कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

समाज कल्याणको कार्यालय विवाद मिल्यो, दुई वर्षभित्रै नयाँ भवन

काठमाडौँ — सरकारले समाज कल्याण परिषद्लाई दुई वर्षभित्र उसकै जग्गामा ५० कोठे भवन बनाइदिने लिखित प्रतिबद्धता गरेको छ । यससँगै परिषद् कर्मचारीले आन्दोलन फिर्ता लिएका छन् । भदौ २१ को मन्त्रिपरिषद् बैठकले परिषदको लैनचौरस्थित भवनमा उपराष्ट्रपति कार्यालय र निवास सार्ने निर्णय गरेपछि पदाधिकारी र कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।

समाज कल्याणको कार्यालय विवाद मिल्यो, दुई वर्षभित्रै नयाँ भवन

सरकारका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बुधबार परिषदका पदाधिकारीसित दुई वर्षभित्र नयाँ भवन बनाइदिने लिखित सहमति गरेकी हुन् ।


सहमतिपछि आन्दोलन फिर्ता लिइएको परिषद् उपाध्यक्ष नीलमणि बरालले जानकारी दिए । ‘आफ्नो भवन छाड्नुपरेपछि परिषद् सधैं अर्काको भवनमा बस्नुपर्ने हो कि भन्ने चिन्ता थियो, त्यसकारण विकल्प नदिई छाड्न हुन्न भन्ने हामी पदाधिकारी र सबै कर्मचारीको अडान थियो,’ उनले भने, ‘अब महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नै पहल गरेर अर्थ मन्त्रालयमार्फत भवन निर्माणका लागि बजेट व्यवस्था गरिदिन्छ र सहरी विकास मन्त्रालयले भवन बनाइदिन्छ ।’

बरालका अनुसार परिषदको कार्यालय तत्कालका लागि पुल्चोकस्थित केन्द्रीय बालकल्याण समितिको भवनमा सारिनेछ । ‘पुल्चोकमा समितिको चारतले नयाँ भवन छ, परिषदको आवश्यकताअनुसार भवनमा कोठाहरूको इन्टेरियर मिलाउने सहमतिसमेत भएको छ,’ बरालले भने, ‘त्यहाँ समितिको दुईतले पुरानो भवन पनि छ ।’


यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारी, गृहसचिव प्रेमकुमार राई, सहरी विकास सचिव रमेशप्रसाद सिंह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सचिव बुद्धिबहादुर खडका र पदाधिकारीबीच बालकल्याण समितिको भवनमा परिषद् कार्यालय सार्ने सहमति भएको थियो । परिषदका कर्मचारीले भने आफ्नो छुट्टै भवन बन्ने ग्यारेन्टी नभएसम्म कार्यालय सार्न नहुने माग राखेका थिए ।

प्रकाशित : मंसिर ४, २०७५ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?