कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पुर्खालाई सम्झँदै हुदुरधुरा

देवनारायण साह

मोरङ — राजवंशी समुदायले शनिबार आफ्ना पुर्खालाई सम्झे । र, भने– ‘तिम्रा पुर्खाले छाडेर गएको मौलिक संस्कृति कायमै छ, तिम्रा सन्तानको अस्तित्व पृथ्वीमा अझै छ ।’

पुर्खालाई सम्झँदै हुदुरधुरा

विराटनगरमा भेला भएका झापा, मोरङ र सुनसरीका राजवंशीहरू पुर्खालाई वचन दिएजस्तै आफ्नो मौलिक र परम्परागत पहिरनमा सजिएका थिए । सडकमा लस्कर थियो– मृदंगको तालमा नाच्नेहरूको । र, यो थियो– हुदुरधुरा जात्रा ।


राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रका अध्यक्ष प्रशुराम राजवंशीले भने, ‘स्वर्गवासी पुर्खालाई सन्ततिको अस्तित्व जीवितै रहेको सन्देश पुग्नेछ भन्ने विश्वासले वर्षौंदेखि मंसिर १५ गते यो जात्रा मनाउँदै आएका छौं ।’


विगतमा आ–आफ्ना गाउँ/टोलमा जात्रा मनाउने गरिएको थियो । नौ वर्षयता भने सुनसरी, मोरङ र झापाका राजवंशी संगठित भएर मनाउन थालेका हुन् । ‘राजवंशी समुदायको संस्कृति जोगाउन यो जात्राको महत्त्व छ,’ उनले भने ।


जात्राले संस्कार र संस्कृतिलाई संरक्षण गर्दै एकबाट अर्को पुस्तामा हस्तान्तरण गरेको केन्द्रका शुभराज राजवंशीले बताए । कटहरीस्थित सरस्वती मावि कक्षा १० की सुषमा राजवंशीले पुर्खालाई खुसी राख्न मौलिक पहिरनमा जात्रामा सहभागी भएको बताइन् । ‘हामी युवाले आफ्ना जाति, संस्कार र संस्कृतिको जगेर्ना गर्नु आवश्यक छ,’ उनले भनिन् ।


सोही विद्यालयकी खुश्बु राजवंशीले भनिन्, ‘आफ्नो संस्कार र संस्कृति बुझ्न जात्राले सघाएको छ ।’ जात्राको नारा ‘हुदुरधुरा जात्रा, सामाजिक सद्भावको यात्रा’ थियो । ‘सबै आदिवासी जनजातिको संस्कार र संस्कृति जगेर्ना हुनुपर्छ भन्न यो नारा राखेका हौं,’ अध्यक्ष प्रशुरामले भने, ‘सबै आदिवासी, जनजातिको पहिचान संकटमा छ, त्यसैले आपसमा सद्भावपूर्वक जीवनयापन गर्नुपर्ने सन्देश दिन खोजेका हौं ।’

प्रकाशित : मंसिर १६, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?