१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

प्रधानमन्त्रीले उपहार दिए आफ्नै किताब

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आफ्नो पुस्तक ‘माई भिजन, प्रपरस नेपाल, ह्यापी नेपाली’ एसिया प्यासिफिक समिटमा सहभागी विशिष्ट अतिथिलाई उपहार दिएका छन् ।

प्रधानमन्त्रीले उपहार दिए आफ्नै किताब

अंग्रेजीमा प्रकाशित पुस्तकमा ओलीका पुराना र नयाँ भाषण संकलित छन् ।


प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले टवीटमार्फत ओलीको किताब म्यानमारकी नेतृ आङ सान सुकीसहित ७ विदेशी विशिष्ट पाहुनाले शनिबार सार्वजनिक गरेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हालै प्रकाशित गरेको पुस्तक ओलीले हस्ताक्षर गर्दै बाँडेका थिए । पुस्तकको लागतबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उल्लेख गर्न चाहेन ।


पहिलो प्रधानमन्त्रीकालमा समेत ओलीका ६० भाषण समेटिएको पुस्तक ‘सेलेक्टेड स्पिच अफ केपी ओली’ प्रकाशित गरिएको थियो । उनको पुस्तक चिनियाँ भाषामा समेत प्रकाशित छ । ओलीले गत वैशाखमा चीन भ्रमणका क्रममा चिनियाँ भाषामा प्रकाशित आफ्नो पुस्तक विमोचन गरेर चिनियाँ नेतालाई उपहार दिएका थिए ।


उनको ४५ वटा भाषण समेटिएको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकसमेत प्रकाशित छ । राष्ट्र प्रमुख र सरकार प्रमुखले विदेश भ्रमणका दौरान समकक्षीलाई र मुलुकमा आउने विशिष्ट पाहुनालाई आफ्नो राष्ट्र चिनाउने पुस्तक उपहार दिने परम्परा छ । राजा वीरेन्द्रले २०४४ मा चीन भ्रमणमा सत्यमोहन जोशीले लेखेको ‘कलाकार अरनिको’ पुस्तक चिनियाँ राष्ट्रपतिलाई उपहार दिएका थिए ।


सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दु धार्मिक ग्रन्थ भागवत गीता रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई उपहार दिएका थिए । प्रधानमन्त्री ओलीले शुक्रबार म्यानमारकी नेतृ सुकीलाई उनको जीवनी समेटिएको कक्षा ९ को किताब उपहार दिएका थिए । त्यही क्रममा उनले आफ्नो पुस्तकसमेत उपहार दिएका हुन् ।

प्रकाशित : मंसिर १६, २०७५ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?