स्थानीय तहमा हाकिम फेरिएको फेरियै

राजविराज — राजविराज नगरपालिका पछिल्लो २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन छ ।

प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको बोर्ड बैठक पनि बस्न सकेको छैन । यसले विकासका गतिविधि पनि प्रभावित बनेको छ ।


नगरपालिका क्षेत्रभित्र बसपार्क, हटियाको कम्प्लेक्स निर्माण लगायत भौतिक विकासका काम भइरहँदा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नीतिगत निर्णय, भुक्तानीका काम प्रभावित भएका छन् । गत असोज १८ गते बिदा लिएर अमेरिका गएका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्की स्वदेश फर्के पनि हाजिर भएका छैनन् । उनी मन्त्रालयमै गएर हाजिर भएको बुझिएको छ ।


नगरपालिका प्रमुख शम्भु यादवले प्रशासकीय अधिकृत नहुँदा हरेक काम प्रभावित भएको बताए । ‘बोर्ड बैठक बस्न सकेको छैन, विकासका गतिविधि अघि बढ्न सकेका छैनन्,’ उनले भने,‘कार्की नआए अर्को प्रमुख प्रशासकिय अधिकृत पठाउन पटक–पटक मन्त्रालयमा आग्रह गरिसकेँ ।’ यहाँ उपसचिवस्तरको दरबन्दी छ । ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा कसरी काम अघि बढाउनु ?’ मेयर यादवले भने, ‘अझ पर्याप्त कर्मचारी पनि छैनन् ।’


राजविराज नगरपालिकामा जनप्रतिनिधि आएको डेढ वर्षको अवधिमा ३ प्रशासकीय अधिकृत फेरिएका छन् । जनप्रतिनिधि निर्वाचित भएर पदास्थापन हुँदा उमेशकुमार यादव प्रमुख प्रशासकीय अधिकृत थिए । उनी केही दिनपछि सप्तरीकै बोदेवरसाइन नगरपालिकामा सरुवा भए । उनको स्थानमा धीरेन्द्र यादव आए । धीरेन्द्रपछि चन्द्रबहादुर कार्की आएका थिए ।


राजविराज नगरपालिका मात्र होइन्, जिल्लाका अधिकांश स्थानीय तहमा पछिल्लो डेढ वर्षको अवधिमा ३/४ जना प्रमुख प्रसाशकीय अधिकृत फेरिएका छन् ।

कतै जनप्रतिनिधिसित कुरा नमिल्दा त कतै आफ्नै कारणले प्रमुख प्रशासकीय अधिकृतहरू जिल्लामा फरिने गर्छन् । जिल्लाका अधिकांश स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा काम प्रभावित बन्दै आएको छ ।

प्रकाशित : मंसिर ९, २०७५ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?