१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘राजनीतिक दबाबले अनुसन्धानमा ढिलाइ’

दलित महिला बलात्कार
भूषण यादव

वीरगन्ज — दलित महिला बलात्कार प्रकरणमा राजनीतिक नेतृत्वले प्रहरीलाई दिग्भ्रमित पार्न प्रयास गरेपछि पीडकमाथिको कारबाहीमा ढिलाइ भएको पीडित पक्षले गुनासो गरेका छन् ।

वीरगन्ज महानगरपालिका १८ भवानीपुरको सौराहा टोल निवासी ३५ वर्षीय दलित महिलालाई स्थानीय ४ जनाले गत कात्तिक ५ गते राति करिब १० बजे पालैपालो बलात्कार गरेका थिए ।


बलात्कार गरेको दुई दिनपछि बलात्कारको भिडियो देखाई पैसाको बार्गेनिङ गर्न थालेपछि पीडितले कानुनी उपचारको बाटो समाएकी थिइन् । टोलकै एक सामाजिक कार्यकर्ता र दलित अगुवाको साथमा कात्तिक १२ मा जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीको जाहेरी दिइन् ।


महिलालाई केही क्षतिपूर्ति दिई गाउँमै बलात्कारको घटना मिलापत्र गराउन ३/४ दिन प्रयास भएको थियो । संघीय समाजवादी फोरममा आबद्ध रहेका पीडकले राजनीतिक नेतृत्वलाई प्रहरीमाथि दबाब दिलाएका थिए ।


‘पीडितले उजुरी दिएपछि उनको चरित्रमाथि प्रश्न उठाइयो,’ दलित अगुवा बृजलाल पासवान भन्छन्, ‘विगतदेखि नै गाउँमा दलितलाई दबाएर राख्ने प्रवृत्ति बलात्कार प्रकरणमा पनि देखियो ।’ पीडक पक्षले ती महिलाको अवैध सम्बन्धको भिडियो बनाएपछि झूटो आरोप लगाएको भन्दै अनुसन्धानमा ढिलाइ गरेको पीडित पक्षको गुनासो छ ।


आरोपको सत्यापन गराउन जिल्ला प्रहरी कार्यालय पर्साले ती महिलालाई शुक्रबार पुन: सोधपुछ गरेको थियो । पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले घटनाबारे गम्भीर रूपले अनुसन्धान भइरहेको बताए । पीडित महिला प्रहरीकामा ढिला आएकाले पीडक फरार भइसकेको उनले जनाए ।


बहुदरमाई नगरपालिकाको डोकैला बहुअरीमा लागेको झन्डा मेला अवलोकन गरी घर फर्किरहेका सौराहाका मनोज साह तेली, आकाश साह, कृष्ण साह र गोपी सहनीले ती महिलालाई जबर्जस्ती करणी गरेको आरोप छ । घरमा शौचालय नभएकाले ती महिला राति करिब १० बजे शौच गर्न बाहिर गएकी थिइन् ।


आफू बलात्कृत भएको घटनाबारे ती महिला मौन बसिन् । तर, दुई दिनपछि बलात्कार गरेका मध्ये एकले बलात्कारको भिडियो नै देखाएर १५ हजार रुपैयाँ मागेपछि उनले कानुनी उपचारको बाटो समाइन् । ‘पैसा नदिए गाउँका अरूलाई पनि भिडियो देखाइदिने धम्की दिए,’ ती महिला भन्छिन्, ‘एकपछि अर्को पीडा दिन थालेपछि प्रहरी गुहारेकी हुँ ।’


प्रहरीलाई जाहेरी दिएपछि पीडक पक्षले ५ लाख रुपैयाँ र ५ कट्ठा जमिन लिएर मिलापत्र गर्न दबाब दिएको उनले सुनाइन् । एसपी रेवती ढकालले जबर्जस्ती करणीको मुद्दा दर्ता भइसकेकाले मिलापत्रले अनुसन्धानमा कुनै फरक नपार्ने बताए ।

प्रकाशित : मंसिर ३, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?