निर्मला हत्या प्रकरण : न्याय पाउने झिनो आस

कञ्चनपुर — वरिपरि महिला अधिकारकर्मी । बीचमा निर्मलाका बुबा यज्ञराज । धर्नास्थलमै बिरामी परेर पल्टिएका । रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका आफन्तसित बोल्न नसकेर आँसु बगाइरहेका थिए ।

निर्मला हत्या प्रकरण : न्याय पाउने झिनो आस

छेवैमा रहेका छोरा मोहित बुबाको आँसु पुछ्दै सँगै रुँदै थिए । बिहीबार बिहानको यो दृश्यले धर्नास्थलमा पीडित परिवार भेट्न पुग्ने आफन्त र बटुवालाई पनि भावुक बनाएको थियो ।


साढे ३ महिनाअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया छोरी निर्मलाका हत्यारा सार्वजनिक गरिनुपर्ने माग गर्दै आइतबारदेखि धर्ना बसेका परिवारलाई साथ र समर्थन जनाउन आउनेसमेत यज्ञराजको अवस्था देखेर भावुक हुन्थे । बाटो हिडँ्ने बटुवासमेत एकछिन धर्नास्थल पुगेर आफ्नो समर्थन जनाइरहेका छन् । भीमदत्त नगरपालिका ६ ऐठपुरका नरबहादुर कँुवर बिहीबार त्यही बाटो मालपोत जाँदै थिए । प्रशासनअघि पीडित परिवार धर्ना बसेको देखेपछि उनी पनि त्यता लम्के ।


महेन्द्रनगरमै सिभिल इन्जिनियरिङ अध्ययनरत नरेश ठगुन्ना पनि पीडित परिवार भेट्न धर्नास्थल पुगे । ‘निर्मला घटना मात्रै होइन, त्यसपछि पनि देशमा धेरै बलात्कार र हत्या भइसकेका छन्,’ उनले भने, ‘हत्यारा चाँडो पत्ता लगाउनुका साथै अबदेखि यस्तो हुन नदिन सरकारले विशेष पहल गर्नुपर्छ ।’ भदौ ४ मा प्रहरीले घटनाको मुख्य अभियुक्तका रूपमा भीमदत्त १९, बाग्फाँटाका दिलीप विष्टलाई सार्वजनिक गरेपछि आन्दोलनले उग्ररूप लिएको हो । आन्दोलनमा प्रहरीले गोली चलाउँदा १ को ज्यानै गएको थियो ।

साउन १० गते साथीको घर गएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा मृत भेटिएकी थिइन् । त्यही दिनदेखि पीडित परिवार र स्थानीयले आन्दोलन थालेका हुन् । यज्ञराजसँगै आमा दुर्गा र कान्छीआमा लक्ष्मीमा रक्तचापको समस्या देखिएको छ । पीडित परिवारको धर्नास्थलमै बिहीबार दिउँसो स्वास्थ्य परीक्षण गरिएको थियो ।


महाकाली अञ्चल अस्पतालका डा. किशोर बोहरासहितको टोलीले उनीहरूको स्वास्थ्य परीक्षण गर्‍यो । यज्ञराजको रगत परीक्षणमा खासै समस्या नदेखिए पनि लगातार धर्ना र खानाको कमीले जतिबेला पनि स्वास्थ्य गम्भीर हुन सक्ने स्वास्थ्य टोलीले बतायो । स्वास्थ्य परीक्षण क्रममा प्रजिअ तारानाथ अधिकारी, एसपी कुबेर कडायतसमेत धर्नास्थल पुगेका थिए ।


प्रजिअ अधिकारीले यहाँ उपचार हुन नसक्ने अवस्था आए अन्यत्र पठाउने व्यवस्था गर्न छलफल गरेका थिए । यज्ञराजले भने न्याय नपाएसम्म धर्नास्थलबाट कहीँ नजाने अडान लिएका छन् । ‘यतिका दिन आन्दोलन गर्‍यौं, प्रहरी प्रशासनदेखि प्रधानमन्त्रीसम्मलाई भेटिसक्यौं, तैपनि न्याय पाउने थोरै आशा बाँकी छ,’ निर्मलाकी आमा दुर्गाले बताइन् । घटनाको अनुसन्धानमा लापरबाही गर्ने २ प्रहरी अधिकृत बर्खास्त हुनुका साथै ४ निलम्बनमा परेका छन् ।


धर्नास्थलमा प्रदेशमन्त्री

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाह शुक्रबार धर्नास्थल पुगेर निर्मलाका बुबाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । निर्मलाका बुबाआमासँगै भाइबहिनीले मन्त्री शाहलाई हत्यारा पक्राउ गरी न्याय दिन आग्रह गरे ।


मिलेन डीएनए रिपोर्ट

निर्मला घटनाको अनुसन्धान क्रममा प्रहरीले डीएनए परीक्षणका लागि पठाएको नमुना रिपोर्ट नेगेटिभ आएको छ । तिहारअघि ४ जनाको नमुना पठाएकामा कुनैको पनि निर्मलाको भेजाइनल स्वाबमा भेटिएको डीएनएसँग नमिलेको जिल्ला प्रहरीका डीएसपी कृष्णराज ओझाले बताए ।


‘कसैको पनि डीएनए मिलेन,’ ओझाले भने, ‘अब अर्काे सिराबाट अनुसन्धान थाल्छौं ।’ उनका अनुसार डीएनए रिपोर्ट बिहीबार पुगे पनि शुक्रबार मात्रै खोलिएको थियो । प्रहरीले नमुना संकलन गरिएका व्यक्तिको नाम भने खुलाएको छैन । यसअघि पनि ५ जनाको परीक्षण भइसकेको छ ।

प्रकाशित : मंसिर १, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?