२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

दुवै छोराको दुवै किड्नी फेल

विद्या राई

काठमाडौँ — बसन्तपुरमा नरदेवी आयुर्वेदिक अस्पतालको अघिल्लो पट्टि कुचुक्कको गल्ली छ । गल्ली हुँदै गेट कटेर भित्र छिरेपछि पुरानो देखिने घरको दोस्रो तल्ला । दुईवटा साघुँरा कोठा छन् । एउटामा भान्साकोठा । अर्को सुत्नेकोठा ।

दुवै छोराको दुवै किड्नी फेल

त्यहि कोठामा ट्याक्सी चालक गोविन्द ठकुरीको परिवारले छट्पटाउँदै रात कटाउँछन् । पाँचजनाको परिवारलाई दिन काट्न पनि सहज त कहाँ छ र ? ठकुरी दम्पतीका तीन छोरामध्ये दुईको किड्नी फेल भएकाले रात र दिन उस्तै भएको हो ।

आर्थिक अवस्था नाजुक भएकाले राम्रो उपचार गर्न सकेका छैनन् । ‘कुन छोरालाई कतिबेला बिरामले च्याप्ने हो र अस्पताल कुदाई हाल्नुपर्ने हो तयारी भएर बस्नुपर्छ,’ आमाले दु:ख पोखिन् ।


सुरुमा माइलो छोरो सुमनलाई किड्नी समस्या देखिएको थियो एक दशक अघि । उनी त्यसबेला १८ वर्षका थिए । हेर्दा स्वस्थ र हट्टाकट्टा देखिन्थे । अचानक आँखा दुख्ने समस्या भयो । स्वास्थ्यमा असहजता उत्पन्न भयो । उपचारका लागि पाटन अस्पताल गए । डाक्टरले आँखामा समस्या नदेखिएको बताए ।

एकहप्तासम्म निरन्तर चेकजाँच पछि किड्नीमा समस्या भएको पत्ता लाग्यो । डाक्टरले किड्नी उपचार गर्ने अस्पतालमा जान सुझाए । गोंगबुस्थित नेसनल डाइलासिस सेन्टरमा गए । डाक्टरले औषधी लेखिदिए । उनले औषधी खान थालेको पनि एक दशक पुग्यो । बिशेक हुनुको साटो झन् बल्झिएको छ । मुख र आँखा सुन्निएका छन् । रगतको कमीले अनुहार सेतो पहेलो भइसकेको छ । हप्तैपिच्छे डाइलासिस र औषधी लिन्छन् ।


जेठो छोरो ३२ वर्षका भए । आठ महिना भयो उनमा पनि किड्नीको समस्या देखिएको छ । उनलाई पनि अनुहार, आँखा र मुखमा सुमनकोजस्तै समस्या छ । खाना खान सक्दैनन् । वाकवाकी लाग्छ । मानसिक असन्तुलन भएजस्तै भएका छन् । हुलमुलमा झेमिन सक्दैनन् ।


दुवै भाईलाई हप्तैपिच्छे डाइलासिस गराउनुपर्छ । उनीहरुको अवस्था नाजुक बन्दै गएकाले डाक्टरले किड्नी फेर्नका लागि सुझाएका छन् । आर्थिक हैसियत नै कमजोर भएपछि किड्नी फेर्ने कुरा उनीहरुका लागि कल्पना बाहिर भएको छ । गोविन्द ट्याक्सी चलाएर महिनामा २० हजार कमाउँछन् ।


खर्च दोब्बर बढी छ । भाडामा लिएका दुईवटा कोठाको भाडा आठ हजार छ । छोराहरुको उपचारका लागि चलाउदै गरेको ट्क्यासी फाइनान्समा धितो राखेर ६ लाख ऋण लिएका थिए । त्यसको ब्याज महिनैपिच्छे १२ हजार तिर्नुपर्छ । दुवैको किड्नी फेर्न ४५ लाख जति खर्चनुपर्ने डाक्टरले भनेका छन् ।

यो सुनेर सपनामा समेत छट्पटाउन थालेका गोविन्द सुस्केरा हाल्दै भन्छन्, ‘यो भन्दा ठूलो बज्रपात के नै हुनसक्ला र ? पैसा छैन, तै पनि छोराहरुलाई बचाउने रहर छ, के गर्ने, कसो गर्ने, बढो समस्या आइलागेको छ ।’ सुमन पनि दुवै दाजुभाईलाई बाँच्ने चाहाना भएको रहर व्यक्त गर्छन् । ‘आमाबुवा पाल्नुपर्ने उमेरमा आफै पालिएर बस्न बाध्य छौँ, सहयोग पाए नयाँ जिवन पाउने आशा छ,’ उनले भने ।


काभ्रे मण्डन देउपुर पुख्र्यौली थलो भएका गोविन्दले ४० वर्षअघि नै गाउँ छाडेका थिए । गरिबी, अशिक्षा र चेतना अभावकै कारण दु:खजिलो गर्न काठमाडौं आएका थिए । ज्याला मजदुरी गर्दै जिविका चलाउथे । यत्तिकैमा दोलखाकी संगिता ठकुरीसँग प्रेम बस्यो । घरजम गरेर बस्न थाले । तीन छोरा जन्मिए ।

ट्याक्सी चलाएर जीविका धान्दै आएको १५ वर्ष भयो । पत्नी परिवारको खानपान र स्यासुसारमा व्यस्त हुन्छिन् । गोविन्द ६० वर्ष पुगे । संगिता ५६ वर्ष पुगिन् । बुढेसकालले छोएपनि बिरामी छोराहरुलाई बालखैको भन्दा निक्कै स्याहार पुर्‍याउनुपर्छ उनीहरुले । २६ वर्षका कान्छो छोरा औषधीलाइनमा गर्छन् ।


प्रकाशित : मंसिर ४, २०७५ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?