भाषिक औपनिवेशिकता लादनु हुन्न : भाषा आयोग

गणेश राई

काठमाडौँ — भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपाल सार्वभौमसत्ता सम्पन्न बहुभाषिक मुलुक भएकाले भाषिक औपनिवेशिकता लाद्न नहुने बताएका छन् ।

भाषिक औपनिवेशिकता लादनु हुन्न : भाषा आयोग

भाषा विज्ञान समाज नेपाल र त्रिवि नेपालभाषा केन्द्रीय विभागद्वारा आयोजित ३९ औं भाषा सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल कुनै मुलुकको उपनिवेश नभए पनि अन्जानमै भाषिक औपनिवेशिकता लादिएको बताए ।


‘संसारका विकसित मुलुकले अरूका भाषा होइन, आफ्नै मुलुकको भाषा प्रवद्र्धन गरेर अघि बढेका प्रशस्त उदाहरण छन्,’ उनले भने, ‘त्यसैले अब बहुभाषिक नेपालको परिवेशमा छलफल, बहस गरेर तथ्यपरक ढंगले अघि बढ्न आवश्यक छ ।’ अध्यक्ष अवस्थीले भाषाको पूर्वाधारबिना नेपालको समृद्धि सम्भव नभएको पनि बताए ।


विश्वका ३० मुलुकको एक अध्ययनको सार प्रस्तुत गर्दै उनले तीमध्ये चार वटाको अंग्रेजीको विकल्प नरहेको र अन्य मुलुकले आफ्नै भाषा प्रयोग गरेको उदाहरण पेस गरे । उनले आयातित भाषाबाट हाम्रो विकास गर्ने सम्भावना खोज्ने बाहयमुखी चिन्तनबाट ग्रसित रहेको उल्लेख गरे । ‘आफ्नो भाषा त्यागेर अरूको भाषा ल्याएर कुनै मुलुकको विकास भएको दृष्टान्त छैन,’ उनले भने, ‘त्यसकारण नेपालको विकासको सन्दर्भमा पनि कसरी भाषालाई विकासमा जोड्न सकिन्छ, सोच्न जरुरी छ ।’


अध्यक्ष अवस्थीले नेपालमा ७ हजार ५ सय पत्रपत्रिका प्रकाशनमा रहेकामा पाँच हजार नेपाली भाषामा, दुई हजार अन्य मातृभाषामा र करिब पाँच सय वटाजति अंग्रेजीमा प्रकाशनमा रहेको उल्लेख गरे ।


‘बाहिर समाजमा अंग्रेजीबिना प्राण नै चल्दैन जस्तो देखिए पनि अंग्रेजी प्रयोग गर्ने ज्यादै कम छन्,’ उनले भने, ‘रैथाने भाषाको स्रोत गुम्दै गएको अवस्था छ । त्यसकारण ती रैथाने भाषाको स्रोत पुन: प्राप्तिका निम्ति भाषाविज्ञान समाजले बढी चासो जगाउन जरुरी छ ।’


तथ्यांकअनुसार मुलुकमा १ सय २३ भाषा छन् । तीमध्ये १९ भाषा ९६ प्रतिशतले बोल्छन् भने १ सय ४ वटा भाषा ४ प्रतिशतले बोल्छन् । पहिलो भाषाका रूपमा नेपाली भाषा बोल्ने ४४ दशमलव ६ प्रतिशत छन् । दोस्रो भाषाका रूपमा नेपाली भाषा बोल्ने ३२ दशमलव ८ प्रतिशत छन् ।


सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले संविधानले मुलुकमा बोलिने रैथाने भाषालाई राष्ट्रभाषा भनेकाले त्यसको उचित संरक्षण र प्रवद्र्धन जरुरी रहेको बताए । ‘राष्ट्रभाषाले राष्ट्र निर्माणमा सघाउ पुर्‍याउनेछ,’ उनले भने, ‘राष्ट्रिय पहिचान निर्माणका निम्ति नेपालका रैथाने लोपोन्मुख भाषा जोगाउन जरुरी छ ।’


भाषाविज्ञान समाजका अध्यक्ष भीमनारायण रेग्मीले नेपाली समाजका भाषाको धेरै पक्ष अध्ययन, अनुसन्धान बाँकी रहेको बताए । उनले वर्तमान संघीय मुलुकमा स्थानीय सरकारले करिब ३३ वटा भाषालाई सरकारी कामकाजको भाषा बनाएर अघि बढ्न सक्ने बताए ।


सम्मेलन उद्घाटन समारोहमा सन् १९७९ मा स्थापित भाषाविज्ञान समाजका संस्थापक अध्यक्ष प्राध्यापक कमलप्रकाश मल्लको हालै भएको निधनप्रति एक मिनेट मौनधारण गरिएको थियो । प्राध्यापक मल्लको प्राज्ञिक व्यक्तित्व तथा योगदानबारे भाषाशास्त्री तेजरत्न कंसाकारले चर्चा गरेका थिए । समाजले प्रकाशित गरेको ‘नेपलिज लिङ्गुइस्टिक’ नामक जर्नल सार्वजनिक गरिएको थियो ।


साथै जर्मनीको किल युनिभर्सिटीका प्राध्यापक जोज पिटर्सनले ‘पूर्वी केन्द्रीय दक्षिण एसियाका विशेष सन्दर्भमा दक्षिण एसियामा प्राग ऐतिहासिककालमा अस्ट्रो एसियाली परिवारका भाषाहरूको विस्तार’ शीर्षकमा प्रवचन दिएका थिए । दुईदिने सम्मेलनमा देश, विदेशका विभिन्न भाषाका ६० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने समाजका महासचिव कर्णाखर खतिवडाले जनाएका छन् ।

प्रकाशित : मंसिर १०, २०७५ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?