एक वडा एक हेलिप्याड

घनश्याम खड्का

म्याग्दी — आपतकालीन खोज र उद्धारका लागि म्याग्दीमा एक वडा एक हेलिप्याड बनाइने भएको छ । अधिकांश बस्तीमा सडक सञ्जाल नपुगेको र पुगे पनि वर्षाका बेला गाडी चल्न सक्ने अवस्था नभएकाले यस्तो योजना सुरु गरिएको हो ।

जिल्लाका सबै बस्ती बाढीपहिरोको उच्च जोखिममा छन् । विपत्मा खोज, उद्धार र राहत सामग्री पुर्‍याउन कम्तीमा एक वडा एक एमआई–१७ हेलिकप्टर ल्यान्ड गर्न मिल्ने हेलिप्याड बनाउने काम सुरु गरिएको छ । योजनाको सुरुवात रघुगंगा गाउँपालिका–५ को पाखापानीबाट गरिएको छ ।


हेलिप्याड भए रूख र भीरबाट लडेका वा अन्य बिरामीलाई अस्पताल पुर्‍याउन सजिलो हुनेछ । जिल्लाका ओल्लो र पल्लो पहाडका टुप्पो तथा भीर र कन्दरामा छरिएका बस्ती धेरै छन् । हेलिप्याड बनाउन उपयुक्त जग्गा स्थानीयले व्यवस्था गर्ने, प्राविधिक सहयोग सशस्त्र प्रहरी तथा नेपाली सेनाले गर्ने र व्यवस्थापकीय सहयोग स्थानीय तह वा सम्बद्ध वडा कार्यालयबाट हुने सहमति भएको छ ।


एउटा हेलिप्याड बनाउन सदरमुकामबाट नजिक र टाढाको दूरी र भौगोलिक अवस्थाका आधारमा २५ देखि ५० हजारसम्म खर्च लाग्ने अनुमान जिल्ला प्रशासन कार्यालयले गरेको छ ।


‘विपतको उच्च जोखिममा रहेको जिल्ला भएकाले दुर्घटना र प्राकृतिक विपत्तिका बेला खोज र उद्धार सजिलो छैन, त्यसैले हेलिप्याड निर्माण योजना अघि सारिएको हो,’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘विपत् व्यवस्थापन गर्न जिल्लामा २४ सै घण्टा खुला रहने गरी आपतकालीन कार्य सञ्चालन केन्द्र पनि यही महिनादेखि सञ्चालनमा ल्याएका छौं ।’


विपत् पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभका कार्यहरू सम्पादन गर्न सबै स्थानीय सरकारले आपतकालीन कार्य सञ्चालन विधि बनाई काम गर्नुपर्ने भए पनि प्रभावकारी भएको छैन । हेलिप्याड अभियानले स्थानीय तहसम्म विपत् पूर्वतयारी गर्न मद्दत पुग्ने उनले बताए ।

प्रकाशित : मंसिर १५, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?