२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सशस्त्र प्रहरी उत्तरी सीमामा पनि 

जनकराज सापकोटा

काठमाडौँ — दक्षिणी सीमाको सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल अब उत्तरी सीमामा पनि केन्द्रित हुने भएको छ । ताप्लेजुङदेखि बझाङसम्म ११ ठाउँ बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) राख्ने तयारी अन्तिम चरणमा छ ।

सशस्त्र प्रहरी उत्तरी सीमामा पनि 

मन्त्रिपरिषद्बाट सशस्त्र प्रहरी बलको दरबन्दी हेरफेर तथा सांगठनिक पुन:संरचनासम्बन्धी प्रतिवेदन पास भएसँगै संगठनले उत्तरी सीमा जोडिएका १६ जिल्ला सदरमुकाममा गुल्म राखिसकेको छ ।


बीओपी राख्न ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लप्ची, गोर्खाको चुमनुब्री, मनाङको नार्फु र मिस्याङ चंकी, मुस्ताङको लोमाङथाङ, मुगुको नाम्चेनाङला, डोल्पाको बुद्धतिङले, हुम्लाको नाम्खाहिल्सा, दार्चुलाको झाङरु, बझाङको काँडाधुली छानिएका छन् ।


आवश्यक पर्ती जग्गा खोज्ने काम थालिएको सशस्त्रका प्रवक्ता सुरज श्रेष्ठले बताए । किमाथांकामा प्रमुख जिल्ला अधिकारीसँग छलफलपछि सकिएको र ओलाङचुङगोलामा सम्भावित जग्गा रेकीसमेत भइसकेको उनले जनाए । सशस्त्रका अनुसार प्रत्येक पोस्टमा बढीमा ३५ जनासम्म प्रहरी रहनेछन् ।


भारतसँग सीमा जोडिएका तराईका २१ जिल्लामा ८ हजार संख्यामा खटिइरहेको सशस्त्रले अब उक्त संख्या १५ हजार पुर्‍याउने निर्णय गरेको छ । उत्तरी सीमामा सेना अपरेसनल गतिविधिमा मात्रै सामेल रहेको र सुरक्षा सक्रियता शून्य रहेको भन्दै सशस्त्रले पोस्ट बनाउन लागेको हो । यसअघि सशस्त्रले तातोपानी र रसुवागढी नाकामा गुल्म राखिसकेको छ । संगठनको पुन:संरचनापछि यसको उपस्थिति ४५ बाट बढेर ७७ जिल्लामा पुगेको छ ।


जेठ २० गते गृह मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार संगठन तथा सर्वेक्षण समितिले सशस्त्रका कार्यालय पुन:संरचना गर्ने प्रतिवेदन तयार पारेको थियो ।


२०६६ पछि बीओपीको दरबन्दी सुरु गरेको सशस्त्रले संघीयतामा गइसकेपछि मात्रै उत्तरी सीमामा उपस्थिति बढाउन थालेको हो । सशस्त्रका एक उच्च अधिकारीका अनुसार उत्तरी सीमामा बढ्दो विकास गतिविधि र चिनियाँ पक्षको उपस्थितिसँगै पोस्ट राख्नैपर्ने निष्कर्षमा पुगिएको हो ।


सशस्त्र द्वन्द्वकालमा जुम्लामा राख्ने भनिएको त्रिपुरासुन्दरी गण त्यहाँ नसकेर बाँकेमा राखिएको थियो । त्यसलाई अब जुम्ला नै सारिँदै छ ।


सशस्त्रले जुम्लामा नेपाल माउन्टेनियरिङ रेस्क्यु शिक्षालय खोल्न उपयुक्त स्थानसमेत खोजिरहेको छ । शिक्षालय सञ्चालनमा आएपछि उत्तरी सीमामा सशस्त्रको उपस्थिति झन् बढ्ने बताइएको छ ।

प्रकाशित : मंसिर २, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?