आमाको नामबाट नागरिकता सहज बनाउन सांसदको सुझाव

‘महिला थप प्रताडित हुन नपर्ने गरी प्रावधान सच्याइनुपर्छ’
राजेश मिश्र

काठमाडौँ — सांसदहरूले आमाको नामबाट सन्तानले नागरिकता पाउने व्यवस्थालाई सहज बनाउन सुझाएका छन् । संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा उनीहरूले बाबु वा आमाको नामबाट नागरिकता लिने विषयलाई समान व्यवहार गर्न माग गरेका हुन् ।

आमाको नामबाट नागरिकता सहज बनाउन सांसदको सुझाव

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याइएको विधेयकमा आमाको नामबाट नागरिकता लिन खोज्दा पनि बाबुको खोजी गरिएको र बाबुको पहिचान हुन नसके त्यसको पुस्ट्याइँ गर्नुपर्ने प्रावधानप्रति सांसदहरूको आपत्ति छ ।


नागरिकता विधेयकको ३ (३) को ५ मा नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नेपालको नागरिक मानिने भनिएको छ ।


त्यस्तै विधेयकको दफा ६ (१) को ख खण्डको (क २) मा आमाको नामबाट नागरिकता लिनका लागि ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको पुस्ट्याइँसहित निज वा निजका आमाले गरेको स्वघोषणा’ भन्ने प्रावधान राखिएको छ ।


विधेयकका यिनै प्रावधान हटाउनुपर्ने र आमाको नामबाट सहजै नागरिकता वितरणको व्यवस्था मिलाइनुपर्ने भन्दै सांसदहरूले संशोधन हालेका छन् । राज्यव्यवस्था तथा सुशासन समितिले बुधबार विधेयकमाथि संशोधन हालेका सांसदलाई बोलाएर छलफल गरेको हो ।


सांसद गगन थापाले नेपाली नागरिक आमाबाट जन्म भएको भन्ने र सँगै बाबुको पुस्ट्याइँ गर्नुपर्ने विषय राख्दा आमाको नामबाट नागरिकता पाउने विषयका सबै भावना मरेको बताए । उनले पुस्ट्याइँ गर्नुपर्ने, प्रमाण खोज्नुपर्ने कामको दायित्व सरकारले लिनुपर्ने उनको भनाइ थियो छ । पाउनुपर्ने व्यक्तिले

बिनाझन्झट लिन सक्ने र पाउन नहुने व्यक्तिले लिनै नसक्ने गरी प्रशासनिक संयन्त्रको निर्माण आवश्यक रहेको उनले सुझाए ।


सांसद रामकुमारी झाँक्रीले नागरिकता वितरणमा महिला र पुरुषबीच समानताको हक कायम हुने गरी व्यवहार गरिनुपर्ने बताइन् । उनले पुरानो व्यवस्था विभेदकारी रहेको भन्दै नागरिकता प्राप्त गर्ने विधि र प्रक्रियामा समानताको व्यवस्था गर्न माग गरिन् । गृहमन्त्री रामबहादुर थापा तथा मन्त्रालयका अन्य अधिकारीसहितको छलफलमा महिला सांसदहरूले आमाको नाममा नागरिकता दिने सन्दर्भमा महिलालाई आँच नपुग्ने गरी व्यवस्था मिलाउन आग्रह गरेका थिए ।


सांसद मैना कुमारीले आमाको नामबाट नागरिकता दिइनुपर्ने व्यवस्थालाई सहज बनाइनुपर्ने बताइन् । छोरा र छोरीबीच समानताको आँखाबाट नागरिकता विधेयक नल्याइएको सांसद आमृता थापाको गुनासो थियो । उनले संविधानको व्यवस्था र मर्मभित्रै रहेर महिलालाई समानताको अनुभूति दिलाउने र झन्झटिलो प्रक्रिया पार गर्न नपर्ने गरी आमाको नाममा नागरिकता वितरणलाई सहज तुल्याउनुपर्ने उल्लेख गरिन् ।


‘बाबुको पहिचान हुन नसकेको पुस्ट्याइँ खोज्नु भनेको के हो ? त्यसले कस्तो र कति धेरै जटिलता निम्त्याउँछ ?’ उनले भनिन्, ‘महिला थप प्रताडित हुन नपर्ने गरी प्रावधानलाई सच्याइनुपर्छ ।’

सांसदले महिलाले विदेशी नागरिकसँग विवाह गरेको र पतिसमेत नेपालमै बसोबास गरेको खण्डमा त्यस्ता पुरुषलाई सहजै नागरिकता दिइनुपर्ने प्रावधानको समेत माग गर्दै आएका छन् ।


सांसद थापाले नेपाली पुरुषले बिहे गरेका विदेशी महिलाबाट राष्ट्रियतामा खतरा नपुग्ने र महिलाले बिहे गरेका पुरुषहरूबाट राष्ट्रियतामा खतरा हुने सोच त्याग्नुपर्ने उल्लेख गरिन् । सांसद राधाकुमारी ज्ञवालीले विवाहका आधारमा दिइने अंगीकृत नागरिकतामा पनि पुरुषले विदेशी महिला विवाह गरेर ल्याउँदा एउटा र महिलाले गर्दा फरक नीति राख्न नहुने बताइन् ।


सांसद लक्ष्मणलाल कर्णले वैवाहिक सम्बन्धका आधारमा अंगीकृत नागरिकता प्राप्त गरेकी विदेशी महिलाले ६ महिनाभित्र विदेशी नागरिकता परित्याग गरेको प्रमाण ल्याउन नसके उनको नागरिकता

रद्द हुने नयाँ प्रस्तावित प्रावधान हटाउनुपर्ने सुझाए ।

प्रकाशित : मंसिर १३, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?