कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रानीपोखरी थुनछेकबारे सेनाभित्र छलफल

काठमाडौँ — सैनिक मुख्यालयले मल्लकालीन भक्तपुरको रानीपोखरी खुला गर्ने/नगर्नेबारे आन्तरिक छलफल थालेको छ ।

रानीपोखरी थुनछेकबारे सेनाभित्र छलफल

रानीपोखरीलगायत पुरातात्त्विक महत्त्वका स्थान जीर्णोद्धार र सर्वसाधारणका लागि खुला हुनुपर्ने भन्दै भक्तपुर नगरपालिकाले तीन महिनाअघि सेनालाई पत्र लेखेर आफूलाई हस्तान्तरण गर्न आग्रह गरेको थियो । ‘नगरपालिकाको पत्र आएको हो,’ नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, ‘पोखरी सैनिक परिसरभित्र पर्छ, त्यसलाई खुला गर्दा उपयुक्त हुन्छ/हुँदैन भनेर छलफल थालेका छौं ।’ यस विषयमा सेनाले छिट्टै उपयुक्त निर्णय गर्ने उनले बताए । पोखरी खुला गर्दा हुने सुरक्षा खतराको समेत विश्लेषण गरेर सेनाले निर्णय लिन लागेको हो ।


सल्लाघारीबाट दूधपाटीतर्फ जाने बाटोको बायाँतर्फ रानीपोखरी छ । पोखरीको दक्षिणतर्फ मूलबाटो, पश्चिममा कलेज र उत्तरपूर्वमा सैनिक आवासीय महाविद्यालयको खेल मैदान छ । नगरपालिकाले विगतमा पनि पोखरी हस्तान्तरणका लागि पत्राचार गरेको सैनिक मुख्यालयले जनाएको छ ।


नगरपालिकाले भदौमा दोस्रो पटक रानीपोखरी खुला गर्न पत्राचार गरेको हो । यसअघि २०७१ वैशाख १९ मा प्रधानमन्त्रीलाई सम्बोधन गरेर पोखरी खुला गर्न पत्राचार भएको थियो ।


नगरपालिकाले भदौ ४ मा रक्षामन्त्रीलाई सम्बोधन गरेको पत्रमा सल्लाघारीको च्वंगा गणेश मन्दिर परिसर, रानीपोखरी, सार्वजनिक पाटीको परिसर र दुग्ध विकास संस्थानको भवन भएको जग्गा स्थानीय जनताको मागअनुसार सार्वजनिक हुने गरी नगरपालिकाको नाममा गरिदिन आग्रह गरिएको छ ।


‘ऐतिहासिक रानीपोखरी र सार्वजनिक पाटी अविलम्ब जीर्णोद्धार गर्नु आवश्यक छ,’ पत्रमा भनिएको छ, ‘उक्त स्थान सैनिक महाविद्यालयको नाममा दर्ता रहेको हुँदा जीर्णोद्वार कार्यमा विलम्ब भइरहेको छ ।’ पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सैनिक मुख्यालयलाई दिएको छ ।


मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले नगरपालिकाले पठाएको पत्रबारे राय माग गरेर सैनिक मुख्यालय पठाइएको बताए । सैनिक मुख्यालयबाट पोखरी सार्वजनिक गर्ने/नगर्ने निर्णय नभए पनि नगरपालिकाले सेनाकै सहयोग लिएर रानीपोखरी सरसफाइ सुरु गरेको छ । नगरप्रमुख सुनील प्रजापति, अन्य जनप्रतिनिधि, विद्यार्थी र सर्वसाधारणसहितले शनिबार पोखरी आसपासको झाडी सफा गरेका थिए ।

प्रकाशित : मंसिर ३, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?