१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गोर्खा सैनिकमा नेपाली महिला नपठाउन नेता नेपालको सुझाव

लन्डन — पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालले गोर्खा सैनिकमा नेपाली महिला नपठाउन नेपाल सरकारलाई सुझाएका छन् । यती नेपाली एसोसिएसन युकेले शनिबार लन्डनमा गरेको च्यारिटी कार्यक्रममा नेता नेपालले ब्रिटिस सेनामा महिला भर्ती उचित नभएको बताए ।

गोर्खा सैनिकमा नेपाली महिला नपठाउन नेता नेपालको सुझाव

दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस आर्मीको अभिन्न अंग रहेको ब्रिगेड अफ गोर्खाजमा पहिलोपटक नेपाली महिला पनि सामेल हुने सक्ने र सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको केही महिनाअघि सार्वजनिक भएको थियो ।


‘भूतपूर्व गोर्खाहरुको माग पनि त्रिपक्षीय सन्धिका आधारमा होइन, बेलायत र नेपालले नै समाधान गर्नुपर्छ’, नेता नेपालले भने, ‘नेपाल सरकारले भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि गम्भीर भएर काम सुरु गरिसकेको छ । तपाईंहरुको मेहनत खेर जान्न ।’


बेलायती विदेश मन्त्रालय (एफसीओ) मा गत बिहीबार भएको बेलायत नेपाल चौथो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागीले भूतपूर्व गोर्खाहरुका माग सम्वोधन गर्न बेलायत सरकारलाई आग्रह गरेका थिए । सचिव बैरागीले ब्रिटिस सेनाबाट सेवानिवृत्त गोर्खाहरुका जायज मागहरुको सम्मानजनक सम्वोधन हुनुपर्ने नेपाल सरकारको धारणा रहेको र ब्रिटिस अधिकारीहरुसँग भएको द्वीपक्षीय परामर्श संयन्त्रको बैठकमा पनि छलफल भएको जनाएका थिए ।


नेता नेपालले अब बोलेर मात्र होइन, व्यवहारमै समृद्धि ल्याउन आवश्यक भएको बताए । ‘हामीले आर्थिक उन्नतिको काम गर्नुछ, देश विकासलाई तीव्रता दिनुछ’, नेता नेपालले भने, ‘जनताको परिवर्तनको सपना साकार पार्ने दायित्व हामीमा छ । यसमा प्रवासमा बसेका नेपालीहरुले पनि साथ दिनुपर्छ ।’


रेलमार्ग र विमानस्थल निर्माणको उदाहरण दिंदै उनले नेपालमा परिवर्तनका रुप देखिइसकेको र यसमा ढिलाइ गर्न कसैलाई छुट नभएको धारणा पनि राखेका थिए ।


कार्यक्रममा नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतको नेपाली समाज सुसंगठित, सुशिक्षित र सुविचारित भएको धारणा राखे । ‘यहाँको डायस्पोराले अप्ठेरो, दु:ख पर्दा मातृभूमिलाई धेरै सहयोग गरेको छ’, राजदूत सुवेदीले थपे, ‘हामी सबैको मनभित्र सधैं नेपाल हुनुपर्छ । नेपाली-नेपाली एक भएर बाँच्न र हाँस्न सकौं, मन मस्तिष्कभित्र नेपाल राखौं ।’


कार्यक्रममा एनआरएनए युके अध्यक्ष योगकुमार फगामी, हेमन फाउण्डेशनका हेमन मोक्तान, यती पूर्वअध्यक्ष उमेशराज मोक्तान, समाजसेवी ध्रुव केसीलगायतले पनि बोलेका थिए । शशीधर नेपालको अध्यक्षतामा भएको कार्यक्रममा हास्यव्यंग्य कलाकार मनोज गजुरेल, नायिका तथा मोडल मरिस्का पोखरेल र गायक हेमन मोक्तानले आ-आफ्नो कला प्रस्तुत गरेका थिए ।

प्रकाशित : मंसिर २, २०७५ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?