कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सयमध्ये ९८ घरमा चर्पी : सरकार

चर्पी प्रयोगपछि हात धोए झाडापखालाबाट हुने मृत्यु आधा नियन्त्रण हुन्छ : मन्त्रालय

काठमाडौँ — चर्पी प्रयोग गरेको खण्डमा ५ वर्षमुनिका एक तिहाइ बालबालिकालाई झाडापखालाबाट हुने मृत्युबाट बचाउन सकिने सरकारले बताएको छ ।

सयमध्ये ९८ घरमा चर्पी : सरकार

विश्व चर्पी दिवस २०१८ को अवसरमा खानेपानी मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा चर्पी प्रयोगपछि साबुनपानीले हात धोए मात्रै पनि ५ वर्षमुनिका आधा बालबालिकालाई झाडापाखालका कारण हुने मृत्युबाट बचाउन सकिने उल्लेख छ ।


२०६७ मा मुलुकमा ५ मध्ये २ घरमा मात्र चर्पी थियो । खुला दिसामुक्त क्षेत्र घोषणा भएको थिएन । अहिले एक सय घरमध्ये ९८ मा चर्पी छ । ६० जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भएका छन् । चार जिल्ला घोषणाको प्रक्रियामा छन् । ५ वटा विद्यालय तथा स्वास्थ्य संस्थामध्ये ४ वटामा चर्पी रहेको तथ्यांक छ ।


५ वर्ष अवधिमा ५ वर्षमुनिका बालबालिकामा झाडापखाला प्रकोप १४ प्रतिशतबाट झरेर ८ प्रतिशतमा आइपुगेको छ । खानेपानीमन्त्री विना मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संख्यात्मक रूपमा वार्षिक झाडापखालाबाट मात्रै हुने मृत्यु ६ हजार ९ सय ३१ बाट एक हजार १ सय ७३ मा झरेको तथ्यांक छ ।’


महिनावारीका बेला महिलाले चर्पी प्रयोग नगर्ने वा प्रयोगमा प्रतिबन्ध लगाइने, साना बालबालिकाको दिसा ठूला मानिसको जस्तो हानिकारक नमान्ने र चर्पी भए पनि प्रयोग नगर्ने, साझा चर्पी प्रयोग गर्ने गर्नाले सरसफाइका क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न चुनौती रहेको सरकारको भनाइ छ ।


सेफ्टी ट्यांकी भरिन्छ भनेर बाहिर शौच गर्ने, बिग्रेभत्केमा तुरुन्त मर्मत नगर्ने, चर्पीको निकास खोलामा सिधै विसर्जन गर्ने, सार्वजनिक तथा संस्थागत चर्पीको उचित प्रयोग नगर्ने, चर्पीमा अपांगता र बालमैत्री सुविधा नहुनाले पनि मानिस खुला स्थानमा शौच गर्न जाने गरेको विज्ञप्तिमा छ । ‘यस्ता व्यवहारका कारण खानेपानी र सरसफाइका क्षेत्रमा चुनौती थपिएको छ,’ मन्त्री मगरले भनेकी छन् ।


विज्ञप्तिमा चर्पीलाई सधैं सफा राख्ने, भरिएको चर्पीको मललाई सुरक्षित संकलन, ढुवानी र प्रशोधन गर्न प्रकृति र प्रविधिको तालमेल गरी कार्यान्वयन गर्न अपिल गरिएको छ । चर्पी निर्माण गर्न बाँकी घरधुरी तथा संस्थामा स्थानीय तहको नेतृत्वमा चर्पी निर्माण अभियानलाई तीव्रता दिई जतिसक्दो छिटो खुला दिसामुक्त क्षेत्र घोषणा गर्न/गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित : मंसिर ३, २०७५ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?