कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अस्तव्यस्त सत्तलमा आज एकादशी

काठमाडौँ — आज हरिबोधिनी एकादशी । पौराणिक मान्यताअनुसार भगवान् विष्णु ब्युँझने दिन । हरिशयनी एकादशीमा निदाएका विष्णु चार महिना (चतुर्मासा) पछि जाग्ने विश्वास गरिन्छ ।

अस्तव्यस्त सत्तलमा आज एकादशी

यस दिनलाई विशेष रुपमा मनाउँछन् हिन्दु धर्मावलम्बी । व्रत बस्छन् । पूजाआराधना गर्छन् ।तुलसीको बिहे गर्छन् । देशभरका विष्णु मन्दिरमा पर्व लाग्छ । राजधानी उपत्यकामा चार नारायण प्रख्यात छन्– शेषनारायण, इचंगुनारायण, चाँगुनारायण र विशंखुनारायण ।


पुराताफ्विक महफ्वसमेत उच्च रहेका यी धार्मिक सम्पदा चिटिक्क पारिएका छन् । जात्राको तयारी तीव्र छ । भूकम्पले क्षतिग्रस्त चाँगुनारायण, विशंखुनारायणका सत्तल र पाटी अझै बनिसकेका छैनन् । भग्नावशेष असरल्ल छन् ।



पुराताफ्विक सामग्री खुला आकाशमुनि राखिएका छन् । भक्तजनलाई टाउको लुकाउने ठाउँसमेत नरहेको पुजारीको गुनासो छ । नेवार समुदायमा चार नारायण यात्रा प्रसिद्ध छ । प्रशान्त माली, लीला श्रेष्ठ, विद्या राई र शिल्पा कर्ण लेख्छन् :


राजधानीका विशंखुनारायण, चाँगुनारायण, शेषनारायण र इचंगुनारायणमा हरिबोधिनी एकादशी मेलाका लागि सरसफाइ तथा सजावट गरिँदै ।


सजियो विशंखु

विष्टछापका राजेन्द्र विष्ट आइतबार विशंखुनारायणमा बत्ती जडान गरिरहेका थिए । एकादशी मेलाको तयारीमा तीन दिनदेखि भ्याइनभ्याइ छ उनलाई । टोलीले मन्दिर सरसफाइ गरी ध्वजापताकाले सजाइसकेको छ ।



गोदावरी नगरपालिका–२ स्थित विशंखुनारायणको मुख्य आकर्षण गुफा हो । पौराणिक कालमा विष्णुले मोहिनी रुप धारण गरेर भष्मासुरको अन्त्य गरेपछि यही गुफामा आई शिलाका रुपमा स्थापित भएको कथा छ ।


‘मेलामा भीडभाड हुन्छ । गुफामा छिर्दा समय लाग्ने भएकाले बन्द गर्छौं,’ विशंखुनारायण सेवा सुधार समिति अध्यक्ष विष्टले भने, ‘लाइन बसिसकेपछि बढीमा आधा घण्टाभित्र दर्शन सक्ने गरी व्यवस्था मिलाएका छौं ।’ दर्शनार्थी महिला र पुरुषलाई छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि आराम कुर्सी राखिएका छन् । विशंखुनारायण डाँडाबाट उपत्यकाका तीन जिल्ला एकसाथ अवलोकन गर्न सकिन्छ ।


मन्दिर पुग्ने सडक सरसफाइ गरिएको छ । ‘भीड व्यवस्थापन गर्न स्काउट, प्रहरी र स्थानीय गरी डेढ सय स्वयंसेवक तयार पारेका छौं,’ विष्टले भने, ‘चौबीसै घण्टा भजनकीर्तन गर्न साउन्ड सिस्टम राखेका छौं ।’ खानेपानीका लागि तीन स्थानमा धारा जडान गरिँदै छन् ।


राजधानीको बुढानीलकण्ठमा पनि विशेष मेला लाग्छ । दर्शनार्थीलाई लक्षित गरी सुरक्षा व्यवस्था मिलाइएको बूढानीलकण्ठ क्षेत्र विकास समितिले जनाएको छ । यहाँ एकादशीबाट थालिएको मेला पूर्णिमासम्मै चल्छ । यो पाँच दिनलाई भीमपञ्चक भनिन्छ ।


महाभारत युद्धमा घाइते भीष्मले पाण्डवलाई दिएको राजधर्म, मोक्षधर्म र दानधर्मको उपदेशबाट प्रसन्न भएका कृष्णले उनैको सम्मानमा भीष्मपञ्चक व्रत आरम्भ गराएको पुराणवचन छ । ब्रह्मटोलस्थित बन्देनारायण, जैसीदेवल नजिकैको नारायण, चिकंमुगलमा स्थापित अटोनारायण र थायमरुमा रहेको इखनारायणमा पनि निकै चहलपहल हुन्छ । एकादशीदेखि पूर्णिमासम्मका ५ दिन व्रत बसी भीष्मपञ्चक मनाउने परम्परा छ ।

चाँगुमा सार्वजनिक बिदा

चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशी मनाउन सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ । नगर कार्यपालिका बैठकले नगरभित्रका कार्यालयलाई बिदा दिने निर्णय गरेको मेयर सोमप्रसाद मिश्रले बताए ।


विश्वसम्पदामा सूचीकृत चाँगुनारायण उपत्यकाका चार नारायणमध्ये जेठो मानिन्छ । एकादशी मेलाका लागि नगरपालिका, ४ नम्बर वडा कार्यालय र चाँगुनारायण मन्दिर विकास समितिको समन्वयमा सरसफाइ, पाकिङ, खानेपानी, शौचालय व्यवस्थित गरिएको मिश्रले जानकारी दिए ।


भूकम्पले क्षतिग्रस्त चाँगु मन्दिर जीर्णोद्धार भए पनि वरिपरिका संरचना भने अझै व्यवस्थित भइसकेका छैनन् । चौघेरा सत्तल तला काटेर जस्ताले छोपिएका छन् । भग्नावशेष हटाइएको छैन । तिनमा झाडी पलाएको छ । काठ यत्रतत्र छोडिएका छन् । कतिपय कलात्मक बुट्टे झ्याल कुहिँदै छन् ।



स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले महत्त्वपूर्ण सामग्री टहरामा भण्डारण गरेको छ । अझै कतिपय पुरातात्त्विक सामग्री खुल्ला आकाशमुनि रहेको मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बताए । ‘सत्तल पुनर्निर्माण नहुँदा दर्शनार्थीले निराशा व्यक्त गर्छन्,’ उनले भने, ‘सत्तल अस्तव्यस्त छ, टाउको लुकाउने ठाउँ छैन् ।’


भक्तजन तथा पर्यटकलाई ओत लाग्ने ठाउँसमेत नभएको राजोपाध्याय गुनासो सुनाउँछन् ।

एकादशी मेलाका लागि आवश्यक व्यवस्था मिलाइएको वडा सदस्य दिनेश खनालले बताए ।


मन्दिर प्रवेशद्वार जीर्ण छ । नगरपालिकाले नगरकोटसँगै चाँगुनारायण आउने बाह्य पर्यटकबाट प्रवेश शुल्क उठाउने गरेको छ । तर, मन्दिर क्षेत्र संरक्षणमा कुनै कार्य नगरेको स्थानीयको गुनासो छ । उनीहरूका अनुसार शौचालय व्यवस्थित छैन । पानीको सुविधा छैन ।


गैरसरकारी संघसंस्थाका कारण चौघेरा सत्तल पुनर्निर्माणमा ढिलाइ भएको पुरातत्त्व विभाग भक्तपुरका प्रमुख मोहनसिं लामा बताउँछन् । ‘एक आईएनजीओले सत्तल पुनर्निर्माण गर्ने प्रस्तावसहित एमओयू गरेर धेरै समय ठाउँ ओगटिरह्यो,’ उनले भने, ‘दाता नपाएर बनाउन सकेन ।’


उनका अनुसार चौघेरा सत्तल पुनर्निर्माणका लागि गत जेठमै ठेक्का प्रक्रिया गरिए पनि प्राविधिक कारणले ढिलाइ भएको हो । सत्तलको लागत इस्टमेट २४ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । लामाका अनुसार पुनर्निर्माणका लागि चालु वर्ष ३ करोड रुपैयाँ विनियोजन भएको छ ।


शेषनारायणमा चहलपहल

दक्षिणकाली नगरपालिका–५ मा पर्छ शेषनारायण । आइतबार साँझ वडाध्यक्ष श्यामबहादुर खत्री र पुजारी महेन्द्रराज लामिछाने स्थानीयसँग मिलेर दाउरा संकलन गर्दै थिए ।


एकादशीको साँझ धुनी जगाउने परम्परा छ । सीतापाइलाकी रञ्जन ढुंगाना आइतबारै मन्दिर आइपुगिन् । ‘भोलि भीड बढ्ने भएकाले आजै आएका हौं । चारै नारायण दर्शन गरिसक्यौं,’ उनले भनिन् । शेष नारायणमा पनि पाँचै दिन जात्रा चल्छ । ‘वडाका तर्फबाट सक्दो सहयोग गरेका छौं । रमणीय स्थलमा रहेको धार्मिक सम्पदामा आन्तरिक र बाह्य पर्यटक बढाउन अन्य योजना पनि छन्,’ वडाध्यक्ष खत्रीले भने ।


इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठको भनाइमा हरिबोधिनी एकादशीमा चार नारायणमा चल्ने यो पर्व दुई हजार वर्ष पुरानो मान्न सकिन्छ । उनी भन्छन्, ‘धनबज्र बज्राचार्य, गोपाल राज वंशावली र इचंगुनारायणमा रहेको शिलालेख हेर्दा मानदेव प्रथमभन्दा पनि अघि राजा हरिदत्त वर्माले यो सुरु गरेको देखिन्छ ।’


चार नारायणमध्ये कान्छा हुन्– शेष नारायण । मन्दिरको मास्तिर पहाड बीचबाट काटिएको छ । त्यहीँ गाईको थुनजस्तै गरी ढिस्को झुन्डेको छ । ‘त्यो कामधेनु गाईको हो भन्ने मान्यता छ,’ पुजारी लामिछानेले भने, ‘गाईले सधैं दूध चढाउने उक्त स्थानमा के रहेछ भनेर मान्छेलाई चासो भएछ । मान्छेले कामधेनु भन्ने थाहा पाएपछि उनी त्यहाँबाट निस्किइन् तर थुन त्यहीँ छ ।’ गाईको खुरको चिह्न अझै वाग्मती किनारको पाखाचोकमा देख्न सकिने उनले बताए । गाईले दूध चढाएको स्थानमा नारायणको मूर्ति भेटिएपछि मन्दिर बनाइएको किंवदन्ती पनि उनले सुनाए ।


मन्दिरभित्र हाल ढुंगा छापिएको छ । सत्तल र कुण्डको पुनर्निर्माण २०१५ सालतिर भएको वडाध्यक्ष खत्रीले बताए । दक्षिणकाली प्रबन्ध समितिका पूर्वअध्यक्ष तथा पुजारी शैलेन्द्र श्रेष्ठको भनाइमा मन्दिरको इतिहास यहाँको बस्तीसँगै जोडिन्छ । ‘यो उपत्यकाको जगझैं हो । यहाँ चार गणेश, चार भैरव पनि छन्,’ उनले भने, ‘मन्दिर मल्लकालीन वा लिच्छविकालीन हुन सक्छ । नारायण शेषनागमाथि नै विराजमान हुने भएकाले शेषनारायण नाम रहेको हो ।’


जंगलका बीच रमणीय स्थानमा रहेको मन्दिरको नाममा झन्डै ५० रोपनी जग्गा छ । मन्दिरले चर्चेको क्षेत्रको बीचैबीच सडक बनिसकेको छ । मन्दिरको स्वरूपमा धेरै परिर्तन आइसकेको छ । मन्दिरको मस्तिर गुम्बा छ ।


मन्दिर परिसरमा गणेश, महादेव, हनुमान, गरुड, चामुण्डा भैरवलगायत मूर्ति पनि छन् । परिसरभित्रै वासुकी, सूर्य, सरस्वती र गोसाइँकुण्ड गरी ४ वटा स–साना कुण्ड छन् । तिनमा बाह्रै महिना पानी हुन्छ । मन्दिर परिसरभित्र पद्मसम्भवको गुफा छ ।


त्यसैबाट माथि गोरखनाथको गुफासम्म बाटो लाने प्रयास भइरहेको वडाले जनाएको छ । उपत्यकामा बस्ती बस्नुअगावै फर्पिङमा बस्ती बसिसकेको इतिहासविद् दाबी गर्छन् । फर्पिङलाई मन्दिरैमन्दिरको राज्य भनिन्थ्यो ।


खत्रीले भने, ‘यहाँको हरिशंकर जात्रा पहिले निकै भव्य मनाइन्थ्यो । त्यो राक्षसले चलाएको मान्यता थियो । त्यसैले कसैले प्रत्यक्ष जात्रा हेर्ने हिम्मत गर्दैनथे ।’ यही कारण फर्पिङमा घरको भुइँतलामा आँखीझ्याल बनाउने चलन रहेको उनको भनाइ छ ।


चिटिक्क इचंगु

नागार्जुन नगरपालिकामा पर्छ इचंगुनारायण । एकादशी मेलाका लागि मन्दिर फूलमालाले व्यापक सजाइएको छ । मूलगेटदेखि मन्दिरभित्रैसम्म सरसफाइ गरेर चिटिक्क पारिएको छ ।


एकादशी पूजालाई सम्पूर्ण तयारी भइसकेको मन्दिर संरक्षण समिति अध्यक्ष श्रीलाल श्रेष्ठले बताए । यो यहाँका प्रमुख मेला हो । देशका विभिन्न भागबाट भक्तजन आउँछन् ।


दर्शनार्थीलाई मन्दिर र देउताका फोटोहरू बिक्री वितरण तथा मायाको चिनोस्वरुप दिने समितिको योजना छ । भीडभाड व्यवस्थित गर्न र पूजाआजा सहज बनाउन स्वयंसेवक खटिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिने अध्यक्ष श्रेष्ठले बताए ।


यहाँ कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म मेला लाग्छ । यो अवधिमा सातदेखि आठ लाख भक्तजन आउने गरेका समितिले जनायो । किंवदन्तीअनुसार यहाँको नरायणमूर्ति पुजारीले सपनामा देखेका आधारमा नदीबाट ल्याएर राखिएको हो । गरुडमा आसीन नारायणले चार हातमा शंख, चक्र, गदा र पद्म लिएको मूर्ति छ ।


मेला सकिमली पूर्णेका दिन समापन हुन्छ । उक्त दिन फलफूल र गेडागुडीको मूर्ति बनाइन्छ । एक डेढ घण्टासम्म विशेष भजन गरेपछि सोही गेडागुडी प्रसादका रुपमा बाडिन्छ । इचंगु मन्दिर लिच्छविकालमा राजा हरिदत्त बर्माले बनाएका उल्लेख छ जुन प्यागोडा शैलीमा छ ।


परिसरमा बुद्ध, शिव, पार्वती, गणेश, हनुमान्, भीमसेन र महालक्ष्मीका मूर्ति पनि छन् । मन्दिरअगाडि प्रस्तर खम्बाहरूमा गरुडका मूर्ति छन् ।


लिच्छविकालदेखि पछिल्लो समयका अभिलेख राखिएका छन् । यहाँ कृष्णाष्टमी, रामनवमी र एकादशीहरूमा भक्तजनको घुइँचो लाग्छ । घोडेजात्राका दिन महालक्ष्मी र गणेशको रथयात्रा गरिन्छ, जसलाई स्थानीयले पाहाचरे जात्रा भन्छन् ।

प्रकाशित : मंसिर ३, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?