कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

तराईको क्षति रोक्न पहाडसँग हातेमालो

तुलाराम पाण्डे

कालिकोट — पहाडमा पहिरो र तराईमा बाढी । समस्या उस्तै, अवस्था फरक । पहाडबाट पहिरोसँगै आउने बाढीले तराईमा डुबान र कटान निम्त्याउँछ । पहाडभन्दा तराईमा क्षति पनि बढी हुुने गरेको छ ।

पहाडी जिल्ला हुँदै तराई झर्ने कर्णाली नदीले तराईमा बर्सेनि विध्वंस मच्चाउँछ । कर्णालीलगायतका नदीनालाले पहाडमा पनि समस्या पारिरहेकै छ ।


वर्षायाममा उर्लिएर झर्ने कर्णालीबाट सबैभन्दा बढी पीडित छन् बर्दियाको राजापुरवासी । वरिपरि कर्णाली नदीको भँगालोले टापु बनाएको राजापुरमा वर्षा लागेपछि सधैं बाढीको त्रास हुन्छ । अरू बेला जंगली जनावरको डर । तराईको क्षति न्यूनीकरणमा पहाडी जिल्लाको भूमिका खोज्दै राजापुर नगरपालिकाको एउटा टोली कालिकोट सदरमुकाम मान्म आइपुगेको छ । मान्मभन्दा केही तलबाट बग्छ कर्णाली ।


राजापुर कर्णालीवासीको परम्परागत हाटबजार हो । सडक नहुँदा कर्णालीवासी हिउँदमा १५/२० दिन हिँडेर नुन, तेल, लत्ताकपडा लिन राजापुर झर्थे । अहिले सडकले सजिलो बनाइदिएको छ ।


राजापुरबाट आएको १० जनाको टोलीले नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधिसँग आफ्ना समस्या राख्यो । दुई पालिकाका जनप्रतिनिधिले संयुक्त जलकचहरी राखेर पानीका कारण निम्तिएका साझा समस्या र समाधानको उपायबारे छलफल गरे । र, संयुक्त कार्ययोजना तयार पारे ।


कार्ययोजनामा कर्णाली जलाधारभित्रका ठूला आयोजनाले पार्ने प्रभावबारे सरकारको ध्यानाकर्षण गराउने, पानी, पोखरी र सिमसार क्षेत्रको संरक्षण गर्ने, जलाचर प्राणी संरक्षण नीति बनाउने, चरिचरन र सामुदायिक वन व्यवस्थापन नीति बनाउने, भूउत्खनन रोक्ने, जथाभावी ढुंगा, बालुवा निकासीलाई व्यवस्थित गर्ने, जडीबुटी संरक्षण र खेती गर्ने उल्लेख छ ।


‘तराई र पहाड जोड्न साझा सवालमा छलफल गर्‍यौं,’ राजापुरबाट नगरपालिकाको नेतृत्व गर्दै आएका राजापुर ८ का वडाध्यक्ष चिन्तामणि आचार्यले भने, ‘दुवै पालिकाका समुदायले भोग्नुपरेका समस्या समाधान गर्न साझा योजना बनाएका छौं ।’


तराईका लागि पहाडले वातावरणमैत्री भौतिक पूर्वाधार, वन र पानीको संरक्षण गर्ने सहमति भएको उनले बताए । राजापुरको बाढीको समस्या कम गर्न आफूहरूले वन संरक्षण, पहिरो रोकथाम, ढलको सुरक्षित विसर्जनलगायत काम गर्ने प्रतिबद्धता जनाएको नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए ।


कर्णाली करिडोरमा डुंगासहितको जल पर्यटन प्रवद्र्धन गर्न, बाढीका लागि पूर्वसूचना प्रणाली स्थापना गर्न, कर्णाली नदीमा फिस करिडोर निर्माण गर्न प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने सहमति पनि उनीहरूले गरेका छन् । त्यस्तै पानीको मूलको संरक्षण, फोहोरमैला र ढलको व्यवस्थापनमा जोड दिइएको छ ।

प्रकाशित : मंसिर १०, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?