योगी आदित्यनाथले रेल्वे उद्घाटन गरे दुर्भाग्य : निधि

काठमाडौँ — कांग्रेस उपसभापति विमलेन्द्र निधिले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट जयनगर-जनकपुर कुर्था रेल्वेको उद्घाट्न गराइए मुलुकका लागि दुर्भाग्य हुने बताएका छन् ।

योगी आदित्यनाथले रेल्वे उद्घाटन गरे दुर्भाग्य : निधि

योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने कार्यमक्रम छ । त्यसै सिलसिलमा मुख्यमन्त्री योगी र भारतीय उद्योग वाणिज्य तथा नगारिक उड्ययनमन्त्री सुरेश प्रभुले भारतीय लगानीमा निर्माण गरिएको जयनगर-जनकपुर, कुर्था ब्रोडगेज रेल्वे खण्ड उद्घाटन गर्ने कार्यक्रम राखिइएको एक साताअघि प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी गराएका थिए ।


‘राज्यको एउटा मुख्यमन्त्रीलाई ल्याएर मुलुकै दुरगामी प्रभाव पार्ने ठूलो आयोजनाको उद्घाटन गराउन खोजिएको हो भने आपत्तिजनक छ’ बुधबार साँझ आफ्नै निवासमा आयोजित पत्रकार भेटघाटमा निधिले भने, ‘सार्वजनिक रुपमा केन्द्रीय सरकारले नै यसको जानकारी गराउनु पर्छ ।’ निधिले मुख्यमन्त्री योगीबाट उद्घाटन नगराउन आग्रह गर्नुका पछि दुई कारण उल्लेख गरे । पहिलो, योगीले भारतको केन्द्रीय सरकारको प्रतिनिधित्व गर्देनन् । एउटा प्रदेशको मुख्यमन्त्रीबाट ठूला आयोजना उद्घाटन गराउँदा नेपाल-भारतको एउटा राज्य हो कि जस्तो सन्देश जान्छ । दोस्रो, उनी नेपालमा हिन्दुराज्य र राजतन्त्र पुनर्बहालीका लागि लबिङ गरेका व्यक्ति हुन् । जुन पृष्ठभूमिले नेपालमा राजनीतिक अस्थिरता ल्याउन सहयोग गर्ने उनको बुझाइ छ ।


‘नेपालमा उनी आउनु आपत्तिको कुरा होइन, योगीको पृष्ठभूमि हेर्दा नेपालमा राजतन्त्र र हिन्दुराज्य पुनर्बहालीका लागि जुटेको पाईन्छ’ नेपाल सरकारले उनैलाई प्रमुख आथित्यको रुपमा किन निमन्त्रणा गरियो ? निधिले भने, ‘बाहिर प्रचार भएजस्तै उनलाई निमन्त्रणा गरेर कार्यक्रम राखिएको हो भने नेपालका लागि लज्जास्पद र अपाच्यको विषय हो । सरकारले वास्तविकता सार्वजनिक गरोस् ।’


राम र सीताको विवाहको संझनामा हरेक वर्ष मंसिरमा जनकपुरमा विवाहपञ्चमी महोत्सव आयोजना हुन्छ । नेपाल र भारतका हजारौं सहभागी रहने महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने परम्परा छ । त्यसमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम्‌ले इच्छा प्रकट गरेका थिए । नेपाल सरकारले पनि निमन्त्रण पठाएको थियो । अन्तिम समय उनको भ्रमण अनिश्चय बनेपछि योगी आदित्यनाथको कार्यक्रम बनेको हो ।


उनले दुई देशका केन्द्रीय सरकारले संयुक्त रुपमा रेल्वे लाइनको उद्घाटन गर्नुपर्ने बताए । ‘पहिलो प्रयास दुई देशका प्रधानमन्त्रीले रेल्वेको उद्घाटन गर्नुपर्छ, यो संभव नभए दुई देशका केन्द्रीय सदस्यका विदेशमन्त्रीबाट र त्यो पनि संभव नभए विभागीय मन्त्रीबाट हुनुपर्छ’ निधिले थपे,‘नेपाल भारतको स्टेट होइन । मुख्यमन्त्री योगीबाट यो उद्घाटन गराउनु भनेको हिनताबोधबाहेक केही हुन सक्दैन ।’


सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई भारतको गणतन्त्र दिवसका लागि विशेष अतिथिको रुपमा जानसमेत अनुमति दिएको जानकारी आफूले प्राप्त गरेको निधिले बताए । पूर्वराजा ज्ञानेन्द्रलाई विशेष अतिथिको रुपमा भारत जान अनुमति दिनु र भारतका उत्तरप्रदेशका मुख्यमन्त्री योगीलाई नेपाल आमन्त्रण गरी रेल्वे लाइन उद्घाटन गर्ने कार्यक्रम राख्नु संयोगमात्रै हुन नसक्ने निधिको भनाइ छ । ‘केपी ओली नेतृत्वको यो सरकार संघीयताविरोधी त देखिएकै थियो, सँगै गणतन्त्र पनि नचाहेको सन्देश दिन खोजिरहेको छ’ निधिले भने, ‘केन्द्रीय सरकार संघीयता र गणतन्त्र कमजोर बनाउने गतिविधि गरिरहँदा प्रदेश नम्बर २ को सरकार पनि त्यसको पुच्छर बनेर सहयोगी बनिरहेको छ ।’

प्रकाशित : मंसिर ५, २०७५ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?