कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रधानमन्त्रीद्वारा मन्त्रालयहरुको कामको समीक्षा

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरूको कार्यप्रगति समीक्षा सुरु गरेका छन् । बुधबार दिउँसो विभिन्न मन्त्रालयहरुको मन्त्री र सचिवहरुलाई बोलाएर प्रधानमन्त्रीले कार्य प्रगति समीक्षा सुरु गरेको हो ।

प्रधानमन्त्रीद्वारा मन्त्रालयहरुको कामको समीक्षा

मंगलबार एक कार्यक्रममा नयाँ सरकार बनेपछिको विकास निर्माण कार्यको प्रगतिमा आफु सन्तुष्ट हुन नसकेको भनेका प्रधानमन्त्री ओलीले समीक्षा बैठक राखेका हुन् ।


नयाँ बजेटसँगै असार अन्त्यमा मन्त्रालयले पेस गरेका कार्ययोजनाका आधारमा उनले मन्त्री र सचिवहरुसंग छलफल गरिरहेका छन् ।


सबै मन्त्रालयले आफूले प्रत्येक महिना गर्ने कामको कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेका थिए । त्यो कार्ययोजनाअनुसार के–के काम कसरी भयो भन्ने बारेमा समीक्षा हुने बताइएको छ । समीक्षा पछि मन्त्रालयका कामलाई ‘रेटिङ’ गरिने बताइएको छ । प्रधानमन्त्री कार्यालयले विगतका प्रतिबद्धता र चारमहिने अवधिको प्रगति विवरण भरेपछि कामको तथ्यांक निस्कने सफ्टवेयर व्यवस्था गरेको छ ।


त्यसैका आधारमा मन्त्रालयको कार्यप्रगति मूल्यांकन हुने छ । साउनदेखि नै महिनैपिच्छे समीक्षा गर्ने भनिए पनि सफ्टवेयरमा असोजदेखि मात्र विवरण भर्न थालिएको थियो । मन्त्रालयहरूले चार महिनाको विवरण एकै पटक भरेका छन् ।


तीन दिनसम्म चल्ने समीक्षाबाट काममा के–के समस्या छन्, पत्ता लगाउने र थप कार्ययोजना तयार गरिने प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ । सरकारका काम प्रभावकारी नरहेको भन्दै आलोचना भइरहेका बेला समीक्षा हुन लागेको हो । बजेटको पहिलो दुई महिनाको समीक्षामा करिब ७ प्रतिशत विकास बजेट खर्च भएको मूल्यांकन गरिएको थियो । जेठ १५ मा बजेट आए पनि अपेक्षित खर्च हुन सकेको छैन । बजेट खर्चको अनुपातको पनि समीक्षा हुनेछ ।


सरकार बनेपछि पहिलो पटक मिहिन समीक्षा हुन लागेकाले यसबाट मन्त्री र कर्मचारीहरूको क्षमताको मूल्यांकन पनि हुने प्रधानमन्त्रीनिकट स्रोत बताएको छ । धेरै मन्त्रीका काममा प्रधानमन्त्री सन्तुष्ट छैनन् । मन्त्रीहरूलाई थप जिम्मेवार बनाउने वा नयाँ विकल्पमा जाने भन्ने निर्णय गर्न पनि समीक्षाले सघाउने बालुवाटार स्रोतले जनाएको छ।

प्रकाशित : मंसिर ५, २०७५ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?