कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

राजमार्गको जमिन अर्कैको नाममा

लगतकट्टा नहुँदा समस्या

इलाम / ताप्लेजुङ — अघिल्लो वर्ष इलामस्थित सडक डिभिजन कार्यालयले मेची राजमार्गअन्तर्गत विभिन्न खण्डको लगतकट्टा गरी धनीपुर्जा निकाल्न मालपोत कार्यालयमा पेस गरेको थियो ।

राजमार्गको जमिन अर्कैको नाममा

तर समय अभाव भन्दै मालपोतले अहिलेसम्म धनीपुर्जा दिएको छैन । पुरानो धनीपुर्जा आउने आशामा रहेको सडकले थप फाइल पनि बनाइरहेको छ ।


अहिलेसम्म राजमार्ग कायम नदेखिएपछि सडकले चासो बढाए पनि काम भने हुन नसकेको हो । पछिल्लो समय स्थानीय तहमै नापी र मालपोत जाने हल्लाले पनि डिभिजनले राजमार्गको जग्गा पास गर्न थालेको काम अधुरो बनेको छ । यस्तो समस्या मेची राजमार्ग रहेका सबै जिल्लामा छ ।


‘हामीले लगतकट्टा गरी धनीपुर्जा लिने कामलाई महत्त्व दिए पनि अन्य कार्यालयहरूको व्यस्तताले समस्या भएको हो,’ सडक डिभिजन कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले भने, ‘धेरै कित्ताको अलगअलग फाइल बनाएर काम गर्नुपर्ने हुँदा झन्झटिलो पनि छ ।’ कित्ताकाटकै लागि अलग्गै स्रोत सडकसँग नहुने भएकाले पनि समस्या छ । आफैं स्रोत जुटाउनुपर्ने भएकाले यो कार्य निरन्तर बढाउन पनि कठिन हुने उनको भनाइ छ ।


फुङलिङ नगरपालिका–७, दोखु बहानन्देका घनश्याम सुनुवारको ५ रोपनी बढी जमिन गुमेको छ । उनकै जमिनबाट बहानन्देको घुम्ती घुमेको छ । २०४४ मा ट्रयाक खुलेको सडकलाई उनले राजीखुसीले जग्गा दिएका हुन् । तर, अहिलेसम्म लगतकट्टा भएको छैन । उनले सडक बन्नुअघि जस्तै आफ्नो जमिनको मालपोत दस्तुर (तिरो) सरकारलाई अहिलेसम्म पनि बुझाइरहेका छन् ।


नेपाल सरकारको नक्सामा उनको जग्गामा सडक पनि देखिँदैन । जग्गा गुमाएर तीन दशकदेखि त्यहींको राजस्व बुझाउनेमा बहानन्देकै प्रेमप्रसाद बराल पनि छन् । उनले आफूले उपभोग गरिरहेको धानबाली लाग्ने खेतदेखि कालोपत्रे सडकको पनि राजस्व बुझाइरहेका छन । अँधेरीदेखि डाँडाखेतसम्मको १५ मिटर बढी सडकको राजस्व उनी तिर्दै छन् ।


आफ्नै जमिन सडकलाई दिएर त्यसैको राजस्व बुझाउने घनश्याम र प्रेम मात्रै होइनन्, ताप्लेजुङ, पाँचथर र इलामका जग्गाधनीले सडकको राजस्व आफैंले बुझाइरहेका छन् ।


वर्षौं बितिसक्दा पनि सरकारले राजमार्गको सडक क्षेत्रको लगतकट्टा गरेको छैन । झापाको केचनाकवलदेखि ताप्लेजुङ फक्तालुङ गाउँपालिकाको घारिल्लासम्मलाई मेची राजमार्ग घोषणा गरिएको छ । सडक ऐन, २०३० अनुसार पहाडी सडकको क्षेत्र ३० मिटर चौडा हुन्छ । सडकको बीच भागबाट दायाँबायाँ १५–१५ मिटर हुने प्राविधिकहरू बताउँछन् ।


सरकारले आफ्नो क्षेत्र नछुट्याउँदा जग्गा दिनेहरू राजस्व बुझाउन बाध्य छन् । त्यस्तै ग्रामीण क्षेत्रबाट जग्गा खरिद गर्नेहरू पनि ठगिएका छन् । नबुझेकाहरूलाई टाठाबाठाले सडकसमेत बेच्ने गरेका छन् । नापी कार्यालयकी अधिकृत अर्चना केसी सर्वसाधारण नठगिऊन् भनेर आफूहरूले नगरपालिकाको सिफारिस अनिवार्य गरेको बताउँछिन् ।


राजमार्गले काबेलीदेखि सुकेटारसम्म छुने भएकाले त्यहाँका वडाले सडक भए/नभएको निश्चित गरेर मात्रै कित्ताकाट गरेको उनले बताइन् । सर्भेयर किशोर मण्डल राजमार्ग क्षेत्रको जग्गा कित्ताकाट गर्नुपरे अनिवार्य फिल्डमा जाने थिति बसालेको बताउँछन् । तर कित्ताकाट गर्नु नपर्ने जग्गाको भने मालपोतबाट सिधै पास हुने गरेको छ ।


राजमार्गको ताप्लेजुङ खण्ड काबेलीदेखि फुङलिङसम्म २३ र सदरमुकाम फुङलिङदेखि सुकेटारसम्म ८ किमि दूरी छ । फुङलिङदेखि चारआलीसम्मको दूरी २ सय २८ किमि छ । यो कालोपत्रे सडक हो । सरकारको निर्णयअनुसार केचनादेखि घारिल्लासम्म ट्रयाक खोल्ने काम धमाधम भइरहेको छ । कच्ची सडकको कुनै पनि भाग लगतकट्टा भएको छैन ।


यसका लागि सडक डिभिजन कार्यालयले सक्रियता देखाउनुपर्ने नापी अधिकृत केसी बताउँछिन् । लगतकट्टा गर्दा लाग्ने खर्च सडकले बेहोर्ने र नापी कार्यालयले प्राविधिक उपलब्ध गराउने हुन्छ । ‘सडक डिभिजन कार्यालय इलामबाट एकपटक पत्र आएको थियो, त्यसपछि फलोअप भएन,’ उनले भनिन्, ‘जिल्लामा कम जनशक्ति हुने भएकाले केन्द्रमा समन्वय गर्न आग्रह गरेका थियौं ।’


उनका अनुसार लिखित रूपमै पत्राचार भएको थियो । राजस्वको सबैभन्दा ठूलो मार घुम्ती भएको सडकका उपभोक्तालाई परेको छ भने गाउँबाट आएर सडक छेउमा घडेरी किन्न खोज्नेहरू ठगिने जोखिम बढेको छ । सडक क्षेत्र नछुट्याइँदा राजमार्गसँग जोडेर घरटहरा निर्माणको क्रम पनि रोकिएको छैन ।

ताप्लेजुङको बहानन्दे, सेसम्बु, मेवाखामा बजार बनेको छ ।


पाँचथरको काबेली, सिंहपुर घुम्ती, भालुचोक, गणेशचोक, परेवाडाँडा, गोपेटार, जोरपोखरी क्षेत्र पनि बजार बनेका छन् । हेवाखोला, पौवाभन्ज्याङ, राँके, रक्से, बाघखोर, नेपालटार, पुवाखोला, बिब्ल्याटे, चुरघाँटी, गोलाखर्क, तीनघरे, फिक्कल, हर्कटे, कुटिडाँडा र झापा बुधबारेमा पनि सडकसँगै जोडिएर घर बनेका छन् ।


सडकसँगै जोडिएर घर बन्दा सडक दुर्घटनाको जोखिम धेरै हुने यातायात चालक बताउँछन् । घरमा पालेका कुखुरा, बाख्रा सडकमा निस्कने र तिनले बाटो काट्दा दुर्घटना हुने चालक सन्तोष राईले बताए । उनका अनुसार दुर्घटनाबाट जोगाउन खोज्दा मर्ने पशुचौपायाको क्षतिपूर्ति यातायात सञ्चालकले तिर्नुपर्ने बाध्यता छ ।


राजमार्ग आसपासमा पछिल्लो समय बजार विस्तार हुने क्रम बढेको छ । राजमार्गको मध्यभागबाट दुवैतर्फ १५ मिटर राजमार्गकै स्वामित्वमा रहने भए पनि धनीपुर्जा नहँुदा समस्या छ । १५ मिटरबाहेक सम्बन्धित जग्गाधनीले अरू ६ मिटर छाड्नुपर्छ ।


एकातिर राजमार्गले लगतकट्टा गरी धनीपुर्जा लिन नसक्नु र सम्बन्धित जग्गावालाले राजमार्गसँगै जोडेर घर बनाउँदा समस्या थपिँदो छ । राजमार्ग पर्ने बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनको समस्या चुलिँदो छ । अधिकांश स्थानमा सवारी ओहोरदोहोर गर्न समस्या भएर जाम हुने गरेको छ ।


राजमार्गको स्वामित्वमा रहने क्षेत्रको विस्तारमा केही स्थानीय तहले चासो देखाएर कामसमेत थालेका छन् । अघिल्लो वर्षदेखि नै इलामको सूर्योदय नगरपालिकाले नगर क्षेत्रमा सडकको क्षेत्र कायम गर्ने भन्दै केही स्थानमा विस्तारको काम थालेको छ ।

प्रकाशित : मंसिर २, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?