१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बालयौन दुराचार गर्ने डच नागरिकलाई सात वर्ष कैद

जनकराज सापकोटा

काठमाडौँ — बालयौन दुराचार अभियोगमा एक डच नागरिकलाई नेपालको अदालतले ७ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । ठमेलको एक होटलबाट असार पहिलो साता बालकसहित पक्राउ परेका पिट हयान भान तेरविस्गालाई जिल्ला अदालत काठमाडौंले सजाय दिएको हो ।

बालयौन दुराचार गर्ने डच नागरिकलाई सात वर्ष कैद

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पढाइमा सहयोग गर्ने बहानामा पिटले करिब तीन वर्षसम्म ती बालकमाथि यौन दुराचार गरेका थिए ।


ब्युरोले सरकारी वकिलको कार्यालयमार्फत असार २५ गते पिटविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । पक्राउलगत्तै नेदरल्यान्डमा रहेकी पिटकी दिदीले पीडित परिवारलाई मुद्दा फिर्ता लिन भन्दै आर्थिक प्रलोभन देखाएकी थिइन् । स्रोतका अनुसार मुद्दा प्रभावित पार्न खोजेको आरोपमा पिटकी दिदीलाई ब्युरोको आग्रहमा डच प्रहरीले पक्राउ गरेको थियो । डच प्रहरीले पिटको घरमा छापासमेत मारेको थियो । उनको घरमा भेटिएका ल्यापटप र हार्ड डिस्कमा बच्चाहरूको अश्लील तस्बिर र भिडियो भेटिएका थिए । डच प्रहरीले पिटमाथि गरेको अनुसन्धानको फाइल र घरमा भेटिएका सामग्री नेपालमै आएर ब्युरोलाई उपलब्ध गराएको थियो । ती दृश्य सामग्री र अनुसन्धान प्रतिवेदन पनि मुद्दा सुनवाइका क्रममा ब्युरोले सहायक प्रमाणका रूपमा अदालतमा पेस गरेको थियो ।


‘अदालतको फैसलाले बालयौन दुराचारी नेपाल प्रहरीको निगरानीमा छन र उनीहरू सजायको भागिदार बन्छन् भन्ने सन्देश दिएको छ,’ ब्युरोका डीएसपी कोविद कटुवालले भने । पिटका तर्फबाट मुद्दा लडेका अधिवक्ता नानीबाबु खत्रीले फैसलाविरुद्ध उच्च अदालत जाने बताए ।


न्यायाधीश भरत लम्सालको एकल इजलासले पिटविरुद्ध प्रहरीले उपलब्ध गराएको प्रमाणका आधारमा उनलाई दोषी ठहर गरेको हो । मनोचिकित्सकसमेत रहेका पिट पछिल्ला पाँच वर्षयता पर्यटकका रूपमा निरन्तर नेपाल आउने/जान गरिरहेका थिए । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार आर्थिक सहयोग गर्ने नाममा गरिब र विपन्न परिवारका बालबालिकासँग सम्बन्ध बनाउने पिट त्यसै आधारमा उनीहरूमाथि यौनजन्य शोषण गर्दै आइरहेका थिए ।


बालयौन दुराचार आरोपमै पक्राउ परेका दुई फ्रेन्च नागरिक ४२ वर्षीय क्रिस्टोफी ग्युलोक्स र ३८ वर्षीय डेनिस म्याथु मिचेर चाउपको मुद्दा पनि काठमाडौं जिल्ला अदालतमै विचाराधीन छ । ब्युरोका अनुसार उनीहरूले आफ्नो कोठामा १० देखि १४ वर्ष उमेर समूहका बालकलाई बोलाउने र उनीहरूसँग यौन गतिविधि गर्दै आएका थिए । फुटबल, चकलेट, फुटबल ड्रेस र पैसा दिएर फकाउने गरेका थिए । फ्रान्स भाग्न आँटेका उनीहरू विमानस्थलबाट पक्राउ परेका थिए ।


प्रकाशित : मंसिर १९, २०७५ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?