कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

नारायणगढ–मुग्लिन सडक : साँघुरा भए पुुल 

रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिन सडकमा साँघुरा पुलले समस्या निम्त्याएको छ । साना–ठूला १८ वटा पुल रहेको यो सडकका सबै पुल नयाँ बनाउनु पर्ने भएको छ । तर चारवटा पुलको मात्रै निर्माण सुरु भएको छ ।

नारायणगढ–मुग्लिन सडक : साँघुरा भए पुुल 

पुल यति जीर्ण छन् कि रेलिङ भत्केर पटकपटक गाडी एकतर्फी चलाउनुपर्ने बाध्यता आउने गरेको छ । पुललाई त्यसै छाडेर सडक दुई लेनको बनाउन सुरु भएको थियो ।


यो सडकमा यात्रा गर्नेहरू अहिले ठाउँ–ठाउँमा झसंग हुने गर्छन् । रफ्तारमा रहेको गाडी थररर थर्किन्छ । विस्तारित सडकभन्दा साँघुरा र जीर्ण पुलमा तीव्र गतिमा गाडी चलाए दुर्घटना हुने खतरा छ । त्यसैले चालकलाई अगाडि पुल छ भन्ने जानकारी दिन केही मिटर वरैबाट स्पिड ब्रेकरभन्दा साना रुम्बल स्ट्रिप्सहरू राखिएको छ । सबै पुलमा यस्ता स्ट्रिप्सहरू छन् ।


‘यसले गाडीको गति कम गराएर दुर्घटना रोक्न सहयोग गरेको छ । तर पुल चाँडो बनाउनुपर्छ,’ यो सडक आउजाउ गर्ने सौराहाका पर्यटन व्यवसायी सुमन घिमिरेले भने, ‘जीर्ण भएका पुलले जोखिम बढाएका छन् । त्यति खर्च र मिहिनेत लगाएर दुई लेनको बनाएको सडकमा यात्राको भरपूर मज्जा लिन पाइएको छैन ।’


सडक दुई लेनको भएपछि ३५ मिनेटमा सडक पार गर्न सकिने भनिएको थियो । तर पुलकै कारण सम्भव भएको छैन । नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीहरू बन्दै गरेका चारवटा पुलको निर्माण कार्य सन्तोषजनक रहेको बताउँछन् । त्यसै गरी बाँकी १४ वटा पुल बनाउने प्रक्रिया पनि अगाडि बढेको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले जानकारी दिए । चारवटा पुल बनाउने काम अघिल्लो वर्षको नोभेम्बर २२ मा सुरु भएको थियो । २१ महिनाभित्र बनाइसक्ने सम्झौता छ ।


नारायणगढ मुग्लिन सडक विस्तारका लागि विश्व बैंकबाट प्राप्त रकममध्ये ३० करोड रुपैयाँ बचत भएपछि चारवटा पुल बनाउन थालिएको हो । दासढुंगा, खानी, मौरी र जलबिरेमा २७ करोड रुपैयाँ लागतमा नयाँ पुल बन्दै छन् । जलबिरेबाहेक अरू तीनवटा पुल निर्माणको जिम्मा एउटै कम्पनी लामा कन्स्ट्रक्सनले लिएको छ ।


जलबिरेको पुल रौताहा कम्पनीले बनाउँदै छ । यी दुई कम्पनीले सडक विस्तारको काम पनि गरेका थिए । लामा कन्स्ट्रक्सनले काम गरिरहेको ठाउँमा लक्ष्यअनुरूप प्रगति भए पनि जलबिरेमा त्यसो हुन सकेको छैन । ‘जलबिरेको पुलमा दुई पटक डिजाइन परिवर्तन भयो । काम सुरु हुन ६ महिना ढिला भयो । त्यसैले त्यहाँ २१ प्रतिशतको हाराहारीमा काम भएको छ । अरू तीनवटा पुलमा ४९ प्रतिशतको हाराहारीमा काम भएको छ,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने ।


निर्माण सुरु भएको १४ महिनाभित्र ५० प्रतिशत काम पूरा हुनुपर्ने लक्ष्य राखेको छ । अहिलेसम्मको प्रगतिका आधारमा जलबिरेबाहेक अरू तीनवटा पुल समयभित्रै पूरा हुने प्रस्ट आधार देखिएको छ । जलबिरेको पुल ८० मिटर लामो हुनेछ । बाँकी तीन पुलमा दुईवटा १५ मिटर र एउटा २५ मिटर लम्बाइका छन् । निर्माण सुरु नभएका १४ मध्ये सबैभन्दा लामो पुल रिद्धि खोलामा ६५ मिटर लम्बाइको छ ।


जलबिरेमा निकै घुमाउरो मोड छ । त्यहाँ पुल बने सडक सिधा हुनेछ र दूरी पनि ३२५ मिटर घट्ने सूचना अधिकारी खनालले बताए । सबै १८ वटा पुल दुई लेनको सडक जस्तै फराकिला र नयाँ बने मात्र यात्रा धेरै सहज हुनेछ । नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौं जोड्ने जीवनरेखा हो । यो मार्ग हुँदै दिनमा १० हजार गाडी ओहोरदोहोर गर्छन् । नेपाल–भारत व्यापारको मुख्य संवाहक यो मार्ग हो ।


नेपाल–भारत क्षेत्रीय व्यापार आयोजना अन्तर्गत यो सडक सञ्जाल पर्छ । ‘पुल फराकिलो भए बल्ल यो सडक पूर्ण हुन्छ । बाँकी १४ वटा पुल पनि विश्व बैंककै ऋण सहयोगमा बन्ने लगभग पक्का भएको छ । त्यसैले ती पुल पनि बन्छन् । अहिले निर्माण सुरु गर्नका लागि प्रकृया तीव्र रूपमा अगाडि बढेको छ,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले भने ।

प्रकाशित : मंसिर ३, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?