१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

शीतल निवासमा अतिथि गृह र स्टेट ब्यांकेट

बलराम बानियाँ

काठमाडौँ — राष्ट्रपति कार्यालय र निवास विस्तार गरी हेलिप्याडका अतिरिक्त अत्याधुनिक र सुविधासम्पन्न ‘भीभीआईपी पाहुना घर’ र ‘स्टेट ब्यांकेट’ (राजकीय सत्कार गृह) बन्ने भएको छ ।

शीतल निवासमा अतिथि गृह र स्टेट ब्यांकेट

त्यसका लागि थप जग्गा आवश्यक परेकाले सरकारले नजिकको प्रहरी एकेडेमीलाई महाराजगन्जबाट सार्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले दिएका छन् ।

मन्त्रिपरिषदको भदौ २१ मा बसेको बैठकले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न प्रहरी एकेडेमी पनौती सार्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्यालयले उक्त निर्णय गृह मन्त्रालयलाई पठाई प्रहरी एकेडेमी डेढ वर्षभित्र पनौतीमा सारिसक्न लिखित निर्देशन दिइसकेको छ ।

राष्ट्रपति कार्यालयले लामो समयदेखि शीतल निवास सानो भएकाले त्यसलाई विस्तार गरी सुविधासम्पन्न बनाउन सरकारलाई दबाब दिँदै आएको थियो । केपी ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि राष्ट्रपति कार्यालयको मागअनुसार शीतल निवासलाई सुविधासम्पन्न बनाउने प्रक्रिया अघि बढेको हो ।

राष्ट्रपति कार्यालय र निवास रहेको ‘शीतल निवास’ लाई कसरी आधुनिक र सुविधासम्पन्न बनाउन सकिन्छ भनेर सरकारले जेठ ९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । समितिमा गृह, सहरी विकास मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव र सहरी विकास तथा भवन विभागका महानिर्देशकलाई राखिएको थियो ।

कार्यदलले दिएको सुझावअनुसार राष्ट्राध्यक्षका लागि आवश्यक पर्ने सबै सुविधासहितको राष्ट्रपति कार्यालय र निवास बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । सरकारले राष्ट्रपति कार्यालय परिसरमा मित्रराष्ट्रहरूबाट नेपाल भ्रमणमा आउने राष्ट्राध्यक्ष र सरकार प्रमुख तथा विशिष्ट पाहुनाहरूलाई राख्ने अत्याधुनिक र सुविधा सम्पन्न ‘अतिथि गृह’ निर्माण गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए ।

त्यस्तै राष्ट्रपति कार्यालयमा नेपाल भ्रमणमा आउने राष्ट्राध्यक्ष र सरकार प्रमुख तथा विशिष्ट पाहुनाहरूको सम्मानमा राष्ट्रपतिले रात्रि र दिवाकालीन भोज दिन अत्याधुनिक र सुविधा सम्पन्न ‘स्टेट ब्यांकेट’ समेत निर्माण गरिनेछ । ‘संघीय राजधानीमा विशिष्ट विदेशी पाहुनाहरूलाई राख्ने र उनीहरूको सम्मानमा राष्ट्रपति र सरकार प्रमुखले दिवा र रात्रिभोज दिने एउटा पनि सुविधासम्पन्न सरकारी आवास र स्टेट ब्यांकेट छैन । होटलहरूमा लगेर राख्नुपर्ने र राष्ट्रपति र प्रधानमन्त्रीले विशिष्ट सरकारी पाहुनालाई होटलमा नै भोज दिनुपर्ने बाध्यता छ । त्यही कारण राष्ट्रपति कार्यालयमा विशिष्ट अतिथि गृह र स्टेट ब्यांकेट बनाउन लागिएको हो’ ती अधिकारीले भने ।

राष्ट्रपति कार्यालयमा सुविधासम्पन्न हेलिप्याडसमेत निर्माण गरिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरमा विदेशी राष्ट्रपति र सरकार प्रमुख सोझै राष्ट्रपति कार्यालयमा आउन र त्यहीँबाट बिदाइ गर्न हेलिप्याड बनाउने निर्णय भएको हो । हेलिप्याड बनाएपछि विशिष्ट अतिथिहरू मुलुक भ्रमणमा आउँदा र फर्कंदा राजधानीमा हुने ट्राफिक जामको समस्या पनि अन्त्य हुने र विदेशी पाहुनाको समेत सम्मान हुने धारणा सरकारको छ ।

राष्ट्रपति कार्यालयमा हेलिप्याडसँगै विशिष्ट अतिथिलाई राष्ट्रपतिले स्वागत र बिदाइ गर्ने तथा सैनिक टुकडीले सलामी दिने स्थलसमेत निर्माण गरिनेछ । शीतल निवासमा राष्ट्रपतिको सुरक्षामा खटिएका सेनालाई परेड खेल्ने स्थल र बस्ने भवनसमेत निर्माण गरिने भएको छ ।

राष्ट्रपति कार्यालय र निवासलाई भव्य र सुविधासम्पन्न बनाउन परिसरमा आकर्षक बगैंचा, पौडी पोखरी र खेल मैदानलगायतका भौतिक संरचनासमेत बनाउने योजना सरकारको छ । मन्त्रिपरिषद्ले राष्ट्रपति कार्यालयलाई विस्तार गर्ने निर्णय गरेसँगै सहरी विकास तथा भवन विभागलाई त्यसको विस्तृत इन्जिनियरिङ अध्ययन गरी आवश्यक संरचनाहरूको डिजाइन तयार गर्न निर्देशन दिएको छ ।

विभागले हेलिप्याड, विशिष्ट अतिथि गृह, स्टेट ब्यांकेटलगायतका संरचना निर्माण गर्न अध्ययनको काम सुरु गरिसकेको छ । प्रहरी एकेडेमी सार्न बाँकी रहेकाले स्थलगत रूपमा गएर कहाँ र कसरी निर्माण गर्ने भनेर अध्ययन गर्न समस्या भइरहेको जानकारी भवन विभाग स्रोतले दिएको छ । सरकारले शीतल निवासलाई विस्तार गरी सुविधासम्पन्न बनाउने कार्यको समन्वय गर्ने जिम्मेवारी राष्ट्रपति कार्यालयलाई दिएको छ ।

प्रहरी एकेडेमीको जग्गा थपिएपछि मात्र राष्ट्रपति कार्यालयमा हुने औपचारिक समारोहका क्रममा हुने पार्किङको समस्यासमेत अन्त्य हुने दाबी प्रधानमन्त्री कार्यालयका अधिकारीको छ । ती अधिकारीका अनुसार राष्ट्रपति कार्यालयमा औपचारिक समारोहका क्रममा आउने पाहुनाका गाडीलाई पार्किङ गर्ने स्थलको अभाव रहेको छ । समारोह हुँदा नजिकको प्रहरी एकेडेमीभित्र गाडी पार्किङ गर्न पठाउने गरिएको छ ।

कसरी भयो एकेडेमी सार्ने निर्णय

राष्ट्रपति कार्यालयले राष्ट्राध्यक्षको कार्यालय र निवासलाई व्यवस्थित गर्न दबाब दिएपछि सरकारले कसरी र कहाँ बनाउने भनेर सुझाव दिन सचिव अधिकारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । सरकारले समितिलाई राष्ट्रपति कार्यालय र निवास सार्ने वैकल्पिक ठाउँसमेत प्रस्ताव गर्ने कार्यादेश दिएको थियो ।

समितिले सुरुमा राष्ट्रपति कार्यालय र निवास सार्न नारायणहिटी दरबार, बहादुर भवन वा महाराजगन्जस्थित शिक्षण अस्पताल रहेको स्थलका बारेमा अध्ययन गरेको थियो । समितिले राष्ट्रपतिलाई नारायणहिटीमा सार्दा आमजनतामा गलत सन्देश जाने र अन्य दुई स्थानमा सुविधासम्पन्न कार्यालय र निवासका लागि ठाउँ अपुग हुने निष्कर्ष निकाल्यो ।

अन्तिममा समितिले राष्ट्रपति कार्यालयलाई विस्तार गर्न प्रहरी एकेडेमी रहेको ठाउँ उपयुक्त हुने निष्कर्षसहित त्यसलाई अन्यत्र सार्न सरकारलाई सुझाव दिएको जानकारी स्रोतले दिए । स्रोतका अनुसार शीतल निवास परिसर ११३ रोपनीको छ । प्रहरी एकेडेमीले ओगटेको जग्गा १९३ रोपनी छ ।

समितिले १ सय ९३ जग्गा थपिएपछि राष्ट्रपति कार्यालयलाई उसले चाहेअनुसार विस्तार गरी सुविधासम्पन्न बनाउन सकिने सुझाएको हो । समितिको सुझावमा सरकारले भदौ २१ मा एकेडेमी सार्ने र त्यहाँ राष्ट्रपति कार्यालय विस्तार गर्ने निर्णय गरेको हो ।

प्रकाशित : मंसिर ७, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?