२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

चामल किन्न १० दिन पैदल

राजबहादुर शाही

मुगु — हुम्लाको सर्केगार्ड गाउँपालिका २, उनपानीकी ४५ वर्षीया कन्नसिला फडेरा आवश्यक बन्दोबस्ती सामग्री पिठ्युँमा बोकेर ५ दिनपछि गमगढी आइपुगिन् ।

चामल किन्न १० दिन पैदल

गमगढीबाट खसी र भेडामा चामल बोकाएर घर पुग्न उनलाई थप ५ दिन लाग्छ । उनीसँगै चामल किन्न आएकी ५० वर्षीया भ्याल्ली फडेरी ५ क्विन्टल चामल लिएर गाउँ फर्किने तयारीमा छिन् ।


यी दुईमात्र होइन, हुम्लाको सर्केगार्ड र चंखेली गाउँपालिकावासी चामल लिन १० दिन पैदल हिंडेरै गमगढी आइपुग्छन् । मुगुबाट दु:खकष्ट गरेर लिएको चामल एक महिना पनि नपुग्ने उनीहरूले सुनाए । मुगु सदरमुकाम आएर चामल लिनुको उनीहरूलाई विकल्प छैन । स्थानीयका अनुसार सर्केगाड डिपोमा चामल ढुवानी नभएको लामो समय भयो । स्थानीयलाई सिमकोट पुग्न तीन दिन लाग्छ तर त्यहाँ पनि चामल नपाइँदा अधिकांश उपभोक्ता मुगु आउनैपर्छ । गमगढीमा प्रतिकिलो ५० रुपैयाँमा पाइने चामल गाउँ पुग्दा २ सयसम्म पर्ने स्थानीयले बताए ।


‘गाउँमा अन्न उत्पादन र सडक सुविधा नहुँदा चामल बोक्दै पिठ्युँ फाटिसक्यो,’ कन्नसिलाले भनिन्, ‘पानी परे बालीमा रोग लाग्छ, खडेरी परे बाली सुक्छ ।’ उनीहरूले गमगढीस्थित खाद्य संस्थानबाट प्रतिकिलो ५० रुपैयाँमा करिब एक महिनालाई पुग्ने चामल खरिद गरेका हुन् । गाउँबाट आउँदा बाटोभरि पुग्ने खाद्यान्न र अन्य सामग्री आफूले तथा चामल खसी–भेडाले बोक्ने गरेको उनीहरूको भनाइ छ । दुवैले यस वर्ष चार पटक चामल लिन गमगढी आइपुगेको जनाए ।


हवाईमार्गबाट ढुवानी भएको चामल हुम्ला सदरमुकाम आसपासका बासिन्दालाई पुग्दैन । सडक सुविधा नहुँदा अधिकांश गाउँमा चामल ढुवानीमा समस्या छ । मंसिर पहिलो सातादेखि हुम्लाका बासिन्दालाई चामल ओसार्ने चटारो हुन्छ । जडीबुटी व्यापारबाट आएको रकम चामल खरिदमै सकिने गरेको स्थानीयले जनाए ।


विगत वर्षमा खसी र भेडा लिएर चामल लिन अछामको साँफेबगर जाने हुम्लाका बासिन्दा चार वर्षदेखि मुगुको भर पर्न थालेका छन् । ‘नेताहरू भोट माग्न आउँदा चामल–नुन गाउँमै पुर्‍याइदिन्छौं भन्छन्, तर जितेर गएपछि वास्ता गर्दैनन्,’ भ्याल्लीले भनिन््, ‘कहिलेकाहीं बाटैमा महिनावारी हुन्छौं, निकै सास्ती भोग्नुपर्छ ।’ खसी र भेडामा बोकाएको चामलले मुस्किलले एक महिना पुग्ने गरेको उनको भनाइ छ ।


हिमपात र वर्षाका बेला बाटोमै चामल भिज्ने गरेको हुम्लीको गुनासो छ । ‘गाउँमा अन्न उब्जिन्न, चामल बोक्दै जुनी बितिसक्यो,’ उनापानीकै विष्णु फडेराले भने, ‘सिमकोटमा गए चामल पाइँदैन, बालबच्चा पाल्न यहाँ आएर भेडामा चामल ढुवानी गर्नुपर्ने बाध्यता छ ।’ सोमबारमात्रै उनापानीबाट उनीसहित १४ जनाको टोली गमगढी आइपुगेको छ ।

प्रकाशित : मंसिर ६, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?