कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगामी शैक्षिक सत्रदेखि प्रदेश ५ का सबै विद्यालयमा एउटै पाठ्यक्रम र पोशाक

अमृता अनमोल

बुटवल — प्रदेश सरकारले यहाँका सबै विद्यालयमा एकै किसिमको पाठ्यक्रम र पोसाक लागू गर्ने तयारी गरेको छ । निजी र सामुदायिक विद्यालयबीचको अन्तर घटाउन, एकरूपता ल्याउन एवं एकै खालको शिक्षा प्रदान गर्न भन्दै विद्यालयमा एउटै पाठ्यक्रम र पोसाकको तयारी गरेको हो ।

आगामी शैक्षिक सत्रदेखि प्रदेश ५ का सबै विद्यालयमा एउटै पाठ्यक्रम र पोशाक

सामाजिक विकास मन्त्री सुदर्शन बरालले निजी विद्यालयले आफूखुसी राख्ने पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई नियन्त्रण गर्न पनि यस्तो अवधारणा ल्याइएको बताए । मन्त्रालयले विद्यालयको पाठ्यक्रम मात्र नभई पाठ्यपुस्तकसमेत एउटै बनाउने योजना बनाएको छ । ‘एकै किसिमको शिक्षाले अभिभावकको निजीतर्फको बढ्दो आकर्षण र सामुदायिक विद्यालयप्रतिको विकर्षण घट्नेछ,’ मन्त्री बरालले भने, ‘सँगसँगै शिक्षामा व्यापारीकरण पनि कम हुनेछ ।’ पाठ्यपुस्तकमा अध्यापनको भाषा भने विद्यालयले नै निर्धारण गर्ने उनले बताए ।


अहिले मावि तहको शिक्षाको व्यवस्थापन, गुणस्तर मापन र पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण र लागू गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ । यो अधिकार उपयोग गर्दै सामाजिक विकास मन्त्रालयको शिक्षा निर्देशनालयले प्रारम्भिक काम थालेको छ । स्थानीय तह, विद्यालयका प्रधानाध्यापक र अभिभावकसितको छलफलपछि निर्देशनालयले पाठ्यक्रम बनाउन विज्ञ समूह बनाउनेछ । उक्त समूहको सुझावमा पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गरेर लागू गर्ने योजना मन्त्रालयको छ ।


मन्त्री बरालले विद्यालयपिच्छे फरक–फरक पोसाक हुँदा कतिपय विद्यालयले तिनै पोसाकबाट पनि चर्को कमिसन खाएको गुनासो आएकाले आगामी शैक्षिक सत्रदेखि एउटै पोसाक बनाउने तयारी गरेको बताए । ‘यसले अभिभावकलाई विद्यालय फेर्नासाथ नयाँ पोसाक किनिदिनुपर्ने झन्झट हट्नेछ,’ उनले भने, ‘पोसाक एउटै बनाउँदा कमिसनको चक्करसमेत हटनेछ ।’


अहिले कतिपय निजी विद्यालयले पटक–पटक पोसाक फेर्ने गरेका छन् । कतिपय विद्यालयले विद्यालय परिसरमै कपडा पसल र सिलाउने ठाउँ राख्ने वा तोक्ने गरेका छन् । विद्यालयले कमिसनका लागि गर्ने यस्ता काम रोक्न पनि एउटै पोसाकको अवधारणा ल्याइएको मन्त्री बरालले बताए ।


प्रदेश सरकारले अघि सारेको विद्यालयमा एउटै पाठ्यक्रम र पोसाकको योजनालाई आगामी वर्षदेखि नै कार्यान्वयनमा ल्याउन अभिभावकसम्बद्ध संघसंस्थाले आग्रह गरेका छन् । यसले कमिसनको लोभमा निजी विद्यालयले बर्सेनि पाठ्यपुस्तक फेर्ने र अभिभावकलाई मर्कामा पार्ने समस्या रोकिने उनीहरूको भनाइ छ । विद्यार्थीलाई एकै खालको शिक्षा दिन, धनी र गरिब तथा निजी र सामुदायिक विद्यालयबीचको खाडल पुर्न यसले सहयोग पुग्ने अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले बताए ।


‘सामुदायिक विद्यालयमा पछिल्लो समय लगाउन थालिएको टाई–बेल्टले मात्रै पनि धेरै सामुदायिकका विद्यार्थी उत्साहित भएका छन्,’ उनले भने, ‘एउटै पाठ्यक्रम र पोसाकले विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन तथा एकै खालका विद्यार्थी उत्पादन गर्न सहयोग पुग्नेछ ।’


प्रकाशित : मंसिर १७, २०७५ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?