२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

खुला शौच जाँदा बलात्कार

भूषण यादव

वीरगन्ज — घरमा चर्पी नहुँदा बाहिर शौच गर्न जान परेकैले पर्साका कतिपय महिला बलात्कृत हुने गरेका छन् । खुला स्थानमा शौच बस्ने परम्परा र बाध्यताले उनीहरू यौन हिंसामा पर्दै आएका हुन् ।

खुला शौच जाँदा बलात्कार

प्रहरी तथा सामाजिक संघ/संस्थाको रिपोर्टअनुसार मधेसका विभिन्न क्षेत्रमा भएका बलात्कारका घटना महिला शौचका लागि घरबाहिर जाँदा हुने गरेको देखिन्छ ।


वीरगन्ज महानगरपालिका–१८ भवानीपुरको सौराहा टोल निवासी ३५ वर्षीया महिलालाई कात्तिक ५ गते राति स्थानीय ४ जनाले पालैपालो बलात्कार गरे । घरमा शौचालय नभएकाले सबै सुतिसकेपछि बाहिर शौच गर्न निस्केका बेला झन्डा मेलाबाट फर्किरहेका चार जनाले बलात्कार गरेको उनले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । बलात्कार भए पनि चुपचाप बस्दै आएकी उनी पीडकहरूले भिडियो देखाएर पैसा बार्गेनिङ गर्न थालेकाले स्थानीय सामाजिक कार्यकर्ताको सहयोगमा उजुरी दिन पुगेपछि घटनाको खुलासा भएको हो ।


बलात्कृत भएको थाहा पाए गाउँमा राम्रो नजरले नहेर्ने भएकाले धेरैजसो पीडित महिलाले बलात्कार र यौन दुव्र्यवहारलाई गुपचुपै राख्छन् । घरमा शौचालय नभएकाले दिसापिसाब गर्न राति सबै सुतेपछि वा बिहान सबेरै खेततर्फ जान उनीहरू बाध्य छन् । यस्तो अवस्थामा उनीहरू यौन हिंसामा पर्दै आएको घटनाहरूले देखाउँछन् ।


भिस्वामा २०७२ जेठ १६ गते एकल महिलालाई शौच गर्न जाँदा तीन जना मिलेर जबरजस्ती प्रयास गरे । प्रहरीले एकलाई नियन्त्रणमा लिई मुद्दा चलाएको थियो । त्यही वर्ष माघमा लहावरथकरीकी एक युवती शौच गर्न घरबाट खेततर्फ जाँदा बलात्कृत भइन् । भोलिपल्ट बिहान तीन बजे विक्षिप्त अवस्थामा घर आइन् । उनको बयानका आधारमा प्रहरीले दुई जनामाथि मुद्दा चलाएको थियो ।


सामाजिक परिचालक धर्मेन्द्र चौरसियाले मधेसमा चर्पी नहुँदा महिला असुरक्षित भएको बताए । ‘घरबाहिर शौच जाने क्रममा महिला यौन हिंसामा परेका घटना थुप्रै छन्,’ उनले भने, ‘दिसापिसाबका लागि घरबाहिर जानुपर्ने हुनाले महिला बिहानै निस्कन्छन्, नत्र अबेर राति सबै सुतिसेकपछि ।’

पर्साको मुडली निवासी एक महिलालाई तीन वर्षअघि राति ८ बजे शौच जाने क्रममा स्थानीय दुई पुरुषले जबरजस्ती प्रयास गरेका थिए । उनले होहल्ला गरेपछि ती पुरुष भागेका थिए ।


मधेसका कतिपय शौचालयबारे नै जानकार छैनन् । ‘चर्पी कस्तो हुन्छ, थाहा छैन,’ नगरदाहा पदमौल टोल निवासी नजमा खातुनले भनिन्, ‘बिहान सखारै गाउँभन्दा पर खेततर्फ जान्छौं ।’ टोलमा अधिकांशका घरमा शौचालय छैन । कक्षा ८ सम्म अध्ययन गरेकी खातुनले भनिन्, ‘माइत (भारत विहारको रामगढवा) मा पनि थिएन, यहाँ ससुरालमा पनि छैन ।’


आर्थिक एवं सामाजिक रूपले पछाडि परेका थुप्रै गाउँ छन्, जहाँ शौचालय बन्न सकेको छैन । खानेपानी तथा सरसफाइ कार्यालयका रामहित यादवले भने ९२ प्रतिशत पर्सावासीमा चर्पीको पहुँच रहेको दाबी गरे । राष्ट्रिय सरसफाइ गुरुयोजना २०६८ सुरु भएयता खुला दिसामुक्त क्षेत्र घोषणा अभियानसँगै गाउँमा शौचालय बनाउने क्रम भने बढेको छ ।


गुरुयोजना लागू भएपछि जिल्लाका तत्कालीन ३२ गाविसले एक आर्थिक वर्षको सम्पूर्ण बजेट चर्पी निर्माण र सरसफाइमा खर्चिएका थिए । सरसफाइका कर्मचारीका अनुसार आर्थिक अभावभन्दा पनि चेतनाका कारण मधेसमा चर्पी बन्न सकिरहेको छैन । प्रदेश २ का आठ जिल्लामध्ये अहिलेसम्म सप्तरी र सिरहा मात्र खुला दिसामुक्त घोषित भएका छन् ।

प्रकाशित : मंसिर ४, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?