३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कांग्रेसद्वारा अष्ट्रेलियास्थित राजदूत शेर्पामाथि छानबिन गर्न माग

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न माग राखेको छ । बुधबार प्रेस नोट निकाल्दै प्रमुख प्रतिपक्षी कांग्र‍ेसले शेर्पामाथि 'मानव तस्करीमा संलग्न' भनी लागेको आरोपको सरकारले गम्भीर रुपमा लिनुपर्ने भन्दै छानविन माग गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस नोटमा लेखिएको छ, 'कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी भएकाले राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौँ ।'


कांग्रेसले छानबिनका क्रममा दोषी ठहरिएमा तत्काल बर्खास्त गर्ने कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

यसअघि एक टेलिभिजन कार्यक्रममा राजदूत शर्पाका पूर्व चालक ओङ्छु शेर्पाले मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए । तर, अष्ट्रेलियास्थित दूतावासले भने यसको खण्डन गरेको छ ।

राजदूतवासले यसअघि जारी गरेको विज्ञप्तिमा राजदूतमाथि लगाइएका आरोप झूठा रहेको जनाउँदै ध्यानाकर्षण भएको जनाएको थियो । दूतावासको विज्ञप्तिमा ओङ्छु शेर्पाले २०१७ नोभेम्बर २१ का दिन राजदूत निवासमा कोही नभएको मौका छोपी बहुमुल्य सामान चोरी गरी फरार भएपछि सो जानकारी परराष्ट्र मन्त्रालय, अस्ट्रेलियाको परराष्ट्र मन्त्रालयलगायत अन्य सम्बन्धित निकायमा गराइसकेको उल्लेख गरेको छ ।

साथै बिज्ञप्तिमा नेपाल र सिंगापुरमा रहेका नेपालीहरुलाई ठगी गरेको लिखित उजूरी दूतावासमा आएपछि कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको भनिएको छ । उनीविरुद्ध दायर गरिएको मुद्दा अदालतमा विचारधीन छ ।


दूतवासले ओङ्छु अस्ट्रेलियामा लुकिछिपी बसेर अदालतलाई प्रभावित पार्न र व्यक्तिगत छवि धमिल्याउने उद्देश्यले राजदूत शेर्पामाथि झूठा आरोप लगाएको भन्दै विश्वास नगर्न अनुरोध समेत गरेको छ ।

प्रकाशित : मंसिर १९, २०७५ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?