कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ महिनादेखि औषधि अभाव

जिल्ला स्वास्थ्य र क्षेत्रीय मेडिकल स्टोरले लामो समयदेखि औषधि नपठाउँदा सर्वसाधारण मर्कामा
राजबहादुर शाही

मुगु, रातापानी — खत्याड गाउँपालिका रातापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ५ महिनादेखि औषधि अभाव छ । सामान्य औषधिसमेत पाउन मुस्किल भएपछि सबै सेवा प्रभावित भएको हो । केन्द्रमा साउनदेखि औषधि गएको छैन ।

५ महिनादेखि औषधि अभाव

पाँच महिनादेखि यहाँ सिटामोलसमेत नभएको स्वास्थ्यकर्मीले जनाए । केन्द्रमा तीन शय्या सञ्चालनमा छन् । औषधि अभावले टाढादेखि बिरामीलाई खाली हात फर्कनुपरेको छ ।


जिल्ला स्वास्थ्य र क्षेत्रीय मेडिकल स्टोरले लामो समयदेखि औषधि नपठाउँदा सर्वसाधारण मर्कामा परेको स्वास्थ्यकर्मीले बताए । गाउँपालिकाले औषधि खरिदमा चासो नदिएको उनीहरूको आरोप छ ।


केन्द्रमा डा. त्रिलोचन पन्थी र किशोर खड्का कार्यरत छन् । औषधि नहुँदा सबै स्वास्थ्यकर्मी फुर्सदिला बनेका छन् । ‘औषधि छैन, उपचारमा आएका सबै रिसाएर फर्कन्छन्,’ डा. पन्थीले भने, ‘हामीले विभिन्न निकायमा अनुरोध गरे पनि बेवास्ता भइरहेको छ ।’ उनका अनुसार सिटामोलसमेत केन्द्रमा छैन । पछिल्लो समय उपचारमा आउनेको संख्या शून्य भएको उनले बताए ।


यसले गर्भवती र सुत्केरीलाई सबैभन्दा बढी समस्या परेको अनमि गीता कार्कीले बताइन् । उनका अनुसार एमोक्सोसिलिन, डिक्लोफिनेक डिपो, नरप्लान्ट, ओरल पिल्स केही छैन । झाडापखालामा प्रयोग हुने नर्मल सलाई आरएलसमेत सकिएको उनले जनाइन् । आम, सुकाढिक, रिघा, कोटडाँडावासीका लागि यो पायक पर्छ ।


चिसो र धूलोका कारण गाउँबस्तीमा रुघाखोकी, निमोनिया, ज्वरो फैलिन सक्ने डर रहेको स्वास्थ्यकर्मीले जनाए ।


स्थानीय तह गठनपछि गाउँमा औषधि अभाव हुन थालेको स्थानीयको भनाइ छ । नजिकै स्वास्थ्य केन्द्र भए पनि सिटामोल पनि नपाएको रातापानीकी सेतु कार्कीले बताइन् । ‘उपचारका लागि जाँदा डाक्टरले औषधि बाहिरबाट किन्नु भन्छन्,’ उनले भनिन्, ‘त्यसैले उपचार गराउन सदरमुकामतिर जान्छौं ।’


खत्याड गाउँपालिकाका १० वटै सरकारी स्वास्थ्य केन्द्रमा औषधि पाउन मुस्किल छ । सबै स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपबहादुर कार्कीले बताए । चालु चौमासिकमा करिब ४ लाख रुपैयाँको औषधि खरिद गरेर स्वास्थ्य संस्थालाई वितरण गर्ने योजना रहेको उनले जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई औषधि कति चाहिन्छ भनेर माग गरिएको गाउँपालिका अध्यक्ष उब्जन शाहीले बताए । सबै स्वास्थ्यचौकीमा औषधि पुर्‍याउन लागिपरेको उनले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमात्रैले १२ लाखको औषधि मागेको छ,’ उनले भने, ‘बजेटले धान्न नसकिने गरी माग भएकाले खरिदमा समस्या भएको हो ।’

प्रकाशित : मंसिर १०, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?