१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शौचालयहरू हटाएर वडा कार्यालय

काठमाडौँ — उपत्यकाका तीनवटै दरबार क्षेत्र प्रवेश गर्न पर्यटकलाई शुल्क लाग्छ । शौचालय भने छैन । कुनै बन्द छन्, कुनै दुर्गन्धले पस्नै नसकिने । दरबार क्षेत्रका सुरक्षाकर्मी पनि दिउँसोभरि त होटलका शौचालय प्रयोग गर्छन्, राति जाने ठाउँ छैन ।

शौचालयहरू हटाएर वडा कार्यालय

राजधानीका तीनवटै जिल्लाका सार्वजनिक शौचालय अस्तव्यस्त छन् । कतै प्यान नै भरिएका, कतै पानी नभएर शौच गर्नै नमिल्ने । सरकारी कार्यालयमा हाकिमलाई छुट्टै शौचालय छ । कर्मचारी आफूले मात्रै प्रयोग गर्न मिल्ने गरी ताला लगाएर राख्छन् । सर्वसाधारण कहाँ जाने ?


सोमबार विश्व चर्पी दिवस । विश्व स्वास्थ्य संगठनका अनुसार ५० जनाबराबर एउटा शौचालय हुनुपर्छ । हामीसँग भने ५० हजार जनाभन्दा बढीलाई एउटा शौचालय छ । सरसफाइमन्त्रीले प्रत्येक सयमध्ये ९८ घरमा चर्पी भएको तथ्यांक प्रस्तुत गरिन् । घरमा शौचालय नभएकै कारण शौच गर्न बाहिर निस्कँदा महिला बलात्कारमा परेका घटना पनि सार्वजनिक भइरहेका छन् । लीला श्रेष्ठ, प्रशान्त माली शिल्पा कर्णको रिपोर्ट :


सरकारी कार्यालयमै बिजोग

भक्तपुरको महानगरीय प्रहरी प्रभाग दरबार क्षेत्रका सुरक्षाकर्मी शौचका लागि अन्यत्र धाउन बाध्य छन् । दिनरात दरबार स्क्वायर क्षेत्रको सुरक्षामा खटिने उनीहरू शौच गर्न नजिकैको होटलमा जान्छन् ।


प्रभागमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा ३५ जनाको दरबन्दी छ । भूकम्पपछि बस्नका लागि जस्ताको टहरा बनाइए पनि शौचालय छैन । ‘दिउँसो त होटलको शौचालयमा शौच गर्छौं, रातिलाई समस्या छ,’ एक प्रहरी जवानले भने ।


जिल्ला प्रशासनको भुईंतलाका तीन शौचालयमध्ये २ वटामा ताला लगाइएको छ । एउटामा चुकुल लगाउन मिल्दैन । गन्ध बाहिरैसम्म आउँछ । प्यानबाहिरै पिसाब जमेको छ । प्यानमा लेउ लागेको छ । शौच गर्न छिर्दा बाहिर कुरुवा राख्नुपर्छ ।


प्रमुख जिल्ला अधिकारी/सहायक प्रमुख जिल्ला अधिकारीलगायतका छुट्टाछुट्टै शौचालय छन् । कर्मचारीले प्रयोग गर्ने शौचालयमा ताला लगाइन्छ । सेवाग्राही दुर्गन्धित शौचालय प्रयोग गर्न बाध्य छन् । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी जयकुमार घिमिरेले कर्मचारी तथा सेवाग्राहीको शौचालय एउटै भएको र ताला लगाउने नगरेको दाबी गरे ।


जिल्ला समन्वय समितिको भुईंतलामा रहेका दुईमध्ये महिला शौचालयमा सधैं ताला झुन्डिएको हुन्छ । सबैले पुरुष शौचालय नै प्रयोग गर्छन् । त्यसको पनि प्यान जामले भरिएको छ । समिति प्रमुख/उपप्रमुखका लागि भने छुट्टाछुट्टै शौचालय छन् । कार्यालय आउने सेवाग्राहीले शौचका लागि अन्यत्र धाउनुपर्ने बाध्यता छ ।


काठमाडाैैं दरबार क्षेत्रमा पर्यटकका लागि बनाइएको शौचालय । तस्बिर :कान्तिपुर


जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, महानगरीय प्रहरी परिसर, जिल्ला अदालत, जिल्ला बार एसोसिएसन कार्यालय भक्तपुरलगायत मुख्य कार्यालय तथा सम्पदा क्षेत्रमा गतिलो शौचालय नहुनु दुर्भाग्य भएको सेवाग्राही बताउँछन् । ‘हिँडदाहिँडदै शौच लाग्यो भने होटल छिर्नुपर्ने अवस्था छ,’ सूर्यविनायककी विमला तामाङले भनिन् ।


भक्तपुरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा अवलोकनका लागि आउने पर्यटक पनि शौचकै लागि सास्ती खेप्न बाध्य रहेको पर्यटन व्यवसायी बताउँछन् । भक्तपुर घुम्न सार्क राष्ट्रकाले ५ सय र अन्य राष्ट्रका पर्यटकले १५ सय रुपैयाँ प्रवेश शुल्क तिर्छन् । सम्बन्धित निकायले पर्यटकको सुविधाका लागि पर्याप्त शौचालयसमेत व्यवस्था गर्न सकेको छैन । भक्तपुरमा दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक भित्रिन्छन् ।


जिल्लाका पुराना दुई नगर क्षेत्रमा ३६ वटा सार्वजनिक शौचालय रहेको तथ्यांक छ । भक्तपुर नगरपालिकाको विवरणमा सर्वसाधारणका लागि १६ र पर्यटकका लागि ८ शौचालय छन् । पर्यटकका लागि ८ वटा शौचालय निर्माणाधीन रहेको नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले ब्यासीमा ई–शौचालय, वडानम्बर ५ को भगवती मन्दिर परिसर, दरबार स्क्वायर र दत्तात्रय संल्ला गणेशमा पर्यटन सूचना केन्द्रसहितको पर्यटक शौचालय निर्माण गर्न लागेको जनाएको छ । त्यस्तै, भक्तपुर नगरपालिका–१ सिद्धपोखरीमा पर्यटक शौचालय बनाउने तयारी गरेको छ ।


‘नगरभित्र पर्याप्त शौचालय छन्, पानी अभाव हुँदाहुँदै पनि नगरपालिकाले व्यवस्थापन गरेको छ,’ भक्तपुर नगरपालिका स्यानिटेसन शाखा प्रमुख दिलीप सुवालले भने, ‘नगरभित्र ५ वटा पर्यटक शौचालय निर्माणाधीन छन् ।’ नगरको साबिक ६, ९, १०, ११ र १५ वडाका शौचालय हटाएर वडा कार्यालय स्थापना गरिएको छ । तुछीभला–५ मा सार्वजनिक शौचालय मासेर पुस्तकालय बनाइएको स्थानीयवासी बताउँछन् ।


मध्यपुर थिमिको शौचालयको अवस्था पनि उस्तै छ । नगरपालिकाले भएको सार्वजनिक शौचालयसमेत व्यवस्थापन गर्न सकेको छैन । सार्वजनिक शौचालय व्यवस्थापनका लागि समुदाय र निजी क्षेत्रबाट व्यवस्थापन गर्ने भने पनि प्रभावकारी काम हुन सकेको छैन ।


मध्यपुर थिमि नगरपालिकाको तथ्यांकमा १३ सार्वजनिक शौचालय छन् तर कतिपय शौचालय प्रयोगविहीन छन् । ‘खुला दिसामुक्त जिल्ला घोषणा हुँदा ७ शौचालय मर्मत गरिएका थिए,’ मध्यपुर थिमी नगरपालिकाका सामुदायिक विकास अधिकृत तुल्सीभक्त तकोले भने, ‘९ शौचालय नियमित छन्, बाँकीलाई संरक्षण गर्न सकिएको छैन ।’ पानी अभावले संरक्षण गर्न नसकिएको उनी बताउँछन् ।


त्यसैगरी, प्राचीन सम्पदा चाँगुनारायण मन्दिर अवलोकनका लागि दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । भूकम्पका कारण क्षतिग्रस्त मन्दिर जीर्णोद्धार भयो । मन्दिर परिसरको चौघेरा सत्तल अझै भग्नावशेष अवस्थामा छ । मन्दिर क्षेत्रमा सार्वजनिक शौचालय छ । चुकुल बिग्रिएको शौचालयमा शौच जाँदा बाहिर कुरुवा राख्नुपर्छ । शौचालयमा पानी अभाव छ ।


पर्यटकको मुख्य गन्तव्य नगरकोटमा सार्वजनिक शौचालय छैन । नगरकोट घुम्न आउने पर्यटकका लागि नगरकोट नाल्दुम विकास समितिले कार्यालयकै शौचालय प्रयोग गराउने गरेको समितिका सचिव धनबहादुर लामाले बताए ।


नगरपालिकाले नगरकोट आउने पर्यटकसँग प्रवेश शुल्क लिने गरेको छ तर पर्यटकका लागि बसपार्क, शौचालयलगायत आधारभूत सेवा–सुविधासमेत व्यवस्था गर्न नसकेको उनी बताउँछन् ।


जिल्लामा इँटाभट्टा सञ्चालनको मौसम सुरु भयो । रोल्पा, रुकुम, दाङ, रामेछाप, सिन्धुपाल्चोकलगायत उपत्यकाबाहिरका मजदुर इँटाभट्टामा काम गर्न आइसके । मजदुर झयाउली (छाप्रो) मा बसोबास गर्छन् । इँटाभट्टामा शौचालयको सुविधा भने छैन ।


केहीले खाल्डो खनेर अस्थायी शौचालय बनाए पनि अधिकांशले खुला शौच गर्ने गरेका छन् । जिल्ला खुला दिसामुक्त घोषणा भई पूर्ण सरसफाइको चरणमा छ तर इँटाभट्टामा शौचालय नहुँदा पूर्ण सरसफाइ कार्यक्रम प्रभावित हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट बताउँछन् । भक्तपुरमा ६२ इँटाभट्टा सञ्चालित छन् ।


सार्वजनिकको हालत उस्तै

पाटनका सूर्य ताम्राकारको घर मंगलबजारस्थित सार्वजनिक शौचालयको दक्षिणपट्टि पर्छ । शौचालयको दुर्गन्ध उनको घरसम्म फैलिने गरेको छ । भन्छन्, ‘यो पीडा १० वर्षदेखि सहँदै आएको छु ।’ जापान सरकारले बनाइदिएको यो शौचालय दुईतले छ ।


तल्लो तलामा सर्वसाधारण र माथिल्लो तलामा विदेशी पर्यटकका लागि शौचालय बनाइएको थियो । हाल सर्वसाधारणका लागि मात्र सञ्चालित शौचालय अस्तव्यस्त हुँदा उनी मात्र नभई मंगलबजार क्षेत्रका होटल व्यवसायी पनि दुर्गन्ध सहन बाध्य छन् ।


पाटन घुम्न आउने आन्तरिक तथा बाहय पर्यटकको भीड बढदो छ । उनीहरू होटल–रेस्टुरेन्टको शौचालय खोज्दै दौडन बाध्य छन् । शौचालय सञ्चालन ठेक्का पाएका पाटन टयागलका सन्तोष देउला सोमबार पानी तान्दै गरेको अवस्थामा भेटिए । भन्छन्, ‘पानी जति भयो, शौचालय त्यति सफा हुन्छ तर पानी टयांकी फुटेको वर्षौं बितिसक्यो । महानगरले बनाउन चासो दिएको छैन ।’


उनका अनुसार भूकम्पले अन्डरग्राउन्ड टयांकी खलबलिएर चुहिएको छ । ‘पानी राख्न समस्या छ । तीन वर्ष अघिसम्म महानगरले पानी दिन्थ्यो । अहिले त्यो पनि छैन,’ उनले भने, ‘तर मासिक ४२ हजार शुल्क बुझाउनुपर्छ ।’


पाटन संग्रहालयको शौचालय पनि लथालिंग छ । केशवनारायण चोकको उत्तरपट्टिको शौचालय बन्द छ । नासलचोकको शौचालयमा पानी छैन । पुरात्तत्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भवनको शौचालयको ढोकामा महिला र पुरुष लेखिएको प्लेटसमेत छैन । भन्डारखाल बगैंचामा जस्तापाताको टहरालाई शौचालय बनाइएको छ । पाटन संग्रहालय अधिकृत सुरेश लाखे भण्डारखाल बगैंचामा आधुनिक शौचालय बनाउने योजनामा रहेको दाबी गर्छन् ।


ललितपुरको मुख्य व्यापारिक केन्द्र लगनखेल बसपार्कको शौचालयको दुर्गन्धले सर्वसाधारण सास्ती भोगिरहेका छन् । पर्याप्त पानी नभएकाले शौच गर्न अप्ठयारो पर्ने गरेको र शौचालयभित्र चुरोटको धूवाँले सास फेर्नै गाह्रो हुने गरेको सर्वसाधारणको गुनासो छ ।


यी दुई शौचालय ललितपुर महानगर १२ मा पर्छन् । महानगर १२ का वडाध्यक्ष नारायण अवालेले मंगलबजारको शौचालय सुधार गर्न बजेट व्यवस्थापन भइसकेको दाबी गरे । ‘लगनखेलको बुद्धि विकास मण्डलअन्तर्गत सञ्चालित भएकाले त्यसमा सुधार गर्न अलि समय लाग्नेछ,’ उनले भने ।


जावलाखेलस्थित शौचालयको ६ वटा कोठाको ढोका बिग्रेको छ । हात धुन साबुनको व्यवस्था छैन । दुर्गन्धले नाक थुन्नुपर्ने बाध्यता छ । अपांग र महिलामैत्री पनि छैन । शौचालय सञ्चालक दिलीप देउलाले शौचालय गतिलो नभएकाले शौच गर्नेसँग शुल्क लिन झगडा गर्नुपरेको बताए ।


‘भूकम्पले कोठा भासिएको छ । मर्मत गर्न महानगरलाई पटक–पटक जानकारी गराइसकेका छौं । नमानेर रातो मत्स्येन्द्रनाथको भोटो जात्राका लागि आफैंले मर्मत गरें,’ उनले भने, ‘२०/२५ वर्षका लागि ठेक्का दिएमा आधुनिक शौच केन्द्र बनाउने योजना छ ।’ उनीसँग महानगरले मासिक ६ हजार रुपैयाँ लिने गरेको छ ।


शौचालय एक रोपनी क्षेत्रफलमा फैलिएको छ । ललितपुर महानगर ४ का वडाध्यक्ष नारायण केसीले शौचालय बनाउन नगर परिषदबाट पारित भइसकेको बताए । ‘नगर विकास कोष बबरमहलमा पनि पत्राचार गरेका छौं,’ उनले भने । पाटनढोका र सस्तो बजारस्थित शौचालयको अवस्था पनि दयनीय छ ।


पाटनढोकाको शौचालयमा पानी नभएकाले जाम छ । शौच गर्न खुट्टा टेक्ने ठाउँ छैन । ढोकामा चुकुल बिग्रेको छ । प्यान फुटेपछि सिमेन्ट राखेर बनाइएको छ । सञ्चालिका शान्ति थापामगरले शौचालय मर्मत गरेर नहुने बताइन् । ‘भत्काएर पूरै बनाउनुपर्छ,’ उनले भनिन् ।


ललितपुर महानगर–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले शौचालय बनाउने योजना कार्यपालिका बैठकमा पेस गर्न मात्रै बाँकी रहेको बताए । ‘सार्वजनिक निजी साझेदारीमा बनाउने योजना छ,’ उनले भने ।


पर्यटकमैत्री शौचालय छैनन्

राजधानीमा दिसापिसाब गर्नुपरे कि चिया खाने बहानाले होटेलमा छिर्नुपर्छ कि सपिङ मलको शौचालय प्रयोग गर्नुपर्छ । ठाउँठाउँमा रहेका सरकारी कार्यालय छिर्नुपर्ने बाध्यता पनि उस्तै छ । मुख्य सहरी क्षेत्र वरपर शौचालयको संख्या त नगण्यै छ ।


पाटन दरबार स्क्वायरमै रहेको स्मारिकामा पर्यटकले लेखेको शौचालय अभावको गुनासो । तस्बिर : कान्तिपुर


विश्वसम्पदा सूचीमा सूचीकृत राजधानीका सम्पदा पशुपतिनाथ र वसन्तपुरस्थित दरबार स्क्वायर अवलोकनका लागि आउने पर्यटक शौचालयको अवस्थाले बिच्किने गाइडहरूको भनाइ छ । यसैगरी स्वयम्भूनाथमा पनि पर्यटक लक्षित शौचालय छैनन् ।


वसन्तपुरमा बर्सेनि दुईदेखि अढाइ लाख पर्यटक आउने गरेको काठमाडौं महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको तथ्यांक छ । विदेशी पर्यटकबाट प्रतिव्यक्ति १ हजार रुपैयाँ टिकट लिइन्छ । ‘तर त्यसअनुसारको सुविधा छैन । २०५८ सालमा शुल्क उठाउन सुरु गरेसँगै गाइड र स्थानीयले सफा र पर्यटकमैत्री शौचालयको कुरा उठाएका हुन्,’ स्थानीय गणपतिलाल श्रेष्ठ भन्छन्, ‘तर अहिले २५ वर्षपछि पनि सम्बद्ध निकायले चासो दिएका छैनन् । पर्यटक मात्र होइन, त्यहाँ व्यापार गर्ने र घुम्न आउने नेपालीलाई पनि गाह्रो छ ।’


पर्यटकलाई प्रवेश शुल्क बढाउने तर यतिका वर्ष सम्बन्धित निकायले ‘नयाँ बनाउने योजना छ, प्रक्रिया चल्दै छ’ भनेर अल्झाएको स्थानीयवासीको आरोप छ । अपांगता भएका र अशक्त व्यक्तिलाई उक्त क्षेत्रमा घुम्न आए छिर्न सक्ने शौचालय नै छैन । केही दिनअघि साइट अफिसस्थित शौचालयको तस्बिर फेसबुकमा भाइरल भएदेखि केही सफा राख्न थालिएको स्थानीय बताउँछन् । नत्र एक मात्र शौचालयको हालत निकै खराब थियो ।


संरक्षण कार्यक्रमले दरबार क्षेत्रभित्र दुई वटा पर्यटक शौचालय भएको दाबी गरेको छ । एउटा हनुमानढोका संग्रहालयभित्र छ । ‘साइट अफिस’ नजिकैको सर्वसाधारणका लागि र पर्यटकका लागि भनेर बेग्लाबेग्लै शौचालय छन् । सर्वसाधारण जाने शौचालय बाहिरबाटै गन्हाउँछ भने पर्यटक शौचालयको महिला र पुरुष दुवै ढोकामा ताल्चा झुन्डिएको हुन्छ ।


कर्मचारी र नगर प्रहरीले जानुपरे साँचो लिएर खोल्छन् र फेरि बन्द गर्दिन्छन् । विदेशी पर्यटकले साँचो मागेर सजिलै शौचालय प्रयोग गर्ने गरेको संरक्षण कार्यक्रमकी सबइन्जिनियर बिन्दिया कार्कीको भनाइ छ । ‘पर्यटक घुम्न आएपछि साइट अफिस छिर्नैपर्ने हुन्छ । त्यहीँ शौचालय भएकाले ताल्चा खोलेर प्रयोग गर्छन् । शौचालय सफा रहोस् भनेर त्यसो गरिएको हो,’ कार्कीले भनिन् ।


संरक्षण कार्यक्रमले जनाएअनुसार भूकम्पअघि केही महिना त्यहाँ मोबाइल शौचालय पनि राखिएको थियो तर सम्पदास्थलमा त्यो नसुहाउँदो भएकाले हटाइयो । पर्यटकलाई शौचालय पर्याप्त नभएको महानगरका कर्मचारी स्विकार्छन् । नयाँ बनाउनेबारे छलफल चलिरहेको कार्कीले जानकारी दिइन् । सम्पदा क्षेत्र भएकाले जहीँतहीँ निर्माणकार्य गर्न नमिल्ने, कोर बस्ती भएकाले बनाउने ठाउँ अभावजस्ता कारणले केही ढिला भएको उनको भनाइ छ ।


नजिकै रहेका १९, २०, २३ र २४ नं. वडा कार्यालय वरपर र हनुमानढोकाको डीएसपी कार्यालयमा ठाउँ चयन गरिए पनि औपचारिक निर्णय हुन सकेको छैन । कार्यक्रम प्रमुख उदय पसखल चाँडै ठोस निर्णय गरी पर्यटकमैत्री शौचालय निर्माण गरिने बताउँछन् । उनले वडा कार्यालय साँघुरो भएकाले शौचालय बनाउने स्थान अभाव भएको बताए ।


शौचालय सरसफाइ सम्बन्धमा पर्यटकले यस्तै गुनासो गर्ने गरेको पशुपतिनाथ क्षेत्रमा कार्यरत गाइड बताउँछन् । गाइड एसोसिएसन अफ पशुपतिनाथका अध्यक्ष सुनील थापाका भनाइमा पर्यटकको पहिलो गुनासो नै सरसफाइ र शौचालयका विषयमा हुन्छ । उनी भन्छन्, ‘यहाँभित्र पस्न विदेशीलाई टिकटस्वरूप १ हजार रुपैयाँ लिइन्छ । त्यसअनुसारको सरसफाइ र सेवासुविधा दिन पशुपति विकास कोष अक्षम देखिन्छ ।’


पर्यटकले प्रयोग गर्ने शौचालय निकै सफा र राम्रो हुनुपर्ने भए पनि परिसरभित्र त्यस्तो शौचालय छैन । सामान्यत: आन्तरिक र विदेशी पर्यटक गरी दैनिक १० देखि १५ हजार दर्शनार्थी पशुपतिनाथ पुग्छन् तर शौचालयको अवस्थितिबारे अनविज्ञ हुन्छन् भने स्थिति देख्दा फेरि पस्न नपरोस् भन्ने हुन्छ ।


पशुपतिनाथ परिसरमा भएको एउटा ‘पर्यटक शौचालय’ लेखिएको शौचालय पनि नामका लागि मात्र रहेको गाइडहरूको भनाइ छ । गाइड विकास गन्धर्व पर्यटकले खोजेजस्तो सफा र राम्रो शौचालय मन्दिर परिसरभित्र नरहेको उनले बताए ।


राम मन्दिर नजिकै पर्यटक लेखिएको शौचालयको वास बेसिन फुटेको छ, पानी पनि आउँदैन । आवश्यक पानी न भित्र छ न त बाहिरै । गन्धर्व भन्छन्, ‘यसले पर्यटक फेरि नेपाल घुम्न हिच्किचाउँछन् । कम्तीमा पैसा तिरिसकेपछि विकास कोषले त्यसअनुसारको सुविधा दिन सक्नुपर्‍यो ।’


स्वयम्भूनाथ पनि काठमाडौं जिल्लाको पर्यटकीय आकर्षणको केन्द्रमध्ये एक हो तर यहाँ शौचालयको संख्या र सरसफाइ अवस्था सन्तोषजनक नभएको जनप्रतिनिधि स्विकार्छन् । वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलका अनुसार पर्यटक बस रोक्ने स्थानमा एउटा र टिकट काटिसकेपछि माथि जाने बाटामा गरी जम्मा दुईवटा शौचालय पर्यटकका लागि निर्माण गरिएका छन् ।


‘पर्यटकलाई हुने जत्तिको सफा र राम्रो त छैन । सरसफाइ पनि पर्याप्त नभएकै हो,’ वडाध्यक्ष डंगोलले भने, ‘अहिले पुनर्निर्माण क्रममा छौं । यसैबेला केही शौचालय थप्ने विषयमा छलफल हुँदै छ । पुरातत्त्व विभागसँगको समन्वयमा सर्भे गरिरहेका छौं ।’ वडाध्यक्षको संयोजकत्वमा गठित स्वयम्भू पुनर्निर्माण सहयोग समितिले निर्माणकार्य चाँडै अघि बढाउने उनले दाबी गरे ।

प्रकाशित : मंसिर ४, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?