परीक्षा नियन्त्रण कार्यालय अब अभिलेखालय

सुदीप कैनी

काठमाडौँ — एसएलसी परीक्षाको ८५ वर्ष लामो इतिहास बोकेको परीक्षा नियन्त्रण कार्यालय अब अभिलेखालयमा सीमित हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय अब अभिलेखालय

नयाँ संरचनाअनुसार कार्यालयलाई राष्ट्रिय परीक्षा बोर्डमा गाभिएपछि शिक्षा मन्त्रालयले अभिलेखालय बनाउने प्रस्ताव अघि बढाएको हो । वि.सं. १९९० सालमा सनद जारी गरेर सरकारले शिक्षा विभागअन्तर्गत पहिलो पटक एसएलसी परीक्षा लिन थालेसँगै कार्यालय स्थापना भएको थियो ।


मन्त्रालयको प्रस्तावमा सामान्य प्रशासन मन्त्रालयले पनि सहमति दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका सचिव पुष्प ढकालले एसएलसी परीक्षाका सबै दस्तावेज अभिलेखालय बनाएर सुरक्षित राखिने बताए ।

शिक्षा क्षेत्रका जिल्लादेखि केन्द्रसम्मका निकायका पुन:संरचना गर्ने क्रममा परीक्षा नियन्त्रण कार्यालय खारेज भएको हो । त्यहाँका दस्तावेजलाई भने अभिलेखालय बनाएर व्यवस्थित गर्न लागिएको हो । नयाँ संरचनाअनुसार कक्षा १० को परीक्षा प्रदेश सरकारले सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।


कक्षा १२ को परीक्षालाई मात्र विद्यालय तहको अन्तिम परीक्षाको मान्यता दिइएको छ । यो राष्ट्रियस्तरको परीक्षा हुनेछ । प्रदेशस्तरमा संरचना बनिनसकेकाले आगामी चैतमा हुने कक्षा १० को एसईई परीक्षाको तयारी राष्ट्रिय परीक्षा बोर्डले नै गरिरहेको छ ।


कार्यालयको दरबन्दीसमेत कटौती गरेर परीक्षाको जिम्मा बोर्डलाई दिइएको हो । कक्षा ११ र १२ सञ्चालनका लागि स्थापित उच्च माध्यमिक शिक्षा परिषद् खारेज गरेर परीक्षा बोर्ड गठन गरिएको थियो ।


पूर्वपरीक्षा नियन्त्रकहरूका अनुसार १९९० कात्तिक १६ गते सरकारले एसएलसी बोर्ड स्थापना गरेकामा पछि परीक्षा नियन्त्रण कार्यालयमा रूपान्तरण भएको थियो ।


शिक्षा सचिव खगराज बरालले दरबार हाईस्कुलका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्न स्थापना गरिएको बोर्ड नै पछि परीक्षा नियन्त्रण कार्यालय बनेको बताए । त्यसअघि नेपाली विद्यार्थीहरूले भारतबाट म्याट्रिक परीक्षा उत्तीर्णको प्रमाणपत्र लिने प्रचलन थियो । नेपालमा पठनपाठन गरेका विद्यार्थी भारतको बनारस, कोलकाता र पटना पुगेर परीक्षामा सहभागी हुने गर्थे ।


एसएलसी बोर्ड स्थापना भएपछि पहिलो पटक ३४ विद्यार्थी सहभागी भएको कार्यालयको दस्तावेजमा भेटिन्छ । दरबार हाईस्कुलका अंग्रेजी विषयका शिक्षक नन्दराम उप्रेती पहिलो परीक्षा नियन्त्रक नियुक्त भएका थिए । २००७ सालपछि मात्र काठमाडौं बाहिर वीरगन्जको त्रिजुद्ध स्कुलमा एसएसली परीक्षा केन्द्र तोकिएको थियो ।


अहिले हरेक वर्ष करिब ५ लाख विद्यार्थी एसएलसीसरहको एसईई परीक्षामा सहभागी हुँदै आएका छन् ।

प्रकाशित : मंसिर ३, २०७५ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?