कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेश २ सरकारको प्रस्टोक्ति, 'योगीलाई निम्तो गरेका छैनौं'

घनश्याम खड्का

काठमाडौँ — बिमस्टेक सम्मेलनका बेला चौथो पटक नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाँचौंपटक आउन निम्तो दिएका थिए, केपी ओलीले । विवाह पञ्चमीमा जनकपुरको रामजानकी मन्दिर आउन ओलीको निम्तोमा मोदीले स्वीकारोक्ति पनि जनाएका थिए । 

प्रदेश २ सरकारको प्रस्टोक्ति, 'योगीलाई निम्तो गरेका छैनौं'

भारतीय लोकसभा चुनावका कारण उनी आउन नसक्ने भएपछि विवाह पञ्चमीमा भारतीय पाहुना को हुने भन्नेबारे विभिन्न अडकलबाजी भएका छन् । परराष्ट्र मन्त्रालयमा केही समयअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने प्रसंग चलेको थियो । मोदीले आफ्नो प्रतिनिधिस्वरूप रेल्वे मन्त्री पीयूष गोयललाई पठाउने तयारी गरेको आँकलन पनि भयो । तर, यसबारे कुनै टुंगो लागिनसकेको परराष्ट्रले जनाएको छ ।


‘योगी आउने भन्नेबारे हल्का कुरासम्म भएको हो तर कुनै निर्णय भएको छैन,’ स्रोतले भन्यो । भारतीय पक्षबाट भ्रमण रद्द भएपछि मोदी र ओलीबाट संयुक्त रुपमा जनकपुर–जयनगर रेलमार्ग उद्घाटन गर्ने कार्यक्रम पनि नहुने स्रोतले बतायो ।


प्रदेश सरकारले भने रेलमार्ग उद्घाटन भए/नभए पनि विवाह पञ्चमीमा उच्चस्तरका छिमेकी अतिथि आउने आशा गरेको छ । ‘जनकपुरमा जो भए पनि विवाह पञ्चमीका दिन आउने पाहुनालाई हामी भव्य स्वागत गर्छौं,’ प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले भने, ‘को आउने भन्नेबारे संघीय सरकारको परराष्ट्र मन्त्रालयले तय गर्ने हो, हामीलाई अहिलेसम्म केही भनिएको छैन ।’


आदित्यनाथलाई प्रदेश सरकारले नै बोलाएको भन्ने प्रचारमा कुनै सत्य नरहेको यादवले बताए । ‘विदेशी पाहुनालाई प्रदेश सरकारले कसरी बोलाउन मिल्छ ?,’ उनले भने, ‘यो हल्ला हो, हामीले कसैलाई निम्तो दिएका छैनौं ।’


हिन्दु धर्मको प्रवर्द्धनमा सक्रिय योगी आदित्यनाथलाई नेपालमा बोलाउनु गलत हुने प्रमुख प्रतिपक्ष कांग्रेसले जनाउँदै आएको छ ।


‘कुनै निर्णय नै नभई विरोध भइरहेका छन्, यसमा मलाई भन्नु केही छैन,’ मन्त्री यादवले भने, ‘तर, प्रस्ट कुरा के हो भने प्रदेश सरकारले कुनै देशको मुख्यमन्त्री वा केन्द्रीय मन्त्रीलाई आफूखुसी बोलाउन संविधान र ऐन कानुनले दिँदैन, हामीले त्यसो गरेका पनि छैनौं ।’

प्रकाशित : मंसिर ७, २०७५ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?