१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सडक बन्यो, पुलले समस्या

नारायणगढ-मुग्लिन खण्डमा १८ वटा पुल छन् । तीमध्ये ४ वटाको ठेक्का लागेर निर्माण जारी छ । अन्य १४ वटाको निर्माण सुरु हुन सकेको छैन । 
विमल खतिवडा

काठमाडौँ — चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड स्तरोन्नति गरिए पनि साँघुरा पुलका कारण समस्या थपिएको छ ।

सडक बन्यो, पुलले समस्या

सडक दुई लेन बनेको छ, पुलको चौडाइ भने ५ मिटर मात्र छ । साँघुरा पुल, त्यसमाथि रेलिङसमेत भाँचिएकाले दुईतर्फी यातायात सञ्चालनमा जोखिम छ ।


सन् २०१५ देखि स्तरोन्नति थालेर गत साउन २४ देखि सञ्चालनमा आएको यो खण्डमा १८ वटा पुल छन् । तीमध्ये ४ वटाको ठेक्का लागेर निर्माण जारी छ । अन्य १४ वटाको निर्माण सुरु हुन सकेको छैन । पुरानो सडकअनुसार पुल निर्माण गरिएको थियो ।


‘सडकमा समस्या छैन,’ नारायणगढ(मुग्लिन सडक आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी शिव खनालले भने, ‘तर पुलले गर्दा समस्या छ, पुल साँघुरो र जटिल ठाउँमा छन् । मुग्लिनबाट क्रमश : १, २ र ३ नम्बरमा बढी समस्या छ ।’


दैनिक उपभोग्य वस्तु बोकेर आउने ठूला गाडी यही सडक भएर राजधानी भित्रिन्छन् । ‘साँघुरा पुलले गर्दा बारम्बार गाडी रेलिङमा ठोक्किने, खोलामा खस्ने र पुलको दुईतिर जाम हुने गरेको छ,’ उनले भने, ‘अहिले पुलको मुखैमा पुगेपछि गाडीको ताँती लाग्ने गरेको छ ।’


खनालका अनुसार दासढुंगा पुल (१५ मिटर), खानी पुल (२० मिटर), मौली पुल (१५ मिटर) र जलवीरे पुल (८० मिटर) धमाधम निर्माण भइरहेको छ । दासढुंगा, खानी र मौली पुलको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ । १३ करोड ६५ लाखमा ठेक्का भएको ती पुलको काम ४९ प्रतिशत भएको छ । त्यस्तै, जलवीरे पुलको ठेक्का रौता कन्स्ट्रक्सनले लिएको छ । १३ करोड ९५ लाखमा ठेक्का भएको उक्त पुलको काम २१ प्रतिशत मात्र भएको छ ।


पुल महाशाखाका अनुसार १४ मध्ये ५ वटा पुल निर्माण गर्न जोखिम छ । ‘पुलले गर्दा समस्या भएको हामीले देखेका छौं,’ पुल महाशाखाका प्रमुख अर्जुनजंग थापाले भने, ‘निर्माण चाँडो गर्ने गरी लागिपरेका छौं, विदेशी विज्ञ नआएर समस्या भएको हो ।’


उक्त सडक ०३६ सालमा चीनको सहयोगमा बनेको हो । त्यही भएर अहिले पनि चिनियाँ विज्ञ टोलीको सहयोग लिन खोजेको उनले बताए । ‘तीन महिनादेखि चाइनिज टोलीको पर्खाइमा छौं,’ उनले भने, ‘तर आएको छैन, एक साताभित्र आउने कुरा छ ।’ उनले चिनियाँ टोली नआए विकल्प खोजिने बताए ।


महाशाखाका अनुसार खहरे, चिसेन्जी र तुइन खोलाका पुलमा बढी समस्या छ । ‘पहिला चाइनाले बनाएकाले उसैसँग आइडिया लिन खोजेका हौं, चाइनिज टोली नआए बंगलादेश र युरोपतिर विज्ञ खोज्छौं,’ उनले भने, ‘पुस अन्तिमबाट टेन्डरमा जाने योजना छ । त्यसअघि सबै काम सक्छौं ।’ उनका अनुसार अहिले नेपाल सरकारले बनाउने र पछि वल्र्ड बैंकले शोधभर्ना दिने भन्ने छ । बजेटको समस्या छैन । सबै पुललाई गरेर १ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित : मंसिर १०, २०७५ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?