व्यक्तिगत खर्चमा अस्पताल

भीमबहादुर सिंह

जाजरकोट — छेडागाड नगरपालिका ५, बडावन गाउँमा सुविधासम्पन्न सामुदायिक अस्पताल भवन बनेको छ । समाजसेवी तथा पूर्वसांसद राजीवविक्रम शाहले ६ करोड खर्चिएर अस्पतालको भवनलगायत भौतिक संरचना निर्माण गरिदिएका हुन् ।

व्यक्तिगत खर्चमा अस्पताल

शाहले २५ शय्याको हाम्रो कुमारी फाउन्डेसन अस्पताल सञ्चालन गर्न भवन निर्माण पूरा भएको जानकारी दिए । गत वर्षबाट निर्माण सुरु गरिएको थियो । सामुदायिक अस्पतालका लागि बडावनमा इन्डोर, ओपीडी, अप्रेसन, एक्सरे, प्रसूति, ल्याब, फार्मेसी, डाक्टर तथा नर्स क्वार्टर, प्रशासन, शौचालयलगायत दर्जन भवन बनेका छन् ।


बडावनवासीले नि:शुल्क उपलब्ध गराएको ५ रोपनी जग्गामा अस्पतालका लागि अत्याधुनिक भवन बनाइएको हो । पटकपटक झाडापखालालगायत महामारीबाट पीडित स्थानीयको स्वास्थ्य सुविधालाई ध्यान दिई दुर्गम गाउँमै विशेषज्ञ सेवा दिने गरी अस्पताल सञ्चालन गर्न लागेको शाहले बताए । ०७६ देखि अस्पताल सञ्चालन आउने शाहले जनाए । अस्पतालमा उपकरणलगायत जुटाउन थप ५/६ करोड खर्च लाग्ने उनको भनाइ छ ।


व्यक्तिगत खर्चमा भवन निर्माण पूरा गरे पनि अस्पताल सञ्चालन, रेखदेख र सेवा प्रवाहमा सरकारी तथा गैरसरकारी निकायको साझा दायित्व बोध हुने गरी काम अघि बढाएको शाह बताउँछन् । अस्पताल सञ्चालन बोर्डमा सबै दल तथा सरोकारवालाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउने उनले जनाए ।


अस्पतालबाट दुर्गम, विकट गाउँ र विपन्न समुदायका जनताको पहुँचमा सहज तथा गुणस्तरीय सेवा प्रवाहमा पहलकदमी भइरहेको उनी बताउँछन् । चर्चित समाजसेवी महावीर पुन, रोटरी क्लब इन्टरनेसनल, केही मेडिकल कलेजका विशेषज्ञ डाक्टरसँग उपचार सेवा, उपकरण, अस्पताल सञ्चालन खर्च तथा स्रोत व्यवस्थापनलगायतमा छलफल भइरहेको शाहले जानकारी दिए ।


अस्पताल सञ्चालन गर्न मासिक २५ लाख रुपैयाँसम्म खर्च लाग्ने उनको भनाइ छ । स्वास्थ्य समस्याले आक्रान्त जाजरकोटको पश्चिम भेगका साथै दैलेख र जुम्लावासीका लागि व्यक्तिगत खर्चमा अस्पताल बनाउन तम्सिएका शाहको वाचा पूरा भएको स्थानीय गीता शाहीले बताइन् । उनले शाह जनताका लागि केही गर्छु भनेर लागिपर्ने समाजसेवी भएको सुनाइन् ।


अस्पताल भवन निर्माण जिम्मा पञ्चकन्या ग्रुपले लिएको थियो । अस्पतालको भौतिकस्वरूप तयार भइसकेको छ भने सेवा प्रवाह बाँकी छ । अस्पतालबाट यहाँका ८० हजार स्थानीयलाई स्वास्थ्य सेवा पाउन सहज हुने शाहीले बताइन् ।


समाजसेवामार्फत राजनीतिमा आएका शाहले ०७० को दोस्रो संविधानसभा निर्वाचनमा जाजरकोट २ बाट चुनाव जितेका थिए । कांग्रेस उम्मेदवार शाहले ०७४ को संघीय संसद्को निर्वाचनका बेला जाजरकोटी जनताका लागि व्यक्तिगत पहल र लगानीमा अस्पताल बनाउँछु भन्ने घोषणा गरेका थिए ।


पुख्र्यौली घर जाजरकोट भएका शाह वाम गठबन्धनका उम्मेदवार एवं वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग पराजित भएका थिए । ‘चुनाव जित्ने/हार्नेसँग अस्पतालको कुनै सम्बन्ध छैन,’ शाहले भने, ‘चुनावका बेला गरेको वाचा पूरा गरेँ । सकेसम्म यहाँकै जनताका लागि केही गर्न चाहन्छु ।’


दुर्गम गाउँ बडावनमा सुविधासम्पन्न अस्पताल सञ्चालनमा आएपछि विभिन्न स्वास्थ्य समस्याबाट आक्रान्त हुने जनताले ठूलो राहत पाउने वडाध्यक्ष महेन्द्रबहादुर शाहीले बताए ।

प्रकाशित : मंसिर ७, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?