स्वतन्त्र र स्वायत्त संस्थामाथि हस्तक्षेप जारी राखे आन्दोलन गर्ने चेतावनी

तीन कोइराला मिल्नु पार्टीका लागि राम्रो
देवनारायण साह

मोरङ — कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले स्वतन्त्र र स्वायत्त संस्थाहरूमाथिको हस्तक्षेप जारी राखे नेपाली कांग्रेसले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

स्वतन्त्र र स्वायत्त संस्थामाथि हस्तक्षेप जारी राखे आन्दोलन गर्ने चेतावनी

कांग्रेस राजनीतिक प्रस्ताव मस्यौदा समितिले मंगलबार विराटनगरमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा उनले कम्युनिष्ट पार्टीको सरकार देश कब्जा गर्ने बाटोमा अग्रसर रहेको तर्क गरे । प्रधानमन्त्री केपी ओलीले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर सबैलाई तर्साउन खोजेकाले यसको विरोधमा उत्रिने उनले बताए ।


‘अहिलेका सरकारले केही समयअघि न्यायालयमा हस्तक्षेप गर्‍यो र अहिले प्रहरी,सेना लगायतका स्वतन्त्र निकायमा हस्तक्षेप गरेर मुलुकमा नाम मात्रको निर्वाचन हुने परिस्थिती निमार्ण गर्दैछ,’ देउवाले भने,‘सरकारको रबैया नसुध्रिए आन्दोलन गरेर कम्युनिष्टबाट मुलुकलाई मुक्त गर्नुपर्ने अवस्था आउँछ ।’


निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेका सरकारबाट जनताले आश मारिसकेको उनले सुनाए । निर्मलाको हत्यारा नभेटेको नभई सरकारले पक्राउ गरेर कारबाही गर्न नचाहेको उनको आरोप छ ।


‘घात अन्तरघातले निर्वाचनमा पार्टी पराजित भयो,’ देउवाले भने, ‘अनुशासन नभएको पार्टी हुनै नसक्ने भएकोले अन्तरघातीलाई कारबाही गरेर अन्तरघातमुक्त पार्टी बनाउँछौं ।’ गुट उपगुट समाप्त गरेर अब सबै मिलेर पार्टी एक ढिका बनाउनुको विकल्प नभएको उनको भनाई थियो ।


‘विराटनगरमा कोइराला परिवारका तीन नेता मिल्नु पार्टीका लागि राम्रो भयो,’उनले भने,‘अब पार्टीमा पनि सबै मिलेर एक ढिका भई अघि बढनु पर्छ ।’

देउवाले पार्टी सञ्चालन चुनौतिपूर्ण भएको बताए । ‘पार्टीभित्र सबैलाई मिलाउँदा मिलाउँदै हालत खराब भइसक्यो,’उनले भने,‘पार्टीमा सबैको कुरो सुन्दासुन्दै हालत खराब भएको छ, झगडा सबैको घरमा छ हाम्रो पार्टीमा पनि छ । अब कोइरालाको घरको झगडा समाप्त भएकोले पार्टीभित्र पनि समाप्त हुन्छ ।’


कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सरकारले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको र यसले मुलुक असफल राष्ट्र हुने त होइन भन्ने डर लागेको बताए ।


नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनका लागि सुझाव संकलन गर्न एक नम्बर प्रदेशका जिल्ला सभापति,क्षेत्रीय सभापति, महासमिति सदस्यहरू र जनप्रतिनिधिहरू विराटनगरमा भेला भएका छन् ।


संघीयताको नकारात्मक कुरा बाहिर आएकाले यो ठीक हो या बेठीक हो, यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा समेत छलपल हुने कांग्रेस केन्द्रिय सदस्य श्याम घिमिरेले बताए ।


यसका अतिरिक्त अन्य राजनीतिक दलहरूप्रति कांग्रेसको धारणा के हुने ?, भातृ र सुभेच्छुक संस्था कस्ता हुने ?, तिनीहरूको मर्यादा र जिम्मेवार के हुने ?, वर्तमान सरकारप्रति कांग्रेसको दृष्टिकोण, कार्यक्षेत्रमा रहेका राजनीतिक समस्या, नेपाली कांग्रेसले अब लिनुपर्ने राजनीतिक र आर्थिक बाटो, विदेशमा बस्नेको मताधिकार, द्वैध नागरिकता, कांग्रेसको परराष्ट्र नीति, नयाँ पुस्तालाई कसरी कांग्रेसमा आकर्षित गर्ने लगायत १२ वटा विषयमा छलफल हुने उनले बताए ।

प्रकाशित : मंसिर ४, २०७५ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?