कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकासका लागि हुने जैविक विविधता विनाशप्रति चिन्ता व्यक्त 

अब्दुल्लाह मियाँ

शाम एल शेख, इजिप्ट — जैविक विविधता सम्बन्धि पक्ष मुलुकहरुको जारी १४ औँ राष्टसंघीय सम्मेलन (कोप १४) मा विकासका निम्ति हुने विनाशबारे गम्भीर बहस भएको छ । 

विकासका लागि हुने जैविक विविधता विनाशप्रति चिन्ता व्यक्त 

वन तथा वातावरण मन्त्रालयको तर्फबाट सम्मेलनमा सहभागी वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक राजेन्द्र केसीले विकासका लागि विश्वभर हुने जैविक विविधता, वन क्षेत्र, वन्यजन्तुको बासस्थानको क्षतिबारे गम्भीर बहस भइरहेको बताए ।


विकासका लागि विनाश अपरिहार्य जस्तै भए पनि दिगो विकासका लागि कम क्षति गरी विकासका गतिविधि सञ्चालन गर्नुपर्नेमा विभिन्न देशका सरकारी अधिकारीले धारणा राखेका छन् ।


‘द्रुतततर विकासका लागि वन र अन्य महत्वपूर्ण जैविक विविधताको क्षति भइरहेकामा सबैले चिन्ता व्यक्त गरेका छन्’केसीले भने,‘त्यस्तो विनाशलाई कसरी कम गर्न सकिन्छ र विकासलाई अघि बढाउन सकिन्छ भन्नेमा गम्भीर बहस भएको छ ।’


अफ्रिकी मुलुकहरु सहित विकासोन्मुख मुलुकहरुमा सडक, विद्युत, सिंचाई, विमानस्थल जस्ता ठूला संरचना लगायत सहर विस्तारका लागि वन क्षेत्रको विनाश हुने गरेको छ । त्यस्ता विकासका लागि हुने विनाशले जैविक विविधता सहित दुर्लभ वन्यजन्तु र तिनको बासस्थानका साथै स्थानीय समुदायले वन क्षेत्रबाट पाइरहेको लाभांश समेत कटौती हुने भएकाले त्यसअघि सचेत हुनुपर्नेमा सरोकारवालाले ध्यानाकर्षण गराएका छन् ।


जैविक विविधता सम्बन्धी पक्ष मुलुकहरुको महासन्धि (सीबीडी) को मुख्यालयका अनुसार यो सम्मेलनले जैविक विविधता, प्रकृति, मानवको विकास र सहकार्यका लागि शाम एल शेखबदेखि बेइजिङ नामको कार्ययोजना तयार गरिनेछ । अर्को सम्मेलन सन् २०२० मा चीनको आयोजनामा बेइजिङमा हुनेछ ।


१३ मंसिरसम्म चल्ने सम्मेलनमा नेपालसहित १ सय ९६ मुलुकका सरकारी अघिकारीहरु, अनुसन्धानकर्ता र पर्यवेक्षक सहभागी छन् । नेपालले सन् १९९४ मा उक्त महासन्धिमा हस्ताक्षर गरेर पक्ष मुलुक (सदस्य) भएको हो ।

प्रकाशित : मंसिर ५, २०७५ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?