२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

प्राध्यापक संघ अधिवेशनमा ढिलाइ

काठमाडौँ — चौतर्फी दबाबपछि आगामी पुस ११ का लागि तोकिएको त्रिवि प्राध्यापक संघको अधिवेशन हुनेमा प्राध्यापकहरूले आशंका व्यक्त गरेका छन् ।

हरेक तीन वर्षमा गर्नुपर्ने प्रावधान रहे पनि २०६८ जेठमा चौथो राष्ट्रिय अधिवेशन भएयता अर्को अधिवेशन हुन सकेको छैन । आठ वर्षसम्म संघ चलायमान हुन नसक्दा त्रिवि सिनेटमा प्राध्यापकहरूको आधिकारिक प्रतिनिधित्व हुन सकेको छैन ।


‘तीन वर्षअघि संघको अवधि सकिनेबित्तिकै हामीले सम्मेलन गर्न ध्यानाकर्षण गरायौं र सद्भावपूर्ण ढंगले तयारी पनि भयो,’ तत्कालीन एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष यादव लामिछाने भन्छन्, ‘सबै क्याम्पसबाट प्रतिनिधि चयन भई प्रतिनिधि रकमसमेत बुझाइसकेपछि अन्तिम घडीमा स्थगित गरियो ।’


अध्यक्ष लामिछानेले संघको सम्मेलन हुन नसक्दा ६–६ महिनामा हुने त्रिवि सभामा प्राध्यापकहरूको प्रतिनिधित्व हुन नसकेको र हकहितबारे त्रिवि पदाधिकारीले आफूअनुकूल निर्णय गरेको बताए । ‘आगामी पुसमा सम्मेलन डाकिएको छ तर फेरि पनि विश्वास गरिसक्ने वातावरण बनेको छैन,’ उनले भने । प्राध्यापक संघको नेतृत्वमा अहिलेसम्म ६० प्रतिशत प्रजातान्त्रिक विचारधाराका र ४० प्रतिशत प्रगतिशील विचारधाराका शिक्षकको प्रतिनिधित्व रहने गरेको छ ।


तत्कालीन माओवादी केन्द्रनिकट राष्ट्रिय प्राध्यापक संघका महासचिव पूर्ण लामिछानेले संघको अधिवेशन तोकिएको मितिमा हुनुपर्ने बताए । ‘संघको अधिवेशनलाई लक्षित गरी मंसिर २५ भित्र सबै क्याम्पसमा प्रतिनिधि चयन गर्न/गराउन निर्देशन जारी गरिएको छ, अधिवेशन जसरी पनि हुनुपर्ने हाम्रो अडान छ ।’ कांग्रेसनिकट प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिम्सिना व्यक्तिगत र राजनीतिक स्वार्थका कारण त्रिवि प्राध्यापक संघ गुज्रिएको बताउँछन् ।


‘वैचारिक प्राध्यापक संघ/संगठनको द्वन्द्व, आन्तरिक स्वार्थले गर्दा त्रिवि प्राध्यापक संघ अघि बढेन,’ तीनवटा नेतृत्व बदलिइसक्नुपर्ने तर हुन नसकेको उल्लेख गर्दै अध्यक्ष तिम्सिनाले भने, ‘अबचाहिँ निकास दिन जरुरी छ ।’ संघको नेतृत्वमा त्रिवि करार सेवामा कार्यरत शिक्षकसमेत छन् ।


संघ विश्वविद्यालयमा कार्यरत शिक्षकको हकहित उठान गर्ने आधिकारिक संस्था हो । त्रिवि नियमावलीअनुसार ६० आंगिक क्याम्पसबाट संघको प्रतिनिधि चयन गरिन्छ । २०६८ को अधिवेशनबाट नेतृत्वमा आएका अध्यक्ष योगेन्द्रनारायण बडबरियाले आफ्नो कार्यकाल बढाएर राजनीतिक गतिविधिमा लागेपछि तीव्र विवादसमेत उब्जिएको छ ।


बडबरिया सिरहाको सूर्यनारायण सत्यनारायण मरवैता क्याम्पस दरबन्दी रहेका सहप्राध्यापक हुन् । उनी कांग्रेसनिकट प्रजातान्त्रिक प्राध्यापक संघका तर्फबाट तीन वर्षका निम्ति संघको नेतृत्वमा आएका हुन् ।

प्रकाशित : मंसिर १७, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?