२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बच्चा च्याप्दै दौडादौड

कामको खोजीमा दैनिक ८ सय नेपाली भारततिर
ठाकुरसिंह थारू

नेपालगन्ज — काखे बच्चा च्यापेका गंगा र सिर्जना गुरुङ केही हतारमा देखिन्छन् । कामको खोजीमा भारततर्फ लागेका उनीहरूलाई साथीसंगी छुट्ने डर पनि छ । त्यसैले नेपालगन्ज सीमा पार गर्न हतारो गरिरहेका छन् ।

बच्चा च्याप्दै दौडादौड

चाडपर्व मनाएर हिउँदे खेतीपाती सकेपछि कर्णाली प्रदेशको दैलेख, भैरवगण गाउँपालिका ७ का गंगा र सिर्जना श्रीमान्हरूसँगै कामको खोजीमा भारततर्फ लागेका हुन् ।


भारतको सिमला पुग्न उनीहरू शनिबार नेपालगन्ज नाका भएर रुपैडिहा आइपुगे । ‘खेतीपाती सकियो । घरमा बसेर के गर्नु ? गाउँमा केही काम पाइँदैन,’ नेपाल–भारत सीमा दशगजा पार गर्ने क्रममा ४० वर्षीया गंगाले भनिन्, ‘काम पाइए गरौंला । नपाए श्रीमान्लाई खाना पकाएर सहयोग गर्न छँदै छ ।’


उनका श्रीमान् रामबहादुर यसअघि पनि मजदुरी गर्न भारतको सिमला पुग्ने गरेका थिए । सानो बच्चासहित श्रीमतीलाई घरमा एक्लै छोड्न मनले नमानेपछि सँगै भारततर्फ लैजान थालेको रामबहादुरले सुनाए । ‘यता चिसो बढेको छ । उता सिमलामा जाडो छल्न पनि हुन्छ । पाई भने सानोतिनो काम पनि गर्छे,’ उनले कान्तिपुरसँग भने, ‘चिसोमा बच्चालाई एक्लै छोड्न मन मानेन, त्यसैले सँगै लान थालेको हो ।’ यसअघि पनि उनले गंगालाई मजदुरीका लागि भारत लिएर गएको सुनाए । ‘गाउँमा काम नपाएपछि के गर्ने, जानै परो,’ उनले सुनाए ।


भारत जानुको कारणबारे सिर्जना र गंगाका तर्क उस्तै छन् । ‘श्रीमान् टेकबहादुर बरोबर भारत आउजाउ गरिरहन्छन् । त्यसैले काम खोज्न भारत जानु मेरा लागि नौलो होइन,’ सिर्जनाले भनिन्, ‘वर्षमा दुई/तीनपल्ट भारत जान्छौं । दसैं/तिहारजस्ता पर्व सकिएकाले कामको खोजीमा सिमला जान थालेको हो । चिसो सकिएपछि घर फर्किन्छौं ।’


दैलेखकी गंगा र सिर्जनामात्रै होइन, कर्णाली प्रदेशका सर्वसाधारण यतिखेर धमाधम कामको खोजीमा भारत पसिरहेका छन् । नेपाल–भारत सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार दैनिक ७/८ सय नेपाली भारततर्फ गइरहेका छन् । काखमा बच्चा च्यापेर भारत जाने महिलाको संख्या पनि उस्तै छ । दसैं/तिहार सकिएलगत्तै भारत जाने नेपालीको संख्या बढेको प्रहरीको भनाइ छ । ‘हाल नेपाल फर्किनेभन्दा जानेको संख्या बढी छ । महिला, बालबालिका र सबैजसो उमेरका नेपाली कामको खोजीमा भारत पसिरहेका छन्,’ सीमास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सई शिव वलीले भने, ‘हाल सीमामा भारत जाने नेपालीको भीडभाड छ ।’


भारत जानेहरूको संख्या बढेपछि गाउँहरू फेरि रित्तिन थालेका छन् । शुक्रबारमात्रै कर्णाली प्रदेश सुर्खेतको सहारे क्षेत्रका ८० भन्दा बढी नेपाली एकैसाथ कामको खोजीमा भारततर्फ लागेको सीमास्थित प्रहरीले जनाएको छ ।


कर्णाली प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुमका बढीजसो युवा कामको खोजीमा भारततर्फ जाने गरेका छन् । त्यस्तै ५ नम्बर प्रदेशका बर्दिया, बाँकेलगायत युवाहरू पनि कामको खोजीमा भारत पसिरहेका छन् । भारत जाने अधिकांश युवा भारतको कालापहाड, चण्डीगढ, सिमला, गुजरात, दिल्ली, पन्जावलगायत सहरमा काम खोज्न जान्छन् ।

प्रकाशित : मंसिर २, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?