१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

६ पल्ट फेरिए अधिकृत

सार्वजनिक सेवा प्रवाह, निर्णय कार्यान्वयन, प्रशासन सञ्चालन तथा कर्मचारी परिचालन, योजना तर्जुमा, कानुन निर्माण, अनुगमन, आर्थिक परिचालनमा बाधा

जाजरकोट/दैलेख — जाजरकोटको शिवालय गाउँपालिकामा पाँच प्रमुख प्रशासकीय अधिकृत फेरबदल भए । गाउँपालिकामा दुई वर्षको अवधिमा गोमा पन्थी, लोकबहादुर कुसारी, रविन्द्र वुढाक्षेत्री, नमानन्द दमासे र धनीराम शर्माले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले ।

उनीहरूले प्रमुख प्रशासकीय अधिकृत भएर पूरा कार्यकाल भने विताउन पाएनन् । सबैजना चार/पाँच महिनाको अवधि नपुग्दै घरपायक सरुवा भए । सोही गाउँपालिकाका स्थानीय बासिन्दासमेत रहेका शर्मा विगत ६/७ महिनादेखि उक्त पदमा कार्यरत छन् ।


त्यस्तै कुशे गाउँपालिकामा पनि डेढ वर्षको अवधिमा ६ जना प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हाले । कुशेमा मनिराम रिमाल, थानेश्वर भण्डारी, लालभक्त शाही, बसन्त खत्री, मानबहादुर गिरी र श्यामकृष्ण पौडेलले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । दुई वर्ष पूरा हुन नपाउँदै जुनीचाँदे गाउँपालिकामा ३ जना र भेरी नगरपालिकामा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरबदल भए ।


ती स्थानीय तहमा नायव सुब्बादेखि उपसचिवसम्मका कर्मचारीले प्रमुख जिम्मेवारी पाए । जिल्लाका सात स्थानीय तहमध्ये नलगाड नगरपालिकाबाहेकमा चार/पाँच महिना बित्न नपाउँदै प्रमुख प्रशासकीय अधिकृत फेरबदल भएको पाइएको छ । स्थानीय तहमा पटकपटक कार्यालय प्रमुखको फेरबदल हुँदा सरकारी सेवा प्रवाह र विकास निर्माणमा बाधा पुग्ने गरेको छ ।


राजनीतिक खिचातानी तथा कर्मचारीको घरपायक जान खोज्ने प्रवृत्तिका कारण स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पूरा कार्यकाल बित्न नपाउँदै सरुवा हुने गरेको शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताए ।


जसो मारमा शिवालय गाउँपालिका पनि परेको उनको भनाइ छ । गाउँपालिकामा कार्यरत शर्मा स्थानीय बासिन्दासमेत भएकाले विकास तथा सार्वजनिक सेवा प्रवाहमा सहज भएको उनले जनाए । कार्यालय प्रमुखको पटकपटक सरुवा हुँदा स्थानीय सरकारको विकासको गतिमा ब्रेक लाग्ने भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासे बताउँछन् । समय अवधि नपुग्दै सरुवा हुँदा सार्वजनिक सेवा प्रवाह, स्थानीय सरकारका निर्णय कार्यान्वयन, प्रशासन सञ्चालन तथा कर्मचारी परिचालन, योजना तर्जमा तथा निर्माण, ऐन कानुन निर्माण, अनुगमन, निरीक्षण, आर्थिक परिचालनलगायत क्रियाकलापमा बाधा पुग्ने उनको भनाइ छ । ‘प्रमुखको फेरबदलले केही समय परिचय गर्न र बैंकमा खाता सञ्चालन गर्नमै बित्ने रहेछ,’ बेल्वासेले भने ।


निजामती सेवा नियमावलीअनुसार कर्मचारी दुई वर्षसम्म एउटै कार्यालयमा बसेर काम गर्ने अवसर दिनुपर्ने उनको भनाइ छ । ‘जतिबेला मन लाग्यो त्यतिबेला कर्मचारीको सरुवा हुँदा स्थानीय तहको विकास तथा समृद्धिमा बाधा पुग्छ,’ उनले भने, ‘एकले बुनेको योजना अर्कोलाई बुझ्न समय लाग्छ, अनि सरकारी सेवा छिटो छरितो हुँदैन ।’

सरुवाले काममा बाधा

संघीय सरकारले कर्मचारीको स्थिरतामा ध्यान नदिँदा स्थानीय तहमा प्रशासनिक तथा विकासे काममा बाधा पुगेको छ । जाजरकोटका ११ वटै स्थानीय तहमा छोटो समयमै प्रमुख प्रशासकीय अधिकृत फेरिँदा कामकाजमा समस्या भएको हो । कतिपय स्थानीय तहमा प्रमुख र प्रशासकीय अधिकृत विवादका कारण छिटो सरुवामा पर्ने गरेको पाइएको छ ।


स्थानीय सरकार गठन भएलगत्तै गुराँस गाउँपालिकामा चार प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन् । कर्मचारी फेरबदलले सोचेजस्तो काम गर्न नसकिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत सुनिता खत्री ५ महिनामै, भक्त मल्ल ६ महिनामा, लालबहादुर योगी एक महिनामै सरुवा भएका थिए । गणेशविक्रम शाह १५ दिनमै मन्त्रालयमा तानिएका थिए ।

महिनापिच्छे प्रमुख प्रशासकीय अधिकृतको परिवर्तनले नगर र गाउँपालिकाको कामकाजमा बाधा हुँदा स्थानीय मर्कामा परेका छन् ।


प्रमुख प्रशासकीय अधिकृत पार्टीगत आस्था नमिल्दा सरुवा भएका छन् । ‘नीति निर्माण जनप्रतिनिधिले गर्ने हो, कार्यान्वयन गर्ने कर्मचारीलाई महिनैपिच्छे सरुवा गरेपछि स्थानीय सरकार नै ओझेलमा परेको छ,’ उनले भने, ‘एक आर्थिक वर्षसम्म सरकारले कर्मचारीको सरुवा नगरे विकासका काम तीव्र गतिमा अगाडि बढ्न सक्छन् ।’


एउटा कार्यक्रमका लागि धेरैपटक फरक–फरक प्रशासकीय अधिकृतलाई बुझाउनुपर्ने अवस्था रहेको गुराँस २, का हरिबहादुर थापाले बताए । ‘प्रमुख प्रशासकीय अधिकृत परिवर्तनले कमिसन मौलाएको छ,’ उनले भने, ‘एउटा कार्यकारीसँग काम लियो, भुक्तानी लिने बेला अर्को हाकिम आउँछ, अनि स्थानीयवासीलाई झुलाइरहन्छ ।’


ठाटिकाँध गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने हाजिर भएको डेढ महिना नबित्दै सरुवा भए । गाउँपालिकाका अध्यक्षसँग कुरा नमिल्दा उनी सरुवामा परेका हुन् । गाउँपालिकामा डेढ वर्षमा चार कार्यालय प्रमुख फेरिइसकेका छन् । अध्यक्ष धीरबहादुर शाहीले विकट भएका कारण कर्मचारी बस्न नमान्ने गरेको बताए । ‘कर्मचारीको निश्चित समय नतोकिएकाले चासोसाथ बस्दैनन्,’ उनले भने, ‘केही भए सरुवा भइहाल्छन्, जथाभावी सरुवाले विकासका काममा समेत धेरै बाधा पुगेको छ ।’

प्रकाशित : मंसिर ६, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?