२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

चीन–भारत वार्ता : सीमा विवाद सुल्झाउन सहमति 

चेतनाथ आचार्य

बेइजिङ — चीन र भारतले आपसी मतभेद समाधानका लागि दुई पक्षबीच सम्पर्क बढाउने सहमति गरेका छन् । चीनको सिचुवान प्रान्तको छन्दुमा शनिबार भएको द्विपक्षीय वार्तामा यस्तो सहमति भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । 

चीन–भारत वार्ता : सीमा विवाद सुल्झाउन सहमति 

वार्तामा सीमा क्षेत्रको शान्ति सुरक्षाको संरक्षण गर्ने, सीमामा आपसी विश्वास बढाउने, सीमामा तैनाथ सेनालगायत दुवै पक्षका सरकारी निकायबीचको सम्पर्क तथा समन्वय मजबुत पार्नेसमेत सहमति भएको छ ।

यस्तै, रणनीतिक सम्पर्क बढाउने, राजनीतिक विश्वास बढाउँदै न्यायोचित, निष्पक्ष र दुवै पक्षले स्वीकार गर्ने सीमा समस्या समाधानका उपाय खोज्ने सहमति भएका छन् । यिनको कार्यान्वयनका लागि प्राविधिक तहमा पठाउने अधिकारीहरूले जनाएका छन् ।

यसअघि यस्तो सहमति भएको थिएन । वार्तामा आपसी सम्बन्ध र साझा चासोका अन्तर्राष्ट्रिय एवं क्षेत्रीय समस्याबारे गहन रूपमा छलफल भई महत्त्वपूर्ण सहमति भएको जनाइएको छ । वार्तापछि चिनियाँ विदेशमन्त्री वाङले चीन र भारतबीचको आपसी सम्बन्धको विकासका लागि रणनीतिक दिशा दर्शाएको बताए ।

आपसी सम्बन्धमा चौतर्फी सुधार देखिएको भन्दै उनले अहिलेको वार्तामा व्यापक सहमति प्राप्त हुनु दुई देशका लागि फलदायी र हितकर रहेको औंल्याए । भारतका सुरक्षा सल्लाहकार डोभलले पनि उहान वार्तामा हासिल महत्त्वपूर्ण मतैक्यको कार्यान्वयन गर्ने क्रममा अहिलेको वार्तामा सहमति जुटेको बताए ।

दुई देशले हरेक वर्ष सीमा समस्यामा केन्द्रित उच्चस्तरीय वार्ता आयोजना गर्दै आएका छन् । यसपटक चीनका तर्फबाट चिनियाँ राज्य परिषदका सदस्य तथा विदेशमन्त्री वाङ यीले चिनियाँ टोलीको नेतृत्व गरेका थिए भने भारतका तर्फबाट भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलनेतृत्वको टोली सहभागी थियो ।

यो वार्ता चीन–भारत सीमासम्बन्धी विशेष प्रतिनिधिको २१ औं वार्ता हो । सन् १९६२ मा युद्ध भएपछि दुई देशबीच सीमा विवाद रहँदै आएको छ । हाल चीनसँग जोडिएको भारतको पूर्वोत्तर अरुणाचल प्रदेश र पश्चिम उत्तर जम्मुकश्मीरका केही भागलाई लिएर दुई देशबीच सीमा विवाद रहँदै आएको छ ।

गत वर्ष चीन र भुटानबीचको दोक्लम क्षेत्रमा देखिएको मुख्य द्वन्द्व पनि चीन र भारतबीचको सीमा विवादकै एउटा रूप थियो ।

सीमा विवादकै विषयमा चीनका राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच तीनपटक गम्भीर वार्ता भइसकेको छ । गत अप्रिलमा सी र मोदीबीचमा उहानमा भएको भेटवार्तालाई दुई देशबीचको सम्बन्धमा कोसेढुंगा मानिएको छ ।


प्रकाशित : मंसिर १०, २०७५ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?