२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जग्गा भाडामा दिन क्याम्पस प्रमुखकै जोड

सूचनामा बाली लगाउने, ठेक्का सम्झौतामा व्यापारिक प्रयोजन
मकर श्रेष्ठ

भक्तपुर — सानोठिमी क्याम्पस प्रमुखको एकल सक्रियतामा मूल सडकसँगै जोडिएको जग्गा भाडामा दिएको पाइएको छ ।

क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले आफ्नै अध्यक्षतामा गुपचुप समिति गठन गरी क्याम्पस कार्यसमितिको निर्णयविपरीत १३ रोपनी जग्गा व्यापारिक प्रयोजनका लागि भाडामा दिएका हुन् ।


२०७५ वैशाख ४ गते घिमिरेको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले क्याम्पसले भोगचलन गर्दै आएको जग्गा गोदाम (तरकारी, धान र व्यापारिक खाद्यान्न) प्रयोजनार्थ १० वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो । बैठकको निर्णय नम्बर ३ मा जग्गा भाडामा दिने उल्लेख छ ।


क्याम्पसले पेप्सीकोलाबाट भक्तपुर जाने पुरानो बाटोको उत्तर, मगरगाउँ जाने पिच सडकको पश्चिमतर्फको १३ रोपनी जग्गा प्राणनाथ क्याफेलाई भाडामा लगाएको छ । शिक्षकका लागि बनाइएको क्वार्टरसमेत ठेक्का पाएको कम्पनीले प्रयोग गर्न पाउने गरी सम्झौता भएको छ । सम्झौताअनुसार एक रोपनीको मासिक ५ सय ९७ रुपैयाँ भाडा क्याम्पसले प्राप्त गर्नेछ ।


जग्गा भाडामा दिने भदौ २६ को सूचनामा समेत घिमिरेले हस्ताक्षर गरेका छन् । सूचनाअनुसार परेको सबै कोटेसन खोल्दा पनि उनकै हस्ताक्षर छ । असोज ११ मा समिति बैठकले गोप्य सिलबन्दी कोटेसन खोलेको थियो । कोटेसन मूल्यांकन समितिमा क्याम्पस प्रमुख घिमिरे अध्यक्ष, दीनानाथ पण्डित, रामहरि फुयाल, मोहन पाण्डे, रमेश खडका सदस्य छन् । तुलसी कृष्ण छुँजु आमन्त्रित सदस्य छन् । क्याम्पस कार्यसमिति सदस्य सोमनाथ ढकाल र पूर्णबहादुर ढकाललाई समितिमा राखिएको छैन ।


‘जग्गा भाडामा दिने सुरुको निर्णयबाहेक पछिल्लो कुनै प्रक्रियाबारे हामीलाई थाहा छैन,’ कार्यसमिति सदस्य ढकालले भने, ‘भाडाको विवाद बढेपछि क्याम्पस प्रमुखले कार्यसमिति बैठक राखेर टुंग्याउनुपर्छ भनिरहनुभएको छ । जसले ठेक्का दिने निर्णय गरेको हो, उसैले मिलाउनुस् भनेको छु ।’


घिमिरेले वैशाख ४ को निर्णयविपरीत अर्कै प्रयोजनका लागि जग्गा भाडामा लगाएका छन् । क्याम्पसले भदौ २७ मा राजधानीको एक पत्रिकामा प्रकाशित सूचनामा बाली लगाउने प्रयोजनका लागि ठेक्कामा दिने भनिएको छ । क्याम्पस कार्यसमितिको वैशाख ४ मा बसेको बैठकले गोदाम प्रयोजन र बाली लगाउन भाडामा दिन सकिने निर्णय गरेको छ । कार्यसमितिको अध्यक्ष क्याम्पस प्रमुख हुन्छन् ।


घिमिरेले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘न्यूनतम १० रोपनी जग्गा बाली लगाउने प्रयोजनका लागि ठेक्कामा दिनुपर्ने भएकाले इच्छुक नेपाली नागरिक, फर्म वा संस्थालाई सिलबन्दी कोटेसन आहवान गरिएको ।’ यो सूचनाअनुसार क्याम्पसको जग्गामा बाली लगाउनबाहेक अन्य काम गर्न पाइँदैन । प्राणनाथ क्याफेसँगको सम्झौतामा भने व्यापारिक प्रयोजनका लागि भाडामा दिइएको उल्लेख छ । ‘क्याटरिङ र रेस्टुरेन्ट सञ्चालन गर्न हुँदैन भने ठेक्का पाएका व्यक्तिलाई त्यो काम नगर्न भन्न सकिन्छ,’ प्रमुख घिमिरेले भने ।


क्याम्पसका कर्मचारी, स्ववियु, प्राध्यापक संघ–संगठनले विरोध जनाएपछि प्रमुख घिमिरे ठेक्का रद्द गर्नेभन्दा पनि मूल्य बढाएर उसैलाई दिनुपर्ने पक्षमा लागिपरेका छन् । ‘जग्गा ठेक्का पाएका व्यक्तिले बेकरी उत्पादन गर्ने मेसिन खरिद गरिसकेको जानकारी गराएका छन्, कानुनले त ऊ माथि परिसकेको छ,’ उनले भने । क्याम्पस र ठेक्का पाएको प्राणनाथ क्याफेबीच भएको सम्झौतामा उक्त जग्गामा कानुनले बर्जितबाहेक अरू काम गर्न पाउने उल्लेख छ ।


त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले समेत बाली लगाउन टेन्डर प्रक्रिया अपनाएर दिन क्याम्पस पदाधिकारीलाई निर्देशन दिएको थियो । क्याम्पसले २०७० देखि बाली लगाउन भाडामा दिएको जग्गाको म्याद थप गर्न विश्वविद्यालयसँग स्वीकृति माग्दा ठेक्का प्रक्रियाबाट दिन निर्देशन दिएको थियो । २०७२ चैत मसान्तमा बाली लगाउनेसँग भएको ठेक्काको म्याद समाप्त भएपछि क्याम्पसले पुन: तीन वर्षका लागि म्याद थप्न स्वीकृति मागेको थियो ।


क्याम्पसले बाली लगाउन म्याद थपका लागि स्वीकृति माग गरेकामा ठेक्का वा भाडामा दिने प्रक्रिया अघि बढाउन सकिने गरी विश्वविद्यालयले सहमति दिएको थियो । विश्वविद्यालयले पनि बाली लगाउनेबाहेक अन्य प्रयोजनका लागि स्वीकृति दिएको छैन । क्याम्पसले २०७० देखि १७ रोपनी ९ आना जग्गा तरकारी खेती गर्न भाडामा लगाउँदै आएको थियो । बालीबापत प्रतिरोपनी वार्षिक ५ हजार रुपैयाँ लिने गरेको क्याम्पसले जनाएको छ ।

प्रकाशित : मंसिर ८, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?