ललितपुर मेयर ११ औं पटक विदेश

प्रशान्त माली

ललितपुर — ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन फेरि विदेश भ्रमणमा निस्केका छन् । महानगरका अनुसार सोमबार ६ दिने भ्रमणका लागि भियतना उडेका हुन् । उनको यो १० औ पटक विदेश भ्रमण हो । मेयर महर्जन मुलुकभरका स्थानीय तहका पदाधिकारीमध्ये सबभन्दा बढी विदेश भ्रमणमा जाने सुचीमा छन् ।

ललितपुर मेयर ११ औं पटक विदेश

यसअघि उनी जापान, कोरिया, श्रीलंका, थाइल्यान्ड, म्यान्मार, चीन पुगिसकेका छन् । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ पनि विदेशमा छ । महालक्ष्मी नगरका अनुसार उनी कात्तिक २४ मा २१ दिने भ्रमणका लागि स्वीडेन निस्केका थिए ।


महानगरले दसैमा २४ वर्षपछि सञ्चालित दरवार क्षेत्रसँग सम्बन्धित लिच्छवीकालीन खड्ग जात्राबारेमा समिक्षा बैठक बस्न सकेको छैन । आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम समाबेश गरिएको बजेट पुस्तिका अझै प्रकाशन गर्न सकेको छैन । यसले वडास्तरीय बजेट के गर्ने भन्ने बारे अन्योल छ ।


यस्तो महत्वपूर्ण घडीमा बजेट पुस्तिका बनाउन छोडेर मेयर महर्जन विदेश भ्रमणमा निस्केका हुन् । ललितपुर महानगरकी उपमेयर गीता सत्यालले महर्जन विदेश गएको बारेमा जानकारी नभएको दाबी गरिन् । ‘दुई दिन विदा लिनु भएको मात्र थाहा छ,’ उनले भनिन् ।


यसअघि पनि बजेट बनाउन छोडेर ९ नम्बर वडाध्यक्ष एंव प्रवक्ता राजु महर्जन, ५ का विकास श्रेष्ठ, कार्यपालिका सदस्य मीना महर्जन र वातावरण शाखा प्रमुख इन्जिनियर प्रदिप अमात्यलगायत ६ दिने भ्रमण गर्न असार ७ मा जापान गएका थिए । महानगरका आधिकारीका अनुसार महर्जनले विदेश भ्रमणमा जान स्वीकृति पनि लिएका छैनन् ।


विदेश भ्रमण सम्बन्धि निर्देशिका २०७५ अनुसार जिल्ला समन्वय समिति र महानगर प्रमुखको विदेश भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्छ । भने महानगरका उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको भ्रमण समान्य प्रशासन मन्त्रालयले स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान छ । तर, मेयर महर्जनले मन्त्री परिषदबाट स्वीकृति लिएका छैनन् ।


महर्जनलाई झन्डै तीन महिनाअघि चीन भ्रमण जान खोज्दा सामान्य प्रशासन मन्त्रालयले समेत रोकेका थिए । त्यतिबेला संघीय मामिलामन्त्री लालबाबु पण्डितले मेयर महर्जनको विदेश भ्रमण मर्यादित नभएको भन्दै प्रस्ताव फिर्ता पठाएका थिए ।


निर्देशिका अनुसार विदेश भ्रमण गर्ने पदाधिकारीले भ्रमण सम्पन्न भएको मितिले १५ दिनभित्र भ्रमणको उपलब्धि, प्राप्त गरेको ज्ञान र सुझावसमेत उल्लेख गरी दुई प्रति लिखित प्रतिवेदन सम्बन्धित स्थानीय तहको कार्यालयमा बुझाउनुपर्नेछ ।


प्रतिवेदन नबुझाउने पदाधिकारीलाई पुन: विदेश भ्रमणका लागि मनोनयन नगरिने निर्देशिकामा उल्लेख छ । तर, मेयर महर्जन यसअघि भ्रमण गरेका कुनै पनि विवरण अझै बुझाएका छैनन् ।


महानगरका अधिकारीहरूका अनुसार यो विद्ययक, ऐन कानुन बनाउने बेला हो । यति बेला जनप्रतिनिधिलाई निकै चुनौटि र कठिनाई छ । महानगरमा गत आर्थिक वर्षमा राजश्व संकलनमा भारी गिरावत आएको थियो ।

प्रकाशित : मंसिर ५, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?