१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बसको ठक्करबाट मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा दुई दिन देखि अवरोध  

कमल पन्थी

बर्दिया — बसको ठक्करबाट बालिकाको मृत्यु भएको घटनालाई लिएर बर्दियामा सोमबारदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ । दुई दिनयताको अवरोधका कारण सयौं सवारी साधन अलपत्र परेका छन् । 

सोमबार राति दश घण्टादेखिको अवरोध खुलाउन प्रहरीले मध्यरातमा लाठीचार्ज गरेको थियो । मंगलबार बिहानदेखि स्थानीयले फेरि राजमार्ग अवरुद्ध पारेका छन् । लाठीचार्जमा दुई प्रहरीसहित केही यात्रु समेत घाइते भएको प्रहरीले जनाएको छ ।


राजमार्ग अवरोध हटाएर राति अलपत्र परेका केही सवारी साधन गन्तव्यतर्फ गएपनि मंगलबार बिहानै देखि गाँउगाउ‘बाट आएर स्थानीयहरु राजमार्गमा धर्ना बसेका छन् । अधिकांश महिला र वालवालिका सडकमा सुतेर प्रदर्शन गरेको स्थानीय सुधिप अधिकारीले बताए । राति सवारी साधन अवरोध हटेपनि बिहानबाट राजमार्ग ठप्प भएको छ ।


कालिकोटबाट कैलालीको टिकापुरतर्फ गइरहेको ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट ठाकुरबाबा नगरपालिका—२ रानीपुरमा सोमबार एक किशोरीको मृत्यु भएको थियो । बसको ठक्करले १४ वर्षीया निर्मला चौधरीको घटनास्थलमै मृत्यु भएपछि स्थानीय र पीडित परिवारले चक्काजाम गरेका थिए ।


बिहान करिब ८ बजे चौधरीको मृत्यु भएपछि दोषी माथि कारवाही र २० लाख क्षतिपूर्ति दिनुपर्ने माग राख्दै चक्काजाम गरेका हुन् ।


क्षतिपुर्तीको सम्बन्धमा छलफल गर्न सुदूरपश्चिम यातायात समितिका पदाधिकारी नआएपछि स्थानीय र पीडित परिवार आक्रोशित भएका थिए । बेलुकी केही बेर चक्काजाम खोलिएपनि सरोकारवालाले वास्ता नगरेका भन्दै स्थानीयले फेरि बन्द गरेका हुन । दिनभर बालिकाको शव सडकमा राखेर विरोध प्रदर्शन गरिएको थियो ।

राति स्थानीयले सडक अवरोध नखोलेपछि विचल्लीमा परेका यात्रुलाई सकुशल गन्तव्यतर्फ पुराउन प्रहरीले सामान्य बल प्रयोग गरेको प्रमुख जिल्ला अधिकारीले रामबहादुर कुरुम्बाङ्गले बताए ।


घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सदरमुकाम गुलरियाबाट प्रजिअ कुरुम्बाङ्ग, प्रहरी उपरीक्षक सुरेन्द्र मैनाली, सशस्त्र प्रहरी उपरीक्षक कृष्ण कोइरालासहित घटनास्थलमा गएका छन् ।


ठाकुरबाबा—६ बकुवाकी १४ वर्षीया चौधरी भुरीगाउ‘स्थित भेरी शिक्षालयमा कक्षा ९ मा अध्धयनरत थिइन् ।


प्रहरीले बस र चालक कैलाली चुरे गाउ‘पालिका—१ का २५ वर्षीय प्रकाश सिंहलाई नियन्त्रणमा लिएको छ । घटनास्थल गुलरियाबाट करिब ४५ किलोमिटर पश्चिम उत्तरमा पर्दछ ।

प्रकाशित : मंसिर ४, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?