कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

परिचयपत्र पाए, उपयोगिता थाहा छैन

आनन्द गौतम

पाँचथर — पहिलो राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी फिदिम नगरपालिका ४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई त्यसले के गर्छ पत्तो छैन । ‘डाँडामाथिको घाम’ भएकी उनले यसबाट के हुन्छ आफूलाई थाहा नभएको प्रतिक्रिया दिइन् ।

परिचयपत्र पाए, उपयोगिता थाहा छैन

‘खै अब के हुन्छ, थाहा छैन,’ उनले भनिन्, ‘नातिले भन्छ उसलाई थाहा होला ।’ उनलाई लिएर सदरमुकाम फिदिम आएका नाति दीपक भण्डारीलाई पनि आफ्नी हजुरआमाले पहिलो पटक पाएको बाहेक यसको उपयोगिताबारे कुनै जानकारी छैन । सूचना संकलनका क्रममा भरेको फारामबाहेक चिप्समा के छ उनले पनि हेर्न पाएका छैनन् ।


यसको जानकारी उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दीपक नेपाललाई पनि छैन । उनले पनि सोमबार परिचयपत्र बुझेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा परिचयपत्र पोस्ट गर्दै लेखे, ‘आजदेखि चिप्स प्रविधिमा आधारित नेपाली राष्ट्रिय परिचयपत्रवाहक नागरिक भइयो । देशमै पहिलो पटक पाँचथर जिल्लाबाट पाइलट प्रोजेक्टका रूपमा सुरु भएको यो सेवामार्फत नयाँ सहरको बासिन्दा हुनुको गर्व महसुस भएको छ ।’


कार्डको फोटो फेसबुकमा पोस्ट गरेपछि भने पर्समा बोकेका छन् । कसैले कस्तो रहेछ हेरौं न भन्दा देखाउन बोकेका उनले यसभित्र के छ भनेर आफूले हेर्न पाएका छैनन् । जान्ने, बुझ्ने हैसियत राख्ने उनलाई कहिले प्रविधि आउँछ र हेर्न पाइन्छ भन्ने पनि पत्तो छैन ।


‘सरकारलाई सुझाव दिंदै लेखेका छन्, ‘योसँगै अन्य सेवाप्रति राज्यको दायित्व बढेको छ । आशा गरौं समृद्ध नेपालको नागरिक हुने दिशामा नेताको ध्यान जानेछ ।’ यसले नागरिकता, लाइसेन्स लगायतका कार्ड विस्थापन गरेको छैन । एसियाली विकास बैंक तथा आईडीईएमआईए नामक संस्थाको ५५ करोडको लागतमा सञ्चालित परियोजनाबाट वितरण हुने कार्डले तत्काल भने सेवाग्राहीले कुनै सुविधा नपाउने भएका छन् ।


विगतमा जस्तै उनीहरूले नागरिकता, लाइसेन्स, धनीपुर्जालगायतका कगजात बोकेर हिंड्नुपर्ने छ । ‘खै अब आउँछ, तीन वर्षमा सबै सक्छौं भनेका छन् आउला कि’ वाणिज्य संघ अध्यक्ष नेपालले भने, ‘हरेक व्यक्ति राज्यप्रति जवाफदेही हुन्छन् भनिएको छ होलान् कि ?’ साथीभाइले हेरौंभन्दा देखाउनेबाहेक पाएको दुई दिनसम्म खल्तीमै थन्क्याएको उनले बताए ।


यसलाई परिपक्वताका साथ लागू गर्न स्थानीय तहको वडा कार्यालयबाट सफ्टवेयर विकास गर्नुपर्ने उनको धारणा छ । ‘आज भरेको फाराम भोलि नै अपूर्ण हुनेरहेछ,’ युवा परिषद्का पूर्वअध्यक्ष सुमन लामाले भने, ‘फाराम भरेको दिन अविवाहित व्यक्ति कार्ड पाउँदा विवाहित हुन सक्छ ।’ एसईई गरेकाले कार्ड पाउँदा ११ पढेको हुन सक्ने भएकाले निरन्तर अपडेट नभए यसको महत्त्व नहुने उनको तर्क छ । भगवती भण्डारीकै पनि भर्दाको उमेर १०१ वर्ष थियो । अब १०२ वर्ष पुग्दा कसरीे अद्यावधिक हुन्छ नबुझेको नातिले बताए । यसलाई पूर्णता दिलाउन वडा कार्यालयबाट काम हुनुपर्ने फिदिम नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङ बताउँछन् । ‘हाम्रोमा जाने, बुझेका कम छन्, गरिखानेहरू केन्द्रमा गएर विवरण टिपाउन चाहँदैनन्, मैले विवरण संकलन गर्दा पनि वडाको तीनवटा टोलमा केन्द्र सारेर गरें पछि वडामा भएन भने अद्यावधिक हुँदैन र महत्त्व हुँदैन,’ उनले भने ।


राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपाने यी सबै कुरालाई ध्यान दिएर कार्यक्रम सुरु भएको बताउँछन् । ‘यी विषयमा ध्यान दिइएको छ, नयाँ विवरण समेट्नेगरी अद्यावधिक हुन्छ,’ उनले भने । कसरी भन्नेचाहिँ खुलाएनन् । अहिले कार्ड प्राप्त गरेकाको प्रयोग कहिलेदेखि हुन्छ भन्ने पनि पत्तो छैन । पहिलो चरणमा वितरण भयो अब दोस्रो चरणको सुरु गर्ने तयारी मात्रै विभागको छ ।


महानिर्देशक दीपक काफ्लेका अनुसार दोस्रो चरणमा झापा, संखुवासभा, महोत्तरी, सप्तरी, ललितपुर, रसुवा, चितवन, तनहुँ, स्याङ्जा, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, कञ्चनजपुर र अछाममा सञ्चालन हुन्छ । तीन वर्षमा देशभरिको कार्ड तयार भएपछि प्रयोगमा आउने उनले बताए । कार्डमा भएको विवरण हेर्नका लागि भने प्रत्येक कार्यालयमा कार्ड रिडर मेसिन राख्नुपर्ने आवश्यकताको महसुस दीपकले गरेका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यसको व्यवस्थापनको काम गरिरहेको छ । सिंहदरबारमा रहेको यसलाई सूचना चुहावट हुन नदिन र पूर्ण सुरक्षित बनाउन भरपर्दो व्यवस्था मिलाइएको काफ्लेले दाबी गरे ।

अनलाइनमार्फत नागरिकले घरमै बसिबसी र कर्मचारीले आफूले काम गरिरहेको जिल्लाबाट फर्म भर्न सक्ने गरी व्यवस्था गर्न लागिएको पनि काफ्लेले बताए ।


प्रकाशित : मंसिर ६, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?