चरेसले बर्बाद हुँदै युवा पुस्ता 

डीआर पन्त

डडेलधुरा — १४ वर्षीय चेतले बिँडीमा चरेस भरेर खान थालेको डेढ वर्ष भयो । स्थानीय विद्यालयमा कक्षा ८ मा पढ्ने उनको ४ जनाको समूह नै छ । चेत जस्ता किशोरहरुका आफ्ना समूह छन् ।  समूहमा उनीहरु अभिभावकबाट लुकेर यो नशा प्रयोग गर्ने गर्छन् ।

चरेसले बर्बाद हुँदै युवा पुस्ता 

चेतको कथा फिल्म जस्तै छ । अभिभावकले गाँजाको पात माड्न लगाउने र चरेस तयार गरी स्थानीय पसलहरुमा बिक्री गर्न पठाउने काम गर्न थालेको त ९ बर्षकै उमेरबाट हो । ‘गाँजा माड्दा माड्दै अनि चरेश बेच्दाबेच्दै बिँडीमा राखेर चरेस पिउन थाले’ लाजले टाउको निहुराउँदै उनले भने,‘म जस्ता चरेसका अम्मली त कति भेटिन्छन् कति ।’


कालिका प्राथमिक विद्यालय कक्षा ५ मा पढ्ने १० वर्षीय मनोज चरेस बनाउन सिपालु छन् । उनकै उमेरका अरु धेरै नाबालकहरु पनि स्कूल छाडेर चरेस बनाउन लागेका भेटिन्छन् । मनोज भन्छन,‘म जस्ता धेरै बालबालिका चरेस बनाउने पेशामा संलग्न छन् । विद्यालयमा हाजिर लगाएपछि चरेश बनाउन जान्छौँ’ उनले भने,‘दिनको ३ सयदेखि ५ सय सम्म कमाई हुन्छ ।’ आफूले पनि धेरै पटक नशा प्रयोग गरेको उनले बताए । 'बुवा आमाले नै चरेस बनाउने काम सिकाएका हुन्' उनले भने,'बनाउँदा बनाउँदै नशा लिन थालेँ। '

चेत र मनोज प्रतिनिधि मात्र हुन् । उनी जस्ता सयौँ किशोरका लागि पछिल्लो समय चरेस सेवन सामान्य जस्तै भएको छ । दुई /चार बोट चरेस नलागाउने प्राय कमै परिवार भेटिन्छन् । सामान्य आर्थिक जोहो गर्न यसरी घर घरमा चरेस लगाउने प्रवृत्ति बढ्दै जाँदा बाल्यकालदेखि नै यो नशा सेवन गर्नेको संख्या पनि बढ्दै जान थालेको हो ।


डडेलधुरा गांगखेतका १४ वर्षीय धन बहादुर मगर आफ्नै बारीमा उत्पादन गरेको चरेस बिक्री गर्न भिमदत्त राजमार्गको गैरा बजारमा पुगेका छन् । ‘यस पटक वर्षभरिको पढाइ खर्च असुल भएको छ’ स्थानीय एक पसलमा बिक्री गर्न थालेका उनले भने,‘१२ हजार जतिको एक साता अघि बिक्री गरेको हुँ ।’ उनले दोस्रोपटक त्यही बजारमा पुगेर ७ हजारको चरेस बिक्री गरे । धनबहादुर भन्छन्, ‘आफुसँगै गाउँबाट चरेस बिक्री गर्न आएका साथीहरु पनि आफ्नो सम्पर्कका विभिन्न पसलमा बिक्री गर्न गएका छन् ।’


डडेलधुराका १४ वर्षीय धनबहादुरदेखि काठमाडौंका ८० वर्षीय शेरबहादुर बोहोरा सम्मले चरेसको उत्पादन गर्छन् । उमेर समूहसँग बसेर निर्धक्कताका साथ चरेसको प्रयोग पनि गर्छन् । पछिल्लो समय पहाडी जिल्लामा चरेशको बिक्री वितरण, प्रयोग र खेती सामान्य जस्तै बनेको छ । पटक पटक प्रहरीले गाउँगाउँमा गएर गाँजाका बोट नष्ट गर्ने अभियान चलाए पनि गाउँ/घरमा घर खर्च चलाउने उद्देश्यले चरेस उत्पादन बिक्रीसँगै सेवन गर्नेको संख्या पनि निकै बढेको छ ।


०३२ सालसम्म उत्पादन र बिक्री वितरण प्रतिबन्ध नरहेको चरेस प्रतिबन्ध लागेको ४२ वर्षभित्रै सुदूर पहाडका गाउँदेखि कैलाली कन्चनपुरसम्म आफ्नो व्यवसाय फैलाउन सफल भएको छ ।


विद्यार्थी हुन् या शिक्षक ? व्यवसायी हुन् या सामाजिक सेवामा संलग्न सुदूर पहाडका प्रायः हरेक समाजमा चरेस सुरक्षित नशाका रुपमा नयाँ पुस्ता बर्वाद हुने गरी फैलिन थालेको छ ।


‘यो खतरनाक नशाले किशोर उमेरका हजारौँ बालबालिकाको जीवन बर्बाद हुन थालेको छ’ सरस्वती उच्च माविका पूर्व प्राचार्य लवराज चटौत भन्छन्,‘गाँजाका बोट आफैं लगाउने, आफ्नो खर्च आफैं उठाउने निहुँमा बालबालिका नजानिकन यो कुलतमा फस्न थालेका छन ।’ अभिभावकहरु सजग नहुँदा चरेस जस्तो नशाले ग्रामिण क्षेत्रका बालबालिकाको भविष्य नै संकटमा परेको पूर्व प्राचार्य चटौतले बताए । उनले भने, ‘अभिभावक पनि सामान्य आर्थिक लाभका कारण बालबालिकालाइ यो पेशामा संलग्न गरिरहेका छन् ।’


डडेलधुरा, बैतडीका ग्रामिण भेगमा व्यवसायिक रुपमा चरेस खेती नभएपनि सानो आर्थिक गर्जो टार्न घर घरमा चरेस उत्पादन हुने गरेकोको पाइएपनि उत्पादन गरी जिल्ला बाहिर पठाउने प्रमुख जिल्लामा बझाङ पहिलो नम्बरमा आउँछ । बझाङमा गाँजाको खेती गर्नु धान मकै खेती गर्नु जतिकै हो । ‘चरेसको व्यापार, बिक्री वितरण तथा व्यापार गर्नु दूधको खुवा बेच्नु जतिकै हो’ डडेलधुरा बझाङ सिमाना स्याडीका दलबहादुर कामी भन्छन्,‘जिल्लामा गाँजाको खेती नगर्ने किसान र चरेसको सुर्को नलगाउने युवा भेट्टाउनै मुस्किल पर्दछ ।’

‘स्थानीय भाषामा चरेसलाई ‘अत्तर’ भन्ने गरिएको छ’ उनले भने,'गाउँका साना ठुला पसल र चिया पसलमा मात्र नभएर जिल्ला सदरमुकाम आसपासका पसल र होटलहरुमा समेत चरेस सजिलै किन्न पाइन्छ । ’ यी पसलमा १५ रुपैँया देखि २० रुपैँया प्रति डोज (एक पटक चुरोटमा मिसाएर खानका लागि बनाइएको टुक्रा)को चरेस पाईन्छ । चरेस ग्राहकमा २० वर्ष मुनिका युवा र किशोरहरु बढी रहेका छन् । बैतडी सदरमुकाम गोठालापानीका एक व्यवसायीले भने,‘चरेस जति प्लस टू पढ्नेले सिध्याउँछन् तिनलाई पुर्‍याउनै सकिएको छैन । ठूला मान्छेले पनि लिन्छन् ।’


‘स्थिति गम्भीर देखिएको छ’ डडेलधुराका प्रहरी प्रमुख डिएसपी डम्बर केसी भन्छन्,‘अभिभावकको समान्य आर्थिक लोभका कारण आउने पुस्ता गम्भीर संकटमा पर्न थालेको छ ।’ प्रहरीले पटक पटक गाउँ/गाउँ पुगेर गाँजाका बोट नष्ट गर्ने, अभिभावकमा चेतना वृद्धि गर्ने काम गरेपनि त्यो स्थायी समाधान हुन नसकेको डीएसपी केसीले बताए ।

‘३ /४ महिनाको अवधिमा यो नशा सेवन गरिरहेको अवस्थामा ४ दर्जन बढि किशोर उमेरका बालबालिका पक्राउ गरी प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । तीन दर्जन बढी फुटकर रुपमा चरेश बिक्री गर्नेमाथि कारबाही समेत चलिररहेको छ’ डिएसपी केसीले भने । यसको स्थायी समाधानका लागि सामाजिक रुपमा नै अभियान संचालन नगर्दासम्म सम्भव नहुने उनको भनाइ रहेको छ ।

प्रकाशित : मंसिर ५, २०७५ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?