१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

निर्मला हत्या प्रकरण : पीडित परिवारलाई बेलायतबाट सहयोग

कञ्चनपुर — न्याय माग्दै धर्ना बसेका निर्मला पन्तका परिवारलाई बेलायत बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन् ।

निर्मला हत्या प्रकरण : पीडित परिवारलाई बेलायतबाट सहयोग

बेलायतको बेजिंगस्टोक नेप्लिज कम्युनिटी (बीएनसी) ले संकलन गरी पठाएको ५५ हजार ५ सय ५१ रुपैयाँ शनिबार निर्मलाका बुवा यज्ञराजलाई हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले उक्त रकम धर्नास्थलमै पुगेर हस्तान्तरण गरेका हुन् ।


बीएनसीले पीडित परिवारलाई नैतिक समर्थन जनाउनसमेत आर्थिक सहयोग प्रदान गरिएको जनाएको छ । संस्थाकी सल्लाहकार सुधा गुरुङको पहलमा सहयोग संकलन भएको हो । ‘निर्मलाका मातापितालाई पैसाभन्दा पनि न्याय चाहिएको हो,’ गुरुङद्वारा लिखित पत्रमा उल्लेख छ, ‘हामी विदेशमा बस्ने नेपाली यो पीडाबाट आहत छौं ।’


बीएनसीले बर्सेनि यस्ता पीडित परिवार र परोपकारी काममा लागेका संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ । सहयोग हस्तान्तरण गर्दै झाले पन्त परिवारले सुरु गरेको आन्दोलनमा समर्थन जनाए ।


यसैबीच यज्ञराजको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगको टोलीले जानकारी लिएको छ । शनिबार धर्नास्थलमा पुगेर टोलीले स्वास्थ्य अवस्था र उपचारका विषयमा यज्ञराजसँग जानकारी लिएको हो ।

प्रकाशित : मंसिर २, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?