राजपा नेता कर्णको चेतावनी, 'चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं'
काठमाडौँ — राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । ‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन' उनले भने, 'हाम्रो पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ ।’
रिपोर्टर्स क्लबले मंगलबार गरेको साक्षात्कारमा नेता कर्णले संविधान संशोधन र आन्दोलनका बेला नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउन सरकारलाई समर्थन दिएको भए पनि अहिलेसम्म सरकारले कुनै छलफल नगरेकोले समर्थन कायम राख्नुपर्ने औचित्य सकिएको बताए । उनले सरकारमा जान वर्तमान सरकारलाई समर्थन नगरेको पनि स्पष्ट पारे ।
केपी ओली नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको पनि आरोप लगाए । ‘स्थानीय सरकारमा अहिले विकास रकम चरम दुरुपयोग भएको छ । यो सरकारले राम्रो काम केही पनि गर्न सकेको छैन’ उनले भने । सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको उनको आरोप थियो । उनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण, साढे ३३ केजी सुन तस्करी प्रकरणलगायतले सरकार असफल देखिएको बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मिन विश्वकर्माले एशिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको ईतिहासमा सबैभन्दा ठूलो दुर्घटना भएको टिप्पणी गरे । अस्वस्थ भएर कार्यकर्तासमेत नभेटेका प्रधानमन्त्री ओलीले कुनै एक धर्मविशेषलाई प्रचार गर्न यत्रो ठूलो सक्रियता देखाएको भन्दै उनले आक्रोश पोखे । उनले भने,‘हाम्रो देशका स्वयम् प्रधानमन्त्रीले संविधानको सीमा नाघ्नुभयो र १२ हात उफ्रिएर संसारकै राष्ट्रपति हुन्छुजस्तो गरेर यसरी यो कार्यक्रममा लाग्नुभयो ।’ उनले सार्वभौम संसदमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले आफ्नो प्रत्यक्ष सहमति, संलग्नता तथा परोक्ष संरक्षणमा क्रिश्चियन धर्मविशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक रहेको टिप्पणी गरे ।