपर्ने, जनप्रतिनिधि, कर्मचारी कुदेको हिसाब गर्दा गाडीमा भन्दा धेरै पैसा लाग्दोरहेछ । त्यसैले खरिद गर्नु अनिवार्य भयो ।’


करोडौंका गाडी खरिद

चुनावका बेला गरिएको खर्च रकम असुल्न र त्यसको फाइदा लिने कार्यमा मात्रै स्थानीय तहका जनप्रतिनिधि केन्द्रित भएको लालीगुराँस नगरपालिका ४, चित्रेका होमराज रायमाझीको आरोप छ । पहिल्यै ३० लाख रुपैयाँमा किनेको सामानसमेत राख्न मिल्ने पिकअप गाडी हुँदाहुँदै म्याङलुङ नगरपालिकाले चालु आवमै ५५ लाख रुपैयाँमा अर्को स्कार्पियो गाडी किनेको छ ।


भर्खरै मात्र वडाध्यक्षका लागि २९ लाख रुपैयाँका १० मोटरसाइकल पनि खरिद गरिएको छ । कर्मचारीका लागि थप १० मोटरसाइकल खरिद गर्ने योजना रहेको एक कर्मचारी बताउँछन् । नगरपालिकामा यसअघि खरिद गरेका ६ मोटरसाइकल र एक स्कुटर चालु अवस्थामा छन् । फेदाप गाउँपालिकाका प्रशासकीय अधिकृत सुमन लिङदेनले भर्खरै मात्र ५४ लाख १५ हजार रुपैयाँमा स्कोर्पियो गाडी किनेको बताए ।


गाउँपालिकाले ५ लाख ९४ हजार ९ सय रुपैयाँ बराबरका ३ मोटरसाइकल पनि किनेको छ । प्रमुख र वडाध्यक्षहरूलाई गाडी सुविधा दिँदा इन्धन, चालक र मर्मतमा मात्रै वार्षिक लाखौं आर्थिक भार बढने भए पनि बाध्य भएर जनप्रतिनिधिले गरेको निर्णयको विरोधमा जान नसकिएको स्थानीय तहका एक प्रमुख प्रशासकीय अधिकृतले बताए ।


मेन्छयायाम गाउँपालिकाले पनि ६१ लाख ५० हजार रुपैयाँमा स्कार्पियो र वडाध्यक्षहरूका लागि २ लाख १७ हजार मूल्यदरले ६ मोटरसाइकल खरिद गरिएको प्रशासकीय अधिकृत नवदीप राईले बताए । उनका अनुसार मोटरसाइकल खरिदमा १३ लाख २ हजार रुपैयाँ खर्च भएको छ ।


आठराई गाउँपालिकाले पनि ५२ लाख रुपैयाँमा स्कार्पिओ किनेको छ । गत आवको अन्त्यमा गाउँपालिकाले कार्यालय प्रयोजनका लागि २ लाख १५ हजारका दरले ४ मोटरसाइकल किनेको छ । मोटरसाइकल खरिदमा मात्र ८ लाख ६० हजार रुपैयाँ खर्च भएको छ । कार्यालय प्रयोजनका लागि थप ५ लाख रुपैयाँ बराबरको एउटा मोटरसाइकल खरिद गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहालले बताए ।


छथर गाउँपालिकाले सामान बोक्न पनि मिल्ने गाडी गत आवमा ६५ लाख रुपैयाँमा किनेको छ । गाउँपालिकाले कार्यालय प्रयोजनका लागि २ लाख १७ हजारका दरले ४ मोटरसाइकल किनेको छ । गाउँपालिकामा सवारीसाधन नहुँदा योजना अनुगमन तथा निरीक्षण गर्न र काम विशेषले अन्यत्र जानु पर्दा समस्या भएकाले खरिद गरिएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।


विलासी सवारीसाधनको लोभ

मोरङका १७ मध्ये १६ निकायका प्रमुख र वडाध्यक्षले कार्यालयबाट विलासी सवारीसाधन सुविधा लिएका छन् । लेटाङ नगरपालिकाका जनप्रतिनिधिले भने सवारीसाधन खरिद गर्ने छुट्याएको बजेटले नगरका फुसका घरमा जस्तापाता लगाउने निर्णय गरेका छन् । कटहरी गाउँपालिका प्रमुख रामकुमार कामतले निर्वाचित हुनेबित्तिकै ४२ लाखमा स्कार्पियो खरिद गरे । नौवटै वडाध्यक्षले प्रतिगोटा अढाई लाख मूल्यका मोटरसाइकल प्रयोग गरिरहेका छन् ।


रतुवामाई नगरपालिकाका प्रमुख रवीन राईले ४२ लाखमा स्कार्पियो खरिद गरेका छन् । त्यहाँ उपप्रमुख र वडाध्यक्षले सुविधाका गाडी लिएका छैनन् । सुनवर्षी नगर प्रमुखले पनि ४२ लाखमा स्कार्पियो खरिद गरेका छन् ।


९ वटा वडामध्ये ८ वडाध्यक्षले मोटरसाइकल र मोबाइलसेट सुविधामा लिएका छन् । कानेपोखरी गाउँपालिका प्रमुखले बोलेरो गाडी किनेका छन् । त्यहाँका ९ मध्ये ७ वडाध्यक्षले मोटरसाइकल सुविधा लिएका छन् । उर्लाबारी नगरमा गाडी किन्न करिब ८५ लाख रुपैयाँ खर्च भएको छ । नगरप्रमुख खड्ग फागोले यसपालि ५९ लाखको गाडी किनेका छन् । ११ वडाध्यक्षका लागि करिब २५ लाखमा मोटरसाइकल किनिएको छ ।


बेलबारी नगरपालिकाले नगरप्रमुख ज्ञानेन्द्र सुवेलीका लागि हालै ७० लाखमा गाडी खरिद गर्ने टेन्डर सार्वजनिक गरेको छ । कार्यालयमा पुराना २ गाडी छन् । नगरका ११ वडामध्ये ९ वडाध्यक्षले सुविधाको मोटरसाइकल लिएका छन् । वडा २ का घनश्याम गौतम र ३ का योगेन्द्र सुवेदीले भने लिएका छैनन् ।

कार्यालयमा २ बोलेरो छँदाछँदै सुन्दर हरैँचा नगर प्रमुख शिवप्रसाद ढकालले आफ्ना लागि स्कार्पियो खरिद गरेका छन् ।


त्यहाँका १२ वटै वडाध्यक्षले मोटरसाइकल सुविधा लिएका छैनन् । पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले पुरानै गाडी प्रयोग गरेका छन् तर नगरले वडाध्यक्ष र प्राविधिकका लागि १९ मोटरसाइकल किनेको छ । मिक्लाजुङ, धनपालथान, बुढीगंगा, केराबार र जहदा गाउँपालिकाका जनप्रतिनिधिले पनि सवारी सुविधा लिएका छन् ।


गाडीको रकमले जस्तापाता

मोरङको लेटाङ नगरपालिकाका जनप्रतिनिधि भने आफू चढने गाडी खरिद गर्न विनियोजन गरेको बजेटले नगरका विपन्न जनताको घर निर्माणमा जुटेका छन् । यस कार्यको अगुवाइ नगर प्रमुख शंकर राईले गरेका छन् ।


लेटाङ, जाँते, भोगटेनी र वाराङगी गाविसलाई समायोजन गरी बनाइएको यो नगरमा ७ हजार ३ सय ३९ घरपरिवारको बसोबास छ । त्यसमध्ये झन्डै ४ सय ५० घरको छाना फुसका छन् । नगरका जनप्रतिनिधिले आफू चढ्ने गाडी किन्न छुट्याएको बजेटले तिनै फुसका छाना भएका घरमा जस्तापाता लगाउने निर्णय गरेका हुन् ।


२ वर्षभित्र फुसका छानामुक्त नगर बनाउने योजनासहित सवारीसाधन खरिद गर्ने बजेटले त्यस्ता घरमा जस्तापाताको छानो लगाउने निर्णय गरिएको नगर प्रमुख राईले बताए ।


प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतलाई सवारीसाधन खरिद गर्न नगरपरिषदले यसपालि ६२ लाख र गत वर्ष ३८ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यो बजेटले सवारीसाधन खरिद नगरी फुसका छाना भएका जनताका घरमा जस्तापाताको छानो हाल्न थालिएको हो । यसका लागि नगरले करिब १० लाख मूल्य बराबरको जस्तापाता किनेको छ ।


नगरपालिकासँग तत्कालीन लेटाङ भोगटेनी नगरपालिका हुँदा खरिद गरिएको एउटा बोलेरो गाडी छ । त्यही गाडी मर्मत गरी प्रमुख र उप्रमुखले प्रयोग गर्दै आएका छन् ।

प्रकाशित : मंसिर १, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?