कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नेपाली विदेशिए, धान काट्न भारतीय खेताला भित्रिए

पर्वत पोर्तेल

(काँकडभिट्टा) — झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओइरिएका छन् । विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको इस्लामपुर, माल्दालगायत स्थानका भारतीय श्रमिकहरू डेरा लिएरै बसेका छन् ।

नेपाली विदेशिए, धान काट्न भारतीय खेताला भित्रिए

मेचीनगर क्षेत्रमा मात्रै करिब सय जना भारतीय श्रमिक धान काटिरहेका छन् । भारत कटिहारका मोहम्मद खानले ठेक्कामा धान काट्ने गरेको बताए । मेचीनगरको जोरसिमल आसपासमा काम गरिरहेका उनले धान काटेबापत प्रतिबिघा १० हजार रुपैयाँ लिने गरेको सुनाए । उनका अनुसार धान काट्ने, उठाउने, कुन्युँ लगाउने, थ्रेसर लगाएर घर भित्र्याउनेसम्म गर्दा ५० हजारजति ज्याला लिने गरेको जनाए । ‘अहिले हामी धान काट्ने काम मात्रै गर्दै आएका छौं,’ उनले भने ।


नेपाली युवा तथा श्रमिक वर्ग विदेश जाने क्रम बढेसँगै कृषिमा श्रमिक अभाव खडकिन थालेको जानकारको भनाइ छ । ‘नेपाली श्रमिक अभाव भएपछि काम गर्ने मान्छे त चाहियो,’ स्थानीय शिक्षक दामोदर ढुंगेलले भने, ‘नेपाली श्रमिक विदेश जान थालेपछि भारतीय श्रमिक भित्रिएका छन् ।’


भारतीय खेतालाको आगमनले आफूहरू मारमा परेको स्थानीय श्रमिकको भनाइ छ । भारतीय आउन थालेपछि हाम्रो भाग खोसिएजस्तो भएको कर्ण राजवंशीले बताए । उनले भने, ‘हामीले भारतीयलाई रोक्ने प्रयत्न गर्‍यौं तर सकेनौं ।’ भारतीय श्रमिकलाई स्थानीय श्रमिकको दाँजोमा धेरै ज्याला दिने गरिएको गुनासो प्रसाद मेचेले गरे । उनले भने, ‘भारतीयलाई जति हामीलाई विश्वास गरिँदैन ।’ स्थानीय श्रमिकका अनुसार भारतीयले धान काटेर मात्रै करोडौं रुपैयाँ लैजाने गरेका छन् ।

कृषि प्राविधिक सहायक शालिग्राम भट्टराईले नेपाली श्रमिक विदेशिएका कारण भारतीयलाई निम्त्याएर काम लगाउनुपरेको बताए । उनले भने, ‘देशमा काम गर्ने मान्छे अर्कैको देशमा काम गरिरहेका छन्, अनि हाम्रामा अर्कै देशका मान्छे आएर काम गरिरहेका छन् ।’ झापामा यो वर्ष करिब ८८ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान लगाइएको छ ।

प्रकाशित : मंसिर १, २०७५ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?