कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एसिया प्यासिफिक समिट : नेकपामा तीव्र असन्तुष्टि

विगत केही दिनमा नेताहरूको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो, त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछ – घनश्याम भुसाल

काठमाडौँ — विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन) ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरूको संलग्नताप्रति सत्तारूढ नेकपाभित्र असन्तुष्टि बढेको छ । 

एसिया प्यासिफिक समिट : नेकपामा तीव्र असन्तुष्टि

विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरूले सार्वजनिक रूपमै आपत्ति जनाएका हुन् । ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन,’ नेता भीम रावलले ट्विट गर्दै भनेका छन्,’ शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नुपर्छ । नभने सरकारले खोजेर भन्नुपर्छ ।’


समिटमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आमन्त्रण समितिको संयोजक थिए भने प्रधानमन्त्री केपी ओली र सरकार सहयोगी बनेको थियो । त्यसप्रति रोष प्रकट गर्दै रावलले शीर्ष नेतृत्वलाई राष्ट्रिय हित, कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्न सुझाएका छन् ।


समिटमा नेकपाकै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ अनुपस्थित रहे । नेकपाकै नेता घनश्याम भुसालले पनि ट्विटरमार्फत भनेका छन्, ‘विगत केही दिनमा नेताहरूको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो, त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछ ।’


समिट समापन समारोहमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हान मुनले प्रधानमन्त्री ओलीलाई १ लाख डलर राशिको ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ र सम्मानपत्र प्रदान गरिन् । ओलीले पुरस्कार रकम युवा तथा बालबालिकाको क्षेत्रमा खर्चन भन्दै सरकारलाई हस्तान्तरण गर्ने बताए ।


समिट क्रिश्चियन धर्म प्रचारका लागि गरिएको भन्दै तीव्र आलोचना भएपछि चर्च प्रमुख हकले १५ सय जोडीलाई ‘ब्लेसिङ’ दिने गरी तय भएको कार्यक्रम स्थगन गरियो । प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यसहित मुलुकभरका सबै स्थानीय तहका प्रमुख/उपप्रमुखले ‘ब्लेसिङ’ लिन अस्वीकार गरेपछि आयोजकले कार्यक्रमको स्वरूप बदल्नुपरेको थियो ।


‘ब्लेसिङ’ बारे विवाद भएपछि उक्त कार्यक्रमको नाम फेरेर ‘पिस एन्ड फेमिली फेस्टिबल सेरिमोनी’ दिइएको थियो । आयोजकको पुरानो कार्यक्रम सूचीमा आइतबार अपराह्न साढे ४ बजे प्रधानमन्त्री ओलीसहित १५ सय जोडीलाई हकले ‘ब्लेसिङ’ दिने उल्लेख थियो ।


समिटले ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम रहेको र शान्ति कायम गर्न सबैले यसको अध्ययन गर्न‘पर्नेमा जोड दिएको छ । पृथ्वीको अस्तित्वमै चुनौती बनेको जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई विश्व समुदायले तत्काल प्रभावकारी सम्बोधन गर्नुपर्ने पनि घोषणापत्रमा उल्लेख छ ।


कार्यक्रममा नेपालका लागि भारतका पूर्वराजदूत केभी राजनले घोषणापत्र वाचन गरेका थिए । आमन्त्रण समिति संयोजक माधवकुमार नेपालले समिट विश्व शान्तिका लागि उपलब्धिमूलक भएको बताए । यूपीएफका अन्तर्राष्ट्रिय अध्यक्ष थोमस जी वाल्सले आफ्नो संस्थाले विश्वमा शान्ति र विकासका लागि कार्य गर्दै आएको बताए ।

प्रकाशित : मंसिर १७, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?